
तुलसीपुर (दाङ), १० मङ्सिरः दाङका विद्यार्थी, शिक्षक तथा अभिभावकले बिभिन्न जिल्लाका नमूना विद्यालयको स्थलगत अवलोकन गरेपछि आफ्नो विद्यालय सुधार गर्ने योजना अगाडि सारेका छन् ।
दाङको तुलसीपुरका चार वटा विद्यालयका विद्यार्थी तथा शिक्षकले बर्दिया र सुर्खेतका नमूना विद्यालयले गरेको सकारात्मक अभ्यासको अवलोकन गरेका थिए ।
समाजमा वातावरणीय शिक्षाको विकास (सिड)को समन्वयमा दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित अम्वेश्वरी मावि अम्बापुर, शान्तिनगर गाउँपालिकाण्–३ स्थित विपी मावि बयाले, शान्तिनगर–७ स्थित मावि तुलसीपुर र शान्तिनगर–२ स्थित जनकल्यान मावि सिमसुन्दरपुरका विद्यार्थीले स्थलगत रुपमा अन्य जिल्लाका विद्यालयको अवलोकन गरेका हुन् ।
आफ्नो विद्यालयमा सफल अभ्यास लागू गर्न अवलोकन गरिएको सिडका कार्यकारी निर्देशन भागिराम चौधरीले बताउनुभयो । “अन्य जिल्लाका विद्यालयले कस्तो खालको अभ्यास गरिरहेका छन्, ती अभ्यासको सिकाइ गरेर नमूना विद्यालय बनाउने उद्देश्यका साथ विद्यार्थी र शिक्षकलाई अवलोकन गराइएको हो,” उहाँले भन्नुभयो, “अवलोकनपछि सोही अनुसार कार्यक्रम लागू गर्ने तयारी छ ।”
विद्यालय सुधार योजना अघि सारिएको शान्तिनगर– ४ स्थित विपी मावि बयालेकी विद्यार्थी करुण ज्ञवालीले खुसी व्यक्त गर्दै स्थलगत अवलोकन प्रभावकारी भएको बताउनुभयो । “हामीले अनुशासनको कुरा, विद्यालय परिसर हरियाली बनाउन बिरुवा रोप्न र बहुउपयोगी गतिविधि आफैँले गर्न सक्ने रहेछौँ,” उहाँले भन्नुभयो “संस्कार, संस्कृतिका विषयलाई सुधार गर्ने योजनामा छौँ ।”
त्यस्तै, तुलसीपुर–१३ स्थित अम्वेश्वरी मावि अम्बापुरकी विद्यार्थी सुस्मिता परियारले विद्यालय सुधार गर्न विद्यार्थीको हात रहने बताउनुभयो । शिक्षक, विद्यार्थी र अभिभावकको सामूहिक प्रयासले नै सामुदायिक विद्यालय सफल भएकाले त्यसलाई जोड दिइएको बिपी मावि बयालेका प्रधानाध्यापक ठुमराज लामिछानेले बताउनुभयो ।
यस्ता रहेछन्, अन्य विद्यालय
बर्दियाको बारबर्दिया नगरपालिका–२ स्थित युवक माध्यमिक विद्यालयमा ‘संस्कारसहितको शिक्षा’लाई जोड दिइएको छ । हरेक दिन विद्यालय प्रवेश गर्दा दिनहुँ दुई जना शिक्षक र विद्यार्थीले मुस्कानसहित झुकेर नमस्ते गर्दै स्वागत गर्छन् । एक आपसमा ‘तपाईं’ तथा ‘हजुर’ जस्ता आदरार्थी भाषाको प्रयोग गर्ने गरेका छन् । प्रधानाध्यापक नरेशकुमार चौधरीका अनुसार विद्यार्थीलाई भौतिक सजायको सट्टा विद्यालयले ‘कनेक्सन बिफोर करेक्सन’ अर्थात् ‘पहिले सम्बन्ध जोड्ने, त्यसपछि सुधार गर्ने’ नीति लिएको छ ।
हरेक महिनाको अन्तिम दिन शिक्षक र विद्यार्थी आ–आफ्नो परम्परागत पोसाकमा उपस्थित हुने गरेको प्रधानाध्यापक चौधरीले बताउनुभयो । त्यस्तै स्थानीय स्रोत व्यक्तिमार्फत दुना–टपरी बनाउने, डोरी बाट्ने र चित्रकलाजस्ता स्थानीय सीप सिकाइन्छ ।
टोल–टोलमा ५६ वटा ‘दौँतरी सिकाइ समूह’ गठन गरी दुइ–दुई जना शिक्षकले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । त्यसबाट पढाइमा अब्बल र कमजोर विद्यार्थीसँगै बसेर सिक्ने र मोबाइलको लत क्रमशः कम हुँदै गएको प्रधानाध्यापक चौधरीको भनाइ छ ।
कक्षा १० का विद्यार्थीका लागि परीक्षाअघि चार महिने आवासीय कक्षा सञ्चालन गरिएको छ । विद्यालयले ‘ग्रिन स्कुल, क्लिन स्कुल’ मा जोड दिएको छ । विद्यार्थीले घरबाटै मल ल्याएर करिब रु दुई लाख बराबरको फूलबारी तयार पारेका छन् । ‘ग्रिन होम, क्लिन होम’ अभियान चलाइएको छ । सो अभियानको घरमै गएर शिक्षकले सर्वेक्षण गर्दा ३७ प्रतिशत विद्यार्थीले आफ्ना घरमा फूल रोपेको पाइएको थियो ।
विद्यालय समयमा अनुशासन कायम राख्न हाजिरीपछि परिचयपत्र कार्यालयमा सङ्कलन गरी अपराह्नमा मात्रै फिर्ता दिइन्छ । त्यसबाट समयभन्दा पहिल्यै विद्यार्थी विद्यालय छोडेर जाने दरमा कमी आएको छ । परिचयपत्र विनै विद्यार्थी घर वा समाजमा गएमा निगरानी हुने हुँदा विद्यालयबाट भागेर घर जाने दर घटेको छ ।
अस्तब्यस्तबाट उठेको विद्यालय
सुर्खेतको वीरेन्द्रनगर–६ स्थित जन–नमूनाको कथा फरक छ । उक्त विद्यालय २०७१ सालभन्दा अघि निकै अस्तब्यस्त थियो । विद्यालय परिसरमा हूलदङ््गा र गुण्डागर्दी हुने, विद्यालय परिसरमा बाहिरका मानिस आएर कक्षाकोठाबाटै छात्रालाई लैजाने, राजनीतिक दलका आमसभा तथा मेलापर्व विद्यालय परिसरमा हुने गर्थे । विद्यालय अस्तव्यस्त हुँदा विद्यालयको चार जना शिक्षकको दरबन्दी कटौती हुन पुग्यो । त्यसबेला १५ प्रतिशतभन्दा कम सिकाइ उपलब्धि हुने गरेको थियो । पछिल्ला दिनमा यो विद्यालय नमूना विद्यालयका रुपमा स्थापित छ ।
विद्यालय व्यवस्थापत समितिका अध्यक्ष गोविन्द कोइरालाका अनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षकका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने नियम लागू गरेपछि विद्यालयमा सुधार आउन थालेको अध्यक्ष कोइरालाले बताउनुभयो ।
राजनीतिक दलसँग छलफल गरी विद्यालयलाई पूर्ण रूपमा बन्द–हडताल मुक्त क्षेत्र बनाइएको छ । त्यसबाट विद्यार्थीको पठन–पाठनमा सहज भएको उहाँले बताउनुभयो । सो विद्यालय २०७१ सालमा सुर्खेत जिल्लाभरिकै उत्कृष्ट सामुदायिक विद्यालय बन्यो । त्यसपछि २०७२ मा निजी र सामुदायिक दुवैतर्फ उत्कृष्ट तथा २०७३ मा साबिक मध्यपश्चिमाञ्चल विकास क्षेत्रमै सर्वोत्कृष्ट बन्न सफल भयो ।
विसं २०७४ को पहिलो लेटर ग्रेडिङ प्रणालीमा देशभरका ७४ जना विद्यार्थीले चार जिपिए ल्याउँदा काठमाडौँ उपत्यका बाहिरबाट चार जिपिए ल्याउने नेपालकै एक मात्र सामुदायिक विद्यालय बनेको थियो । सो विद्यालयमा तीन हजार ५०० सय विद्यार्थी अध्ययन गर्दै आएका छन् । हाल सिकाइ उपलब्धि ८० प्रतिशत पुगेको छ । धरै विद्यार्थीलाई भर्ना नै लिन नसकिएको पनि अध्यक्ष कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार भौतिक पूर्वाधारले थेग्न सक्ने विद्यार्थी मात्रै भर्ना लिने गरिएको छ । सो विद्यालयमा भर्नाका लागि मुख्यमन्त्री, मन्त्री, सचिवको पनि फोन आउने गरेको उहाँले बताउनुभयो । विद्यालयले पूर्वविद्यार्थी, पूर्वशिक्षक तथा समाजका प्रतिष्ठित व्यक्तित्वलाई समेटेर ‘सल्लाहकार परिषद्’ गठन गरी उनीहरूबाट निरन्तर सल्लाह सुझाव लिने गरेको छ । विद्यालयमा अनुशासन कायम गर्न बिहान ९ः५५ बजेभित्र शिक्षक तथा विद्यार्थी विद्यालयभित्र प्रवेश गरिसक्नुपर्ने छ । अपराह्न ४ः०० बजेसम्म बस्नुपर्ने नियम कडाइका साथ लागू गरिएको छ ।
वर्षमा तीन पटक अभिभावकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र उत्कृष्ट अभिभावक, शिक्षक तथा विद्यार्थीलाई वार्षिक उत्सवमा पुरस्कृत गर्ने परम्परा बसालिएको छ । त्यस्तै, विद्यालयले ‘स्वेच्छिक सहयोग प्राप्ति कार्यविधि’ निर्माण गरी अभिभाबकबाट स्वेच्छिक सहयोग लिने गरिएको छ । त्यसबाट वार्षिक रु छ करोडभन्दा बढी सङ्कलन हुने गरेको अध्यक्ष कोइरालाले बताउनुभयो ।
टोलमा शिक्षा समिति
सुर्खेतको एउटा विद्यालयले टोलमा शिक्षा समिति बनाएर विद्यार्थीलाई सक्रिय बनाउने गरेको छ । जनज्योति मावि बड्डीचौर जहराताल सर्खेतले शिक्षा समिति बनाएर टोल–टोलमा विद्यार्थीका गतिविधि, सक्रियतालगायतका विषयमा अनुगमन गर्ने गरेको सहायक प्रधानाध्यापक कमलराज आचार्यले बताउनुभयो ।
त्यस्तै, विद्यालय कृषि विषय अध्ययन गराउनेमा अग्रणी बनेको छ । हाल सो विद्यालयमा १५ महिने र तीनवर्षे कृषि तथा सोही अवधिको भेटेरिनरी कक्षा सञ्चालनमा छ । प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई ‘कृषि पढ्ने हो भने कृषिमा जम्नु पर्छ’ भनेर सिकाउन थालेपछि विद्यालयमा नयाँपन आएको छ ।
पढ्दै–कमाउँदै कार्यक्रम आफ्नै विद्यालयबाट सुरु भइ देशव्यापी बनेको उहाँको दावी छ । “कुनै विद्यार्थीले मौरीपालन गरे, कुनैले कृषि गरे, कसैले बाख्रा फार्म गरे,” उहाँले भन्नुभयो, “त्यसबाट विद्यार्थीको आम्दानी राम्रो भयो, कार्यक्रम पनि सफल भयो ।”
विद्यार्थीले एक बिघामा माछापोखरी र हाँसपालन गरेको उहाँको भनाइ छ । पछिल्ला दिनमा सुरुआती चरणको जस्तो व्यापक नभए पनि सुरुआतका विद्यार्थीले आफ्नै व्यबसाय गरेर आम्दानी गरिरहेको सहायक प्रअ आचार्यको भनाइ छ । विद्यालयले विद्यार्थीलाई जीवन उपयोगी सीप दिने गरेको छ । चुरापोते तालिम दिएपछि केही विद्यार्थीले त्यसबाट आम्दानी लिन थालेका छन् ।
त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका–४ स्थित जनता मावि बठुवा पनि कृषिमा स्थापित विद्यालय हो । जहाँ कृषिका कक्षा सञ्चालनमा छन् । हाल विद्यालय परिसरमा गोलभँेडा, खुर्सानी, बन्दा, भिन्डीजस्ता तरकारी रोपिएका छन् । च्याउखेती, गाईपालन, ठूला–ठूला पोखरी बनाएर माछापालन गरिएका छन् । तरकारीका लागि चाहिने मल विद्यालयले नै उत्पादन गर्छ ।
विद्यार्थीको कार्ड स्क्यान
बर्दियाको ठाकुरबाबा–३ जुडपानी बगनाहमा रहेको चुरे माध्यमिक विद्यालयले विद्यार्थीको कार्ड स्क्यान गरेर हाजिर गर्ने गरेको छ । त्यसबाट विद्यार्थीको उपस्थिति सङ्ख्या यकिन गर्न सहज हुने गरेको प्रधानाध्यापक राजेश यादवले बताउनुभयो ।
माइक्रोफोनबाटै कक्षा कोठाको कमाण्ड गर्ने गरिएको छ । शिक्षक नहुँदा पनि विद्यार्थीलाई माइकबाटै कमाण्ड गर्दा कक्षा कोठा व्यवस्थित हुने गरेको उहाँको भनाइ छ । त्यस्तै, गणित विषयको प्रयोगशाला सञ्चालन गरिएको छ, भने कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरिन्छ । विद्यालय व्यबस्थापन समिति र शिक्षकका छोराछोरी सोही विद्यालयमा पढ्छन् । त्यसबाट अभिभावकको विश्वास जित्न सकिएको उहाँको भनाइ छ ।
उत्कृष्ट विद्यालयमा पर्न सफल सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलमा अतिविपन्न बालबालिका अध्ययन गर्छन् । विद्यालय वरिपरि हरियाली बगैँचा छ । तरकारीदेखि दूध उत्पादन विद्यालय नै गर्दै आएको छ । विद्यालयमा प्लास्टिकको रोक, स्कुलका कक्षा कोठा, शौचालय र भान्सामा वातावरणीय दिगोपना ध्यान दिएको विद्यालयले जनाएको छ ।
वातावरणलाई सफा तथा स्वच्छ राख्न विद्यालय हाताभित्र विभिन्न प्रकारका वातावरणीय प्रभाव न्यूनीकरण तथा सबलीकरण गरिएको छ । कुल ४५० विपन्न बालबालिकालाई शैक्षिक र वातावरणीय शिक्षा प्रदान गरिँदै आएको सो विद्यालय आवासीय हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |