
कास्की, २२ कात्तिकः पोखरामा सबैभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गर्दै आउनुभएका किसान नरेन्द्रप्रसाद अधिकारी आज सम्मानित हुनुभएको छ ।
पोखरा रङ्गशालामा जारी पुष्प व्यापार मेलाअन्तर्गत आइतबार आयोजित तेस्रो सयपत्री फूल मेलामा अधिकारीलाई पोखरा महानगरपालिकाले नगद रु १० हजार र सम्मानपत्रसहित सम्मान गरेको हो । अधिकारीले करिव १० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गर्दै आउनुभएको छ । उहाँ पोखरा–१३ निवासी हुनहुन्छ ।
उहाँलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ र आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले सम्मान गर्नुभएको थियो ।
यस्तै, करिब तीन रोपनीमा फूलखेती गर्दै आउनुभएका किसान सोवितबहादुर अधिकारी दोस्रो र नन्दकली घर्ती मगर तेस्रो हुनुभएको छ । दोस्रो हुनेले रु सात हजार र तेस्रो हुनेले रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।
मेलामा फूल उत्पादन गर्ने किसानलाई सम्मान गर्नुका साथै माला बुन्ने प्रतियोगिता र उत्कृष्ट फूल स्टल प्रदर्शनी गरिएको थियो दुवै विधामा रमेशकुमार श्रेष्ठ उत्कृष्ट हुनुभयो । उहाँको स्टलमा नयाँ जातको ‘टेनिस बल’ नामक सयपत्री फूलसमेत राखिएको थियो ।
किसानको मिहिनेत र लगनशीलतालाई प्रोत्साहन गर्दै पुष्पखेती विस्तार र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको महानगरपालिकाका उपप्रमुख गुरुङले बताउनुभयो ।
यस वर्ष तिहारका लागि स्थानीयस्तरमै उत्पादन भएका सयपत्री फूलको बिक्री राम्रो भइरहेको महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताउनुभयो । उहाँका अनुसार आइतबार बिहानदेखि साँझसम्मै फूल खरिद गर्ने उपभोक्ताको भीड लागेको थियो ।
महानगरपालिकाले कात्तिक २२ गतेदेखि लागू हुनेगरी सयपत्री फूलको मूल्य प्रतिकेजी रु ५०० र प्रतिमाला रु २०० निर्धारण गरेको छ । मेलामा पनि सोही मूल्यमा फूलको कारोबार भएको कडरियाले जानकारी दिनुभयो ।
स्थानीय किसानले उत्पादन गरेका फूललाई बजारसम्म पुर्याउन महानगरपालिकाले तिहारलाई लक्षित गरी १७ वटा बिक्री केन्द्र तोकेको छ । यसबाट किसानलाई फूल बिक्री गर्न र उपभोक्तालाई सहज रूपमा फूल खरिद गर्न सहयोग पुग्ने महानगरको अपेक्षा छ । त्यस्तै, स्थानीय उत्पादनको प्रवर्द्धन र वातावरण संरक्षणका लागि महानगरले प्लास्टिकजन्य फूलमाला तथा फूलगुच्छाको बिक्री, वितरण, भण्डारण र प्रयोग नगर्न आग्रह गर्दै बजार अनुगमनसमेत गरिरहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |