
मुस्ताङ, १४ मङ्सिरः यहाँको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँको नाम नसुनेका सायद बिरलै छन् । यदि नसुनेकै भए पनि ‘क्यारा राम्रो स्याउ बारी मार्फा गावैमा’ गीतले मार्फा गाउँका ताजा स्मरण गराइदिइहाल्छ ।
मार्फा गाउँ स्याउको राजधानीका रूपमा परिचित छ । यद्यपि यो गाउँ स्याउले मात्र होइन, त्यहाँको एकापसमा जोडिएका पुराना सांस्कृतिक घर र त्यसभित्रको साँघुरो गल्ली अर्को विशेषता हो । कुनै बेला खेतीयोग्य जमिन सञ्चय गर्न बनेको मार्फाको गुजमुज्ज बस्ती पछिल्लो समय पर्यटकको आकर्षक केन्द्र बनेको छ । मार्फाका स्थानीय सुरेन्द्र हिराचनका अनुसार मार्फा गाउँ धवाङबाट स्थानान्तरण भएको स्मरण गर्नुभयो । खेतीयोग्य जमिनको कमी, खानेपानी र सिँचाइलगायत समस्या र जनसङ्ख्या वृद्धि हुँदै गएपछि झन्डै सात सय वर्ष पहिले धवाङबाट हालको मार्फा गाउँमा सरेको स्थानीय हिराचन बताउनुहुन्छ ।
धवाङ मार्फा गाउँबाट केही माथि धम्पुस पिक र आलुबारी जाने स्थानमा पर्छ । त्यहाँबाट वैकल्पिक बासस्थानका रूपमा सरेको मार्फा गाउँ अहिले मुस्ताङको प्रमुख पर्यटकीय सहरमध्ये एक बनेको हो । गाउँभित्र लस्करै एकापस जोडिएका पाखोको भित्तैसम्म पुग्ने गरी बस्ती बसेको छ । यो बस्ती सात सय वर्ष पुराना रहेको स्थानीय हिराचनको दाबी छ । हालसम्म मार्फा गाउँमा आठ पुस्ताका मानिसको बसोबास रहेको उहाँको भनाइ छ ।
पुराना प्राचीन घर, अनि गाउँभित्रको मुख्य गल्ली । त्यही गल्लीभित्र अरु थुप्रै शाखा गल्ली छन् । यी गल्ली घरको थारा (छत), गोठ र वनजङ्गल जाने बाटोका लागि निर्माण गरिएको हो । मार्फा गल्लीभित्रको गल्ली कोही छोटा र कोही लामा छन् । छप्पनी ढुङ्गा बिछ्याइएको यही मार्फा गाउँको साँघुरो गल्ली पर्यटकका लागि आकर्षक गन्तव्य बनेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । मार्फा गाउँमा पर्यटकीययाममा दैनिक पाँच हजार बढीले अवलोकन गरी फर्किने गरेका अध्यक्ष लालचन बताउनुहुन्छ ।
मुस्ताङको मार्फा गाउँका पर्यटकीय दृष्टिकोणले मात्र होइन, विभिन्न स्वदेशी तथा विदेशी चलचित्र तथा डकुमेन्ट्री फिल्म र म्युजिक भिडियो छायाङ्कन गर्ने केन्द्रसमेत बनेको छ । यहाँ कबड्डी र जेरीलगायत धेरै चलचित्रको छायाङ्कन भइसकेका छन् । दर्जनौँ नेपाली चलचित्रको छायाङ्कन तथा प्रदर्शनपछि मार्फा गाउँको पर्यटकीय चर्चा थप चुलिँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ ।
मार्फा गाउँमा मुख्य गल्ली राजमार्ग सडकदेखि उत्तर–दक्षिण करिब डेढ किमी छ । यसभित्र अरु धेरै शाखा गल्ली अवस्थित छन् । मार्फा गाउँको मुख्य गल्लीभित्र अमरसिंह गल्ली, लुक्ने गल्ली, बुद्ध गल्ली, झाँक्री गल्ली, धवलागिरि बेसक्याम्प जाने गल्ली छन् । त्यसैगरी, गाउँको मुख्य गल्लीभित्र हाङ्च्छा गल्ली, जेरी गल्ली, कबड्डी गल्ली र स्टेज भ्यूटावर जानेलगायत धेरै शाखा गल्ली छन् । यी गल्ली प्राचीन समय स्थानीयकै सहजताका लागि बनाइएको अध्यक्ष लालचनले उल्लेख गर्नुभयो ।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग सहज हुँदै जान थालेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेसँगै मार्फा गाउँको पर्यटन चलायमान हुँदै जान थालेको छ । मुक्तिनाथ र माथिल्लो मुस्ताङ पुगेर फर्किएका पर्यटक अचेल मार्फा गाउँभित्र पस्न थालेको स्थानीय जीवन लालचनले जानकारी दिनुभयो । सडकमार्गमा सवारी रोकेर पर्यटक मार्फा गल्लीभित्र घण्टौँ बिताउने गरेको उहाँले बताउनुभयो ।
मार्फा गाउँभित्रका विभिन्न गल्लीमा पर्यटकहरूले फोटो र भिडियो खिच्ने र टिकटक आदि बनाउने गरेको पाइन्छ । विशेषगरी साँझपख मुस्ताङ आएका पर्यटक मार्फा गाउँको गल्लीभित्र रम्ने गरेको स्थानीय लालचनले बताउनुभयो ।
पर्यटकीय गन्तव्य मार्फामा पर्यटकका लागि फोटो, भिडियो, टिकटक आदि बनाउन स्थानीयले विभिन्न जातजातिका स्थानीय मौलिक वेशभूषाका कपडा भाडामा दिएर आम्दानी गरेका छन् । मार्फा साँझपख पर्यटकले खचाखच भरिन्छ । मार्फा गाउँमा पर्यटक ओइरिन थालेपछि स्थानीय होटलसमेत भरिभराउ हुने गरेको छ । हिउँदयामको प्रतिकूलमा मौसममा समेत मार्फा गाउँमा पर्यटक चहलपहल नघटेको स्थानीय लालचनले जानकारी दिनुभयो ।
मार्फा गाउँको सौन्दर्यता साँघुरो गल्लीमात्रै होइन, त्यहाँका पुराना ढुङ्गा र माटोले बनेका घरहरूले संस्कृतिलाई उजागर गरेको छ । हरेक घरका छतमाथि लस्करै पाँजिएका दाउरा अर्को आकर्षण हो । मार्फा गाउँभित्र विद्युतीय प्रसारण लाइन पूरै भूमिगत गरिएको छ । मार्फामा नयाँ घर बनाउन चाहने वा घरलाई पुनर्निर्माण गर्न चाहनेले घरको अघिल्लो मोहडालाई परम्परागत संस्कृतिको रूपमा राखिनुपर्ने नियम राखिएको छ ।
मार्फामा करिब आधा दर्जन डिस्टिलरी उद्योग, गुम्बा, भ्यूटावर र धम्पुस पिक पदमार्ग आदि भएकाले मार्फा गाउँ जोमसोमपछिको पर्यटकीय केन्द्र बनेको हो । मार्फामा करिब सय बढी घरपरिवारको बसोबास रहेकामा करिब एक चौथाइले पर्यटन व्यवसाय अपनाएका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |