
काभ्रेपलाञ्चोक, ८ कात्तिकः बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशका सडक–मानव व्यवस्थापन तथा आवश्यक पूर्वाधार एवं स्थायित्वका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको बताउनुभएको छ ।
उहाँले आज दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाका अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ ढलमलेस्थित बालसेवा घरमा रहेका बालबालिकाका लागि आयोजित टीका–कार्यक्रमलाई सम्बोध गर्दै प्रदेश सडक मानवमुक्त घोषणासँगै चालु आवमा थप योजना निर्माणसहित बजेट व्यवस्थापन गरिएको बताउनुभएको हो ।
मुख्यमन्त्री थापाले बालबालिकाको संरक्षण तथा मानव सेवाका लागि हरेक वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै चालु आवमा व्यवस्थित रु पाँच करोड बजेटबाट बालबालिकाका साथै सडक मानवका लागि आवश्यक पूर्वाधार, जनशक्ति र बाढीपहिरो पीडित क्षेत्रका बालबालिकाको व्यवस्थापनमा खर्च गरिने बताउनुभयो । थापाले सो अवसरमा घरमा आश्रित ३८ बालबालिकालाई टीका लगाइदिनुभएको थियो ।
मुख्यमन्त्री थापाले भोटेकोशी बाढीपछि महाविपत्तिमा रहेका रसुवा, धादिङ, नुवाकोट र चितवनका १५ स्थानीय तहमा अलपत्र अवस्थाका अभिभावकविहीन बालबालिका तथा आश्रय नभएका नागरिकका लागि पुनःस्थापनार्थ घरटहरा निर्माण, पुल, सडक, खानेपानी तथा शिक्षार्थ विद्यालय, स्वास्थ्य भवन–सेवाको व्यवस्थापन बागमती प्रदेश सरकारले गरिरहेको बताउनुभयो । “बालबालिकाको शिक्षाका लागि प्रदेश सरकारले सबै खर्च व्यहोर्ने गरी दक्षिणकालीमा आवाशीय विद्यालयसमेत व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो ।
साथै मृत्यु भएका नागरिकका परिवारका सदस्यलाई तत्काल किरिया खर्चका लागि रु २५ हजार र मृत्युपछिको राहत रु एक लाख उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री थापाले स्थानीय तहमा तत्कालको राहत, पुनःस्थापना र पुनर्बासका लागि आवश्यक रकम विनियोजन गरेकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार हरेक विपत्तिमा नागरिकको अभिभावक बनिरहेकै छ, धर्म कमाउन मन्दिर जानुभन्दा सडकमा अलपत्र परेका मानवको सेवामा समर्पित हुनु नै महत्वपूर्ण सेवा–धर्म हुन्छ ।” प्रदेश सरकारले युवा, कृषि, व्यावसायिकता तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उहाँको तर्क थियो ।
सो अवसरमा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, वडा नं ५ का अध्यक्ष विनोद खत्री, नेपाली कांग्रेस पनौती नगर सभापति रुपक महतलगायतले मानव कल्याण समाजले नेपालका विभिन्न जिल्लामा रहेर सडक मानवका क्षेत्रमा पुर्याएको सहयोगका बारेमा चर्चा गर्नुभएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |