
घोराही (दाङ), २२ कात्तिकः दाङमा फूलखेती गरेका किसानलाई यतिबेला फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।
घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित डिभाइन एग्रो फार्मले सयपत्री फूल टिपेर माला गाँस्न सुरु गरेको छ । कैलालीका दशरथ साउदले सञ्चालन गरेको उक्त फार्मले विगत आठ वर्षदेखि घोराहीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएको छ । यस वर्ष घोराहीको गैरागाउँमा एक बिघा भाडाको जग्गामा पाँच प्रजातिका सयपत्री फूल खेती गरिएको छ । यसैगरी घोराहीको झिङ्नीमा दुई बिघा क्षेत्रफलमा समेत फूल खेती गरिएको सञ्चालक साउदले बताउनुभयो ।
फार्मले सयपत्री फूल प्रतिकिलो रु पाँच सयका दरले बिक्री गरिरहेको छ भने एउटा माला रु एक सयदेखी रु एक सय ५० का दरले बिक्री गर्दै आएको उहाँको भनाइ छ । उत्पादन पर्याप्त भएकाले बुटवल, काठमाडौँ, भैरहवा, पोखरालगायतका सहरमा फूल बिक्रीका लागि पठाउने गरिएको साउदले बताउनुभयो । बाँकी जिल्लाभित्रै बिक्रीका लागि माला गाँस्न थालेको उहाँले बताउनुभयो ।
घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गर्दैआउनुभएका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थाल्नुभएको छ । जिल्लामा मात्र नभई जिल्ला बाहिरबाट समेत फूलको माग आउने गरेको घोराही उपमहानगरपालिका–१४, झिगौरामा जलजला पुष्पखेती फार्मका सञ्चालक रोका मगरले बताउनुभयो । बाहिर माग भए पनि पहिलो प्राथमिकता जिल्लामा नै दिने गरिएको उहाँले बताउनुभयो ।
“पहिले जिल्लालाई प्राथमिकता दिने गरेका छु”, रोका मगरले भन्नुभयो । उहाँले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बतउनुभयो । झिगौँरासँगै घोराही–५ धर्ना र घोराही–१६ तेरौटेमा पनि उहाँले फूलखेती गर्नुभएको छ । उहाँले लामो समयदेखि फूलखेती गर्दै आउनुभएको छ ।
रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोका मगरले जिल्लामा दशैँ तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थाल्नुभएको हो ।
“दाङमा व्यावसायिकरूपमा फूलखेती कतै थिएन, काठमाडौँतिर फूलखेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले सुरु गरेको हुँ”, रोका मगरले भन्नुभयो । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो ।
जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको छ । “काठमाडौंँबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, रोका मगरले भन्नुभयो । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्नुभएका उहाँले बाह्रैमास फूल उत्पादन थाल्नुभएको छ ।
वर्षाको समय र बढी चिसो समयमा भने केही समस्या हुने गरेको रोका मगरले भनाइ छ । उहाँले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्री समेत गर्दै आउनुभएको छ । उहाँले आफूसँगै परिवार तथा अन्य दुई जनालाई समेत रोजगारी प्रदान गर्नुभएको छ ।
फूलको माग दशैँ तिहारमा बढी हुने गरेको छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको रोका मगरको भनाइ छ । जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत उहाँको आग्रह छ ।
घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा फूलखेती गर्नुभएका इन्द्रा बुढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गर्नुभएको छ । उनीहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि माला बिक्रीको तयारी सुरु गरिरहेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उहाँहरूको भनाइ छ । माला बनाएर शीतभण्डारमा राख्ने गरिएको छ ।
बुढा मगरले विगत आठ वर्षदेखि व्यावसायिकरूपमा फूल खेती गर्दै आउनुभएको छ । उहाँले पनि अहिले फूले टिपेर माला बनाउन थाल्नुभएको छ । तिहारका लागि मालाको माग समेत हुन थालेको उहाँको भनाइ छ ।
“माग हुन थालेसँगै फूल टिपेर माला बनाउन सुरु गरेका छौँ”, बुढा मगरले भन्नुभयोे । उहाँका अनुसार उत्पादन भएको फूलको धेरै खपत जिल्लामा नै हुने गरेको छ । मालाका डिजाइनअनुसार मूल्य निर्धारण गरिन्छ । जिल्लामै व्यावसायिकरूपमा फूल खेती गर्न थालिएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको बुढा मगरले बताउनुभयो ।
बुढा मगरले अहिले आठ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री फूलको खेती गर्नुभएको छ । चाडपर्वसँगै पछिल्लो समय जिल्लामा हुने औपचारिक कार्यक्रममा समेत सयपत्रीको फूलको मालाको माग बढ्दै गएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |