
जनकपुरधाम, ५ मङ्सिरः सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । नदीको धार नियन्त्रण गरी पानीको बहाव पुलमुनिबाट गराउन सफल भएपछि पुल सञ्चालनका लागि आवश्यक काम अघि बढाइएको छ ।
हुलाकी राजमार्ग आयोजना निर्देशनालय, जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार सिरहातर्फ तटबन्ध निर्माण गरी नदीको धार नियन्त्रण गरिएको छ । नदीको धार परिवर्तन भएसँगै पुललाई दुवैतर्फको सडकसँग जोड्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पुलको दुवैतर्फ माटो भर्ने र रेलिङ लगाउने काम भइरहेको छ । यी काम सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याइनेछ ।
कमला नदीमा पुल नहुँदा सिरहा र धनुषाका बासिन्दाले वर्षौंदेखि आवागमनमा कठिनाइ भोग्दै आएका थिए । विशेषगरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा डुङ्गाको सहारा लिनुपर्ने र जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता थियो । यसले स्थानीयवासीको दैनिक आवागमनसँगै शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा समेत असर पुर्याउँदै आएको थियो ।
धनुषाको कमला नगरपालिकाका स्थानीय सुरेश यादवले पुल सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य, व्यापार र दैनिक कामकाजका लागि दुई जिल्लाबीच आवतजावत गर्न सहज हुने बताउनुभयो ।
पुल सञ्चालनमा आएपछि कृषि उपज तथा स्थानीय उत्पादनको ढुवानी सहज हुनुका साथै किसान, व्यापारी र सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ। यसले सिरहा र धनुषाबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई समेत थप सहज बनाउने विश्वास गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |