
बझाङ, १० मङ्सिरः बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् ।
दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा नयाँ उत्साह थपिएको हो ।
खेलमैदानको अभाव, सीमित स्रोतसाधन र पर्याप्त सरकारी लगानी नहुँदा पनि बझाङका युवाले खेतबारी, खुला चौर तथा उपलब्ध खाली ठाउँलाई क्रिकेट मैदानका रूपमा प्रयोग गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपिएल) ले क्रिकेटप्रति थप आकर्षण जगाएपछि जिल्लाका विभिन्न गाउँमा प्रतियोगिताको विस्तार हुँदै गएको छ ।
बाँस्काटिया युवा जागरण अभियानका क्रिकेट संयोजक चक्रजङ्ग रोकायाको पहलमा यस वर्ष खप्तडछान्ना गाउँपालिकामा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।
दसैँ–तिहारको अवसरमा गाउँमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम गर्ने तयारी भइरहेका बेला सुरु भएको प्रतियोगितामा बाँस्काटियामा १८ वटा टोलीले नाम दर्ता गरी प्रतिस्पर्धामा उत्रिएका थिए । मोबाइल तथा टेलिभिजनमा राष्ट्रिय टोलीको खेल हेर्दै आएका स्थानीय युवाका लागि आफ्नै गाउँमा क्रिकेट खेल्ने अवसर नयाँ अनुभव बन्यो ।
खेतमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीले उत्कृष्ट प्रदर्शन गरे । सामान्य मानिएका टोलीले समेत प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपछि दर्शक उत्साहित बने । गाउँका किशोर तथा युवाले खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै सिकेको क्रिकेटले प्रतियोगितामा राम्रो प्रदर्शन गरेको आयोजकको भनाइ छ ।
क्रिकेट संयोजक चक्रजङ्ग रोकाया भन्नुहुन्छ, “हाम्रो खप्तडछान्ना गाउँपालिकामा पनि यस्तो प्रतिभा छ भन्ने हामीले कल्पना नै गरेका थिएनौँ । खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै आएका युवा तथा किशोरको खेलले दर्शकको मन जित्यो । सामान्य भनिएका टोलीले उत्तिकै राम्रो प्रदर्शन गरे । यो नै हामी आयोजकका लागि सफलता हो ।”
स्थानीयस्तरमा क्रिकेट प्रतियोगिता आयोजना भएपछि गाउँका युवाले आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन् । खेलप्रतिको रुचि र सहभागिता बढ्दै जाँदा आगामी दिनमा अझ व्यवस्थित प्रतियोगिता सञ्चालन गर्न सकिने विश्वास आयोजकले गरेका छन् ।
बाँस्काटियामा क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक सातामै खप्तडछान्ना गाउँपालिका–४ माझिगाउँमा अर्को प्रतियोगिता आयोजना भयो । जिम्माल युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा दुई दर्जनभन्दा बढी टोली सहभागी भएका थिए ।
प्रतियोगितामा विजेताका लागि रु एक लाख ५० हजार राशिको पुरस्कारको व्यवस्था गरिएको थियो भने उपविजेताले रु ४० हजार प्राप्त गरेका थिए । आकर्षक पुरस्कार र स्थानीय युवाको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो ।
जिम्माल युवा क्लबका संयोजक मुकेश रोकायाका अनुसार माझिगाउँमा विगत चार वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ ।
वडास्तरीय प्रतियोगितामा विभिन्न वडा तथा गाउँका टोली सहभागी हुने गरेका छन् । “वडास्तरीय प्रतियोगितामा वडा तथा गाउँबाट टोली प्रतिस्पर्धामा उत्रिन्छन् । यहाँबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाहिरका प्रतियोगितामा सहभागी हुन्छौँ । त्यहाँबाट ट्रफी जितेर गाउँ फर्किंदा सबैलाई खुसी लाग्छ । यहाँ नियमित खेल भइरहँदा खेलाडी र गाउँ दुवैलाई फाइदा भएको छ,” उहाँले भन्नुभयो ।
स्थानीय क्लबको सक्रियताले क्रिकेटलाई गाउँको खेलकुद संस्कृतिका रूपमा स्थापित गर्न सहयोग पुगेको छ । नियमित प्रतियोगिताले खेलाडीलाई अभ्यास गर्ने, आफ्नो क्षमता पहिचान गर्ने र अन्य टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ ।
गाउँगाउँमा फैलिँदै क्रिकेटको लहर दसैँ, तिहार र छठ पर्वको अवधिभर बझाङ जिल्लाका दर्जनभन्दा बढी स्थानमा क्रिकेट प्रतियोगिता आयोजना भएका छन् । पहिले निश्चित ठाउँमा सीमित रहेको क्रिकेट अहिले ग्रामीण बस्तीहरूमा समेत फैलिँदै गएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) बझाङका अध्यक्ष प्रविन्द्र धामीका अनुसार जिल्लाका बुंगल, दुर्गाथली, सुर्मा र जयपृथ्वी नगरपालिकामा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेको एक दशकभन्दा बढी भइसकेको छ । पछिल्लो समय भने गाउँ गाउँमा प्रतियोगिता हुन थालेका छन् । “सुरुमा निश्चित ठाउँमा मात्रै हुने क्रिकेट प्रतियोगिता अहिले गाउँगाउँमा पनि हुन थालेका छन् । यसले जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढेको देखाउँछ,” उहाँले भन्नुभयो ।
स्थानीय तह, युवा क्लब तथा विभिन्न अभियानको सहकार्यमा प्रतियोगिता आयोजना हुन थालेपछि क्रिकेटको पहुँच ग्रामीण क्षेत्रमा विस्तार हुँदै गएको छ । खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई प्रतिभा पहिचान र युवालाई सकारात्मक गतिविधिमा जोड्ने माध्यमका रूपमा लिन थालिएको उहाँले बताउनुभयो ।
एनपिएलपछि गाउँमा थप उत्साह
नेपाल प्रिमियर लिग (एनपिएल) सुरु भएपछि बझाङका गाउँमा क्रिकेटप्रतिको आकर्षण थप बढेको छ । एनपिएलको प्रभावसँगै तलकोट गाउँपालिकामा ‘तलकोट प्रिमियर लिग’ सञ्चालन हुन थालेको छ ।
बर्सेनि लाखौँ रुपैयाँ पुरस्कार राखेर आयोजना हुने उक्त प्रतियोगिता कहिले पालिकास्तरीय त कहिले वडास्तरीय रूपमा सञ्चालन हुँदै आएको छ । स्थानीय तहको खेलकुद शाखाले सहयोग गर्न थालेपछि विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो ।
मष्टा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख एवम् शिक्षा अधिकृत पृथुराज जोशी स्थानीयस्तरमा प्रतिभावान् खेलाडी हुन सक्ने भएकाले उनीहरूलाई आफ्नो क्षमता देखाउने अवसर दिन प्रतियोगिता आयोजना गरिँदै आएको बताउनुहुन्छ । “हाम्रा गाउँमा पनि प्रतिभावान खेलाडी हुन सक्छन् । उनीहरूले आफ्नो प्रतिभा देखाउनका लागि खेल आयोजना गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार वडासँगको सहकार्यमा खेलकुद क्षेत्रमा लगानी गर्ने गरिएको छ । स्थानीयस्तरमा प्रतियोगिता आयोजना हुँदा खेलाडीले आफ्नो क्षमता देखाउन पाउनाका साथै खेलप्रति समुदायको रुचि बढ्दै गएको छ ।
एनपिएलमा विभिन्न जिल्लाका खेलाडीले फरक फरक टोलीबाट खेल्ने अवसर पाएपछि ग्रामीण क्षेत्रका युवामा क्रिकेटप्रति आकर्षण बढेको छ । राष्ट्रिय तथा व्यावसायिक प्रतियोगितामा स्थानीय खेलाडीको सहभागिताले गाउँका युवालाई क्रिकेटमा भविष्य खोज्न प्रेरित गरेको छ ।
पिठातोला लायन्स किङ कोब्रा टोलीका खेलाडी कपिल जोशीका अनुसार एनपिएलपछि गाउँगाउँमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो । “पहिले हामीलाई क्रिकेटप्रति खासै चासो हुँदैनथ्यो । एनपिएल सुरु भएपछि जताततै खेल हुन थाले । विभिन्न जिल्लाका राम्रा खेलाडीले पनि विभिन्न टोलीबाट खेल्ने अवसर पाए । त्यसपछि गाउँगाउँमा पनि क्रिकेट प्रतियोगिता हुन थाले,” उहाँले भन्नुभयो ।
खेलमैदानको अभाव, खेतबारीमै प्रतिभा
क्रिकेटप्रतिको आकर्षण बढ्दै गए पनि बझाङका विभिन्न गाउँमा व्यवस्थित खेलमैदानको अभाव छ । क्रिकेट खेल्न आवश्यक मैदान, पिच तथा अन्य पूर्वाधार नहुँदा खेलाडीले खेतबारी र खुला चौरमै अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
कपिल जोशीका अनुसार क्रिकेटका लागि जिल्लाका गाउँमा पर्याप्त मैदान छैनन् । सरकारले पनि आवश्यक पूर्वाधार निर्माणमा पर्याप्त लगानी गर्न सकेको छैन । “क्रिकेटका लागि कुनै ठाउँमा पनि व्यवस्थित मैदान छैन । सरकारले पर्याप्त लगानी गरेको छैन । तैपनि गाउँगाउँका प्रतिभा खेतमा देखिन थालेका छन् । यो सुखद पक्ष हो,” उहाँले भन्नुभयो ।
बझाङका गाउँमा परम्परादेखि भलिबल र देउडा सांस्कृतिक तथा खेलकुद गतिविधिका अभिन्न अङ्गका रूपमा रहँदै आएका छन् । गाउँका मेला, पर्व र उत्सवमा भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम आयोजना हुने चलन अझै पनि छ ।
पछिल्लो समय भने क्रिकेट र ब्याडमिन्टनजस्ता खेलले ग्रामीण क्षेत्रमा प्रवेश पाएका छन् । यसले गाउँका मेला तथा पर्वलाई थप विविध र आकर्षक बनाएको छ ।
खप्तडछान्ना एकीकृत विकास मञ्चका अध्यक्ष पुष्पराज रोकाया ‘अक्षर खेती’का अनुसार बझाङका विभिन्न स्थानका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै हुने गरेको छ । अहिले त्यससँगै क्रिकेट र ब्याडमिन्टनले स्थान पाउन थालेका छन् । “बझाङका विभिन्न ठाउँका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै छ । तर, अहिले क्रिकेट र ब्याडमिन्टनले प्रवेश पाएको छ । विभिन्न खेल आयोजना हुँदा मेला रोमाञ्चक बन्न थालेका छन्,” उहाँले भन्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |