
भोजपुर, १४ मङ्सिरः प्राकृतिक विपत्ति तथा आगलागीका कारण पशुचौपाया गुमाएका भोजपुरका किसानलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले राहत उपलब्ध गराउँदै आएको छ । आगलागी, बाढीपहिरो र चट्याङका कारण पशुधनमा क्षति व्यहोरेका किसानलाई कार्यालयले राहत दिने गरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार आर्थिक वर्ष २०८१÷८२ र वर्ष २०८२÷८३ मा तीन–तीन जना किसानलाई राहत उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षका लागि पनि राहत प्राप्त गर्न इच्छुक किसानसँग आवेदन आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयका सूचना अधिकारी मनोज पोखरेलका अनुसार विपत्तिका कारण पशुचौपाया मरेमा सम्बन्धित किसानले आवश्यक प्रमाणसहित निवेदन दिनुपर्ने व्यवस्था छ । किसानको निवेदन, प्रहरीको सर्जमिन मुचुल्का र अनुगमन समितिको स्थलगत अनुगमनपछि क्षतिको विवरण सही ठहरिएमा राहत उपलब्ध गराउने गरिएको छ ।
राहतस्वरूप बाख्रा तथा भेडाका लागि प्रतिगोटा बढीमा रु १० हजार र गाई तथा भैँसीका लागि प्रतिगोटा बढीमा रु २० हजार उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । राहत प्राप्त गर्न विपत्तिबाट पशुचौपाया गुमाएका किसानले कार्यालयले तोकेको ढाँचामा निवेदन दिनुपर्नेछ । निवेदनसँगै नागरिकता र जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, क्षतिसम्बन्धी वडा तथा प्रहरीको मुचुल्का, स्थानीय तहको पशु सेवा शाखाको सिफारिस, पीडितको स्थायी लेखा नम्बर (प्यान) तथा बैंक खाताको विवरण र क्षति देखिने तस्बिर वा श्रव्यदृश्य सामग्री पेस गर्नुपर्ने कार्यालयले जनाएको छ ।
प्राकृतिक विपत्ति तथा आगलागीबाट पशुधन गुमाउँदा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले राहत कार्यक्रमले उनीहरूलाई केही सहयोग पुग्ने कार्यालय जनाएको छ । विशेषगरी पशुपालनलाई आम्दानीको मुख्य स्रोत बनाएका किसानका लागि यस्तो सहयोगले विपत्तिपछिको आर्थिक भार कम गर्न मद्दत पुग्ने देखिन्छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |