
कर्णाली, २० कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशका खराब सूचक सुधारमा ध्यान दिन सुझाव दिनुभएको छ । सङ्घीय सरकारका महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र मुख्यमन्त्री शाहीबीच आज मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्ताका क्रममा उहाँले प्रदेशका समग्र खराब सूचकहरूमा सुधार ल्याउन सङ्घीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “कर्णालीमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता गम्भीर खराब सूचाङ्कहरूलाई सुधार गर्न सङ्घीय सरकारले नियमितभन्दा पनि विशेष प्रकृतिका कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुपर्छ ।” सङ्घीय सरकारका मन्त्री स्वयं कर्णाली प्रदेशकै प्रतिनिधित्व गर्नुहुने र यहाँको वास्तविकताबारे अवगत भएकाले यस विषयमा विशेष चासो मुख्यमन्त्री शाहीले आग्रह गर्नुभयो ।
त्यसैगरी, हालैका वर्षहरूमा ठूलो चुनौतीका रुपमा देखापरेको किशोर-किशोरीहरूको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री शाहीले यस क्षेत्रमा ठोस पहल गर्न मन्त्री बादीको ध्यानाकर्षण गराउनुभयो । भेटघाटमा मन्त्री बादीले कर्णालीको समग्र सुधारका लागि प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताउनुभयो । उहाँले हाल कर्णालीमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेकोसमेत जानकारी गराउनुभयो ।
सोही भेटघाटमा प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले यहाँको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि काम भइरहेको जनाउँदै सङ्घीय सरकारको निरन्तर सहकार्य र प्रतिबद्धता जरूरी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता बैठक तथा भेटघाटहरूलाई नियमित र परिणाममुखी बनाउनुपर्ने धारणा राख्नुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |