
रूपन्देही, १० कात्तिकः पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिने ऐतिहासिक सराय नाच बुटवलमा प्रदर्शन गरिएको छ ।
अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँसराइ गरी बुटवलमा बसोबास गर्दै आएका स्थानीयले गाउँघरको सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले आज बुटवल उपमहानगरपालिका–देवीनगरस्थित वाणिज्य क्याम्पस परिसरमा बृहत् सराय नाच प्रदर्शन गरेका हुन् ।
‘बुझौँ हामीले रीतिथिति, जोगाऔँ हाम्रो संस्कृति’ भन्ने मूल नारासहित श्री नवदुर्गा मन्दिर पूजा समितिले कार्यक्रम आयोजना गरेको हो ।
समितिका संरक्षक तथा संयोजक अर्जुन कुँवरले विगत १७ वर्षदेखि निरन्तर सराय नाच प्रदर्शन हुँदै आएको बताउनुभयो । आधुनिकतासँगै मौलिक संस्कृति लोप हुने जोखिम बढेकाले नयाँ पुस्तालाई परम्परा र संस्कृतिबारे परिचित गराउन नाचलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पहाडी जिल्लामा नाचिने सरायलाई देवी भगवतीको विजय उत्सवका रूपमा लिने परम्परा छ । नाचका क्रममा पञ्चेबाजाको तालमा सहभागी गोलाकार रूपमा घुम्दै हातमा हतियार लिएर नाच्ने गर्छन् । एकअर्काका हतियार जुधाएर लयात्मक आवाज निकाल्दै नाचिने यस नाचले धार्मिक आस्था र सामूहिक उत्सवलाई प्रतिबिम्वित गर्छ ।
समितिका अध्यक्ष कुलबहादुर केसीले दुर्घटनाको जोखिम कम गर्न नाचमा काठका हतियार प्रयोग गरिएको बताउनुभयो ।
गाउँघरको परम्परा जोगाउन तथा युवा पुस्तामा सांस्कृतिक चेतना बढाउन बुटवलमा कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । देवीनगरस्थित मन्दिर परिसरमा हरेक वर्ष आयोजना गरिने कार्यक्रममा विभिन्न सङ्घसंस्थाको सहभागिता थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |