
झापा, ५ मङ्सिरः उत्तरी क्षेत्रका किसान यतिबेला जङ्गली हात्तीको डरले कारण रातभर जाग्राम बस्न बाध्य छन् । भारतको पश्चिम बङ्गालतर्फबाट हुल बाँधेर आउने जङ्गली हात्तीले खेतबारीमा पाकेको अन्नबाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेपछि स्थानीयवासीको जिउधन असुरक्षित बन्दै गएको छ ।
शुक्रबार राति अर्जुनधारा नगरपालिका–६ स्थित खेमकुमारी श्रेष्ठको मकैबारीमा पसेका दुईवटा जङ्गली हात्तीले बाली खाएर तथा कुल्चेर पूर्ण रूपमा नष्ट गरिदिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको थियो । हात्तीको त्रासका कारण यतिबेला जिल्लाका अधिकांश स्थानमा किसानले खेतमा पाकेको बाली सुरक्षाकर्मीको पहरामा भित्र्याउनुपर्ने अवस्था छ ।
गत हप्ता मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान लक्ष्मी घिमिरेको खेतको पाकेको धान हात्तीबाट जोगाउन सुरक्षाकर्मी र स्थानीयको सहयोगमा हतारहतार काटेर घर भित्र्याइयो । तर, घिमिरेको चिन्ता अझै हटेको छैन ।
“खेतबाट धान काटेर घर त ल्याइयो, तर भकारीमा थन्क्याएको अन्न कसरी जोगाउने भन्ने पिरलो छ”, घिमिरे दुखेसो पोख्नुहुन्छ, “हात्तीले खेतको मात्र होइन, घरकै भित्ता भत्काएर भित्र राखेको धानसमेत खाइदिन्छ । वर्षभरि के खाने भन्ने चिन्ताले सताएको छ ।”
मेचीनगर, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका सयौँ किसान यतिबेला यस्तै त्रासमा बाँचिरहेका छन् । डिभिजन वन कार्यालयका निमित्त प्रमुख रामबरत यादवका अनुसार भारतको आसाम र पश्चिम बङ्गालको जङ्गल हुँदै मेची नदी तरेर नेपाल पस्ने हात्तीहरूको परम्परागत जैविक मार्ग (करिडोर) अवरुद्ध हुँदा समस्या जटिल बन्दै गएको हो । उहाँले मङ्सिर महिना धान पाँक्ने भएकाले खानाको खोजीमा हात्ती बस्ती पस्ने क्रम अधिक बढ्ने बताउनुभयो । विशेषगरी बाहुनडाँगी क्षेत्रमा लगाइएको ‘सोलार फेन्सिङ’ (विद्युतीय तारबार) ठाउँ–ठाउँमा बिग्रनु र हात्तीले वैकल्पिक बाटो प्रयोग गर्नुले बस्तीमा क्षति बढेको निमित्त प्रमुख यादवको भनाइ छ ।
मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले रातको समयमा गस्ती बढाउन ‘¥यापिड रेस्पोन्स टिम’ (द्रुत प्रतिकार टोली) परिचालन गरिए पनि हात्तीको सङ्ख्या ठूलो हुँदा नियन्त्रणमा कठिनाइ भइरहेको बताउनुभयो । पीडित किसानले बिग्रेका विद्युतीय तारबारको तत्काल मर्मत गर्न, सधैँभरि साइरन तथा उज्यालोको व्यवस्था मिलाउन र बालीनालीको उचित तथा छिटो क्षतिपूर्ति उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरेका छन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |