
काठमाडौँ, २० कात्तिकः जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।
ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो ।
उहाँले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिरहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि नियन्त्रण गर्न घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताउनुभयो । ठमेलका समस्या समाधानका लागि जिल्ला प्रशासनमा मासिक बैठक गर्ने प्रस्ताव पनि उहाँले राख्नुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, फोहोर, ट्राफिक जाम र मगन्तेलगायत समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य भइरहेको बताउनुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन स्थानीय र व्यवसायी तयार भए ट्राफिक प्रहरीले सहयोग गर्ने बताउनुभयो । जथाभावी पार्किङ गर्नेलाई कारबाही गरिने उहाँले उल्लेख गर्नुभयो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले ठमेललाई सुरक्षित बनाउन घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताउनुभयो ।
परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले विसं २०८१ वैशाख १ गतेदेखि लागू गरिएको ठमेललाई २४ घण्टा सञ्चालन गर्ने आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा घरधनी तथा व्यवसायीले राति आवतजावतमा कठिनाइ, लागुऔषध कारोबार तथा सेवन, फोहोर, अव्यवस्थित पार्किङ र ढलका कारण सातघुम्तीमा पानी जम्ने समस्याबारे ध्यानाकर्षण गराएका थिए ।
परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको पर्यटन विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । विसं २०४८ मा स्थापना भएको परिषद्ले ठमेलको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको महासचिव पशुपति कँडेलले जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |