
गण्डकी, १० कात्तिकः गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेका छन् ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष दुई हजार ४१६ पर्यटक बढी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो । गत वर्ष असोजमा ३० हजार ५४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
चालु आवमा सबैभन्दा बढी पर्यटक असोजमा भित्रिएका हुन् । भदौमा १७ हजार ९१३ र साउनमा २६ हजार ५९१ पर्यटक आएका थिए । असोज, कात्तिक मुख्य पर्यटकीय याम भएकाले योबेला पर्यटक आगमन बढ्ने गरेको आयोजना प्रमुख डा कडरियाको भनाइ छ ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् । शरद याम पदयात्राका लागि उत्तम मानिने हुँदा यसक्षेत्र पदयात्रा रूचाउने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
यो याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ ।
आयोजना प्रमुख डा कडरियाका अनुसार अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले यस क्षेत्रलाई पर्यटकले रूचाउने गरेका हुन् ।
कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |