
म्याग्दी, २६ असोज : बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौति बनेको छ ।
यही असोज ८ देखि ११ गतेसम्मको झरिका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।
पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौ जाने आउने सवारी साधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । बेनी नगरपालिका–२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारी साधनको जाम हुने, साघुरो भएकाले दुर्घटनाको पनि जोखिम भएको बताउनुभयो ।
“नदी कटान र पहिरोका कारण एक सय मिटर दुरीमा सडक साविकको भन्दा दुई देखि तीन मिटर भासिएको र दवेको छ,” उहाँले भन्नुभयो “सवारी साधनको चाप बढेको हुँदा घण्टौ जाम हुने गरेको छ ।”
आर्थिक वर्ष २०८१÷०८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी ब्यवस्थापन र हिलोमा ढलान गरेको थियो । हाल ढलान गरेको सडक सबै भासिएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले भसभसेमा यातायात ब्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरेपनि प्रतिकुल भूगोलका कारण समाधान हुन नसकेको बताउनुभयो ।
“सडक डिभिजनले ग्राभेल राखेपनि दवेर भोलीपल्ट पहिलेको जस्तो अवस्था हुन्छ,” उहाँले भन्नुभयो “सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोताले तार्ने गरिएको छ ।” भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल गरेर तटबन्धका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालय मार्फत पहल गरिएको कार्यवाहक जिसस प्रमुख खत्रीले बताउनुभयो । –––


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |