
चितवन, २६ असोजः इच्छाकामना गाउँपालिका–४, कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पतालको नवनिर्मितबाट सेवा शुभारम्भ गरिएको छ । सङ्घीय सरकारको रु १४ करोड ५० लाखको लागतमा भवन निर्माण गरिएको हो । पृथ्वी राजमार्गसँगै जोडिएको नवनिर्मित १५ शय्याको अस्पतालमा राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल उपचार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भवनको आइतबार शुभारम्भ गर्नुहँुँदै सबै स्थानीय तहको आम्दानीको स्रोत नहुने जनाउँदै इच्छाकामना आधारभूत अस्पताललाई प्रदेश सरकारले आवश्यक प्राविधिक र जनशक्ति सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले अस्पताललाई थप साधनस्रोत सम्पन्न बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामना आधारभूत अस्पतालले यसअघि दारेचोक स्वास्थ्यचौकीबाट सेवा सञ्चालन गर्दा कठिनाइ र अप्ठ्याराहरू भोग्नु परेको उल्लेख गर्दै अहिले सुविधासम्पन्न भवनबाट सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले अस्पतालका लागि आवश्यक थप उपकरण उपलब्ध गराइदिन मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई आग्रह गर्नुभयो ।
अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाले विपन्न तथा सुत्केरीलाई निःशुल्क उपचार र आकस्मिक दुर्घटनाका घाइतेलाई एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको, अस्पतालले गोरखा र धादिङका छिमेकी पालिकाका नागरिकका साथै काठमाडौँ, पोखरा र चितवन यात्रा गर्ने यात्रु तथा दुर्घटनामा घाइते भएकाहरूलाई पनि सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना, सहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर, निवर्तमान गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले मन्तव्य बोल्नुभएको थियो ।
वक्ताहरूले इच्छाकामना आधारभूत अस्पतालको सेवा विस्तारका लागि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । चितवनको इच्छाकामनासहित धादिङको बेनीघाट रोराङ, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिकाका नागरिकका साथै काठमाडौँ, पोखरा र चितवन यात्रा गर्ने यात्रु तथा दुर्घटनाका घाइतेहरूको जीवनरक्षामा यस अस्पतालको महत्वपूर्ण भूमिका रहेको उनीहरूको भनाइ थियो ।
अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको वक्ताहरूले औँल्याएका थिए ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |