
म्याग्दी, ९ मङ्सिरः कालीगण्डकी नदी जलाधार क्षेत्रका विभिन्न जिल्लामा नदी नियन्त्रण, बस्ती संरक्षण तथा सिँचाइ आयोजना सञ्चालन गर्ने उद्देश्यले म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना गरिएको छ ।
बेनीको शिक्षामार्गमा सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यालय स्थापना गरिएको हो । कार्यालयमार्फत कालीगण्डकी नदी आसपासका क्षेत्रमा बस्ती संरक्षण, नदी नियन्त्रण तथा सिँचाइ योजना निर्माण र मर्मतसम्भारका आयोजना सञ्चालन गरिने इन्जिनियर नरजङ्ग गुरुङले जानकारी दिनुभयो ।
कार्यालयको कार्यक्षेत्रमा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका साथै कालीगण्डकी नदीले छोएका गुल्मी, स्याङ्जा, तनहुँ, कास्कीको मादीखोला र नवलपुरका केही क्षेत्र रहेका छन् ।
एक जना वरिष्ठ डिभिजनल इन्जिनियरको नेतृत्वमा तीन जना इन्जिनियर, तीन जना सबइन्जिनियर तथा एक–एक जना लेखा अधिकृत, नायब सुब्बा, कार्यालय सहयोगी र सवारी चालकको दरबन्दी रहेको छ ।
यसअघि धौलागिरि क्षेत्रमा नदी नियन्त्रण र बस्ती संरक्षणसम्बन्धी आयोजना पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयमार्फत कार्यान्वयन हुँदै आएका थिए । उक्त कार्यालयबाट सञ्चालन हुँदै आएका बेनी बजार संरक्षणलगायत थप आयोजना तथा कार्यक्रमसमेत अब बेनीस्थित नयाँ कार्यालयमार्फत सञ्चालन हुनेछन् ।
विभाग र मन्त्रालयबाट कार्यक्रम तथा बजेट हस्तान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजना प्रमुख प्रेमहरी पराजुलीले बताउनुभयो । बेनीको शिक्षामार्गमा भाडाको घरमा कार्यालय स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
म्याग्दीमै कार्यालय स्थापना भएपछि नदी नियन्त्रण तथा बस्ती संरक्षणसम्बन्धी आयोजना छनोट, कार्यान्वयन र मर्मतसम्भारका योजना व्यवस्थित गर्न सहज हुने जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले बताउनुभयो ।
यसअघि बेनीमा गत कात्तिक महिनामा सङ्घीय सरकारको पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको थियो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पनि पुनःस्थापना गर्ने पहल भइरहेको जिल्ला समन्वय समितिका प्रमुख खत्रीले जानकारी दिनुभयो । विसं २०८२ मा उक्त कार्यालय पोखरामा गाभिएपछि बेनीमा इकाइ मात्र राखिएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |