
पाल्पा, ९ कात्तिक : बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ को माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटरमा सवार गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक निवासी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार आज साँझ गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ निवासी ३६ वर्षीया केशरी कुँवर र पछाडी सवार माया कुँवर घाइते भएका थिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो । उपचारका क्रममा मायाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । स्कुटर चालक केशरी कुँवरको अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |