
काठमाडौँ, २० कात्तिक: काठमाडौँको बूढानीलकण्ठमा दुईदिने ‘कृषक सम्मेलन तथा कृषि पशु उत्पादन प्रदर्शनी मेला’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको प्रवर्द्धन, बजारीकरण र उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आजदेखि दुईदिने कृषक सम्मेलन तथा कृषि तथा पशु उत्पादन प्रदर्शनी मेला सुरु भएको हो ।
मेलाको आज बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले चाडपर्वलाई लक्षित गरी बूढानीलकण्ठ नगरपालिकाभित्रका कृषकबाट उत्पादित वस्तुलाई प्रदर्शनी गर्नुका साथै कृषक सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।
नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र उत्पादित स्थानीय तथा रैथाने कृषि र पशुजन्य उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले कृषक सम्मेलन तथा प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । मेलामा स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका फूल, फलफूल, तरकारी, दुग्धजन्य पदार्थलगायत विभिन्न कृषि तथा पशुजन्य सामग्रीको प्रदर्शनी तथा बिक्री गरिएको छ ।
बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले बूढानीलकण्ठ नगरपालिकाले लघु तथा साना कृषक उद्यमीको पक्षमा काम गरिरहेको बताउनुभयो । उहाँले कृषकलाई अनुदान प्रदान गर्नेदेखि स्वस्थ्य कृषक कार्यक्रमसमेत नगरपालिकाले अगाडि सारेको उल्लेख गर्नुभयो ।
उहाँले किसानबाट उत्पादित रैथाने खानाको प्रवर्द्धनमा नगरपालिकाको सहयोग रहने बताउनुभयो । मेलामार्फत स्थानीय उत्पादनको अवलोकन तथा खरिद गरी स्थानीय कृषक र उत्पादकलाई प्रोत्साहन गर्न नगरपालिकाले नगरवासी तथा सम्पूर्ण उपभोक्तालाई आग्रह गरेको छ । मेला शनिबारसम्म सञ्चालन हुनेछ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |