Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनकुटा

घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व भन्ने बुझिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (२ घण्टा अघि)
घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

धनकुटा, २२ कात्तिकः तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व भन्ने बुझिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ । मादलको घिन्ताङ घिन्ताङ आवाजमा देउसी–भैलो खेल्नेहरूको उत्साह झनै बढ्छ । तर, तिहारको रौनकसँग अभिन्न रूपमा जोडिएको मादल अहिले क्रमशः ओझेलमा पर्दै गएको छ ।

तिहार नजिकिएसँगै मादलको माग बढ्ने र मादल बनाउने व्यवसायीलाई भ्याइनभ्याई चलन हो । तर, समयसँगै मनोरञ्जनका माध्यम र नागरिकको रुचि परिवर्तन हुँदै जाँदा मादलको प्रयोग घट्न थालेको छ । यसको असर मादल बनाउने परम्परागत सीप भएका व्यवसायीमा प्रत्यक्ष रुपमा परेको छ ।

धनकुटा नगरपालिका–१, गैरी टोलका छविलाल सार्की विगतका वर्षहरूमा तिहार आउनुभन्दा करिब एक महिनाअघिदेखि मादल बनाउन व्यस्त हुने गर्नुहुन्थ्यो । तिहारको समयमा उहाँ अन्य काम छाडेर मादल निर्माणमा जुट्नुहुन्थ्यो । वर्षौँदेखि मादल बनाउने सीपलाई आफ्नो पेसा बनाउँदै आउनुभएका सार्कीलाई यतिबेला पनि मादल बनाउन भ्याइनभ्याई हुनुपर्ने हो । तर, विगतका वर्षहरूको तुलनामा अहिले मादलको माग निकै कम आएपछि उहाँ फुर्सदिलो बन्नुभएको छ ।

पहिले चाडपर्व, मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमका समयमा मादलको माग बढी हुने गथ्र्यो । विशेषगरी तिहारमा देउसी–भैलो खेल्ने समूहले मादल किन्ने र पुराना मादल मर्मत गराउने भएकाले मादल बनाउनेहरूलाई कामको चाप हुने गथ्र्यो । अहिले भने त्यस्तो अवस्था नरहेको सार्कीको अनुभव छ । यो वर्ष उहाँले केही पुराना मादलमा खरी लगाउनेबाहेक नयाँ मादल बनाउनुभएको छैन । सीमित व्यक्तिबाट नयाँ मादलको माग आएको भए पनि झन्झटिलो प्रक्रिया र उमेरका कारण सार्कीले नयाँ मादल बनाउने काम गर्नुभएको छैन ।

मेहनत धेरै, आम्दानीको सुनिश्चितता कम

मादल निर्माण गर्नु सामान्य काम होइन । एउटा मादल तयार पार्न काठ छनोट गर्नेदेखि त्यसलाई आवश्यक आकारमा ढाल्ने, भित्र खोक्रो बनाउने, छाला तयार पार्ने, तन्काउने र खरी लगाउनेसम्मका विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि सीप, धैर्य र लामो अनुभव आवश्यक हुन्छ ।

मादल बनाउन खमारी, लामपाटो, सिरीस र खिर्रोजस्ता काठ प्रयोग गरिन्छ । मादलको गुणस्तर र आवाजमा काठको महत्त्वपूर्ण भूमिका हुने भएकाले काठ छनोट गर्दा विशेष ध्यान दिनुपर्ने सार्कीको भनाइ छ । काठलाई आवश्यक आकारमा काटेर भित्रबाट खोक्रो बनाई ढुङ्ग्रो तयार पार्नु मादल निर्माणको कठिन काममध्ये एक भएको उहाँले बताउनुभयो । त्यसपछि मादलको दुवैतर्फ बाख्रा, भैँसी वा गोरुको छाला प्रयोग गरिन्छ । छालालाई आवश्यक आकारमा तयार पारेर काठको ढुङ्ग्रोमा कसिलोसँग तन्काउनुपर्छ । मादलको आवाज राम्रो बनाउन छालाको तन्काइ र खरी लगाउने प्रक्रियामा विशेष सीप चाहिने उहाँको भनाइ छ ।

मादलको आकारअनुसार एउटा तयार गर्न तीनदेखि सात दिनसम्म लाग्ने गरेको छ । निर्माणमा लाग्ने समय, श्रम र प्रयोग हुने सामग्रीका आधारमा एउटा मादलको मूल्य रु पाँच हजारदेखि रु १५ हजारसम्म पर्ने गरेको छ । मादल बनाउन प्रयोग हुने कच्चा पदार्थ जुटाउन पनि सहज छैन । विशेषगरी छाला भारतबाट ल्याउनुपर्ने अवस्था छ । काठको ढुङ्ग्रो तयार पार्नेदेखि छाला तन्काउने र खरी लगाउनेसम्मका काममा धेरै मेहनत गर्नुपर्ने भएकाले मादल निर्माण चुनौतीपूर्ण पेसा बन्दै गएको सार्कीको भनाइ छ ।

लामो समय खर्चिएर तयार पारिएको मादल बिक्री हुने सुनिश्चितता नहुँदा व्यवसायीहरू थप समस्यामा पर्ने गरेका छन् । मादलको माग घट्दै जाने र निर्माणमा लाग्ने लागत तथा श्रम बढी हुने अवस्थाले यो पेसालाई निरन्तरता दिन कठिन बनाउँदै लगेको सार्कीले बताउनुभयो ।

आधुनिकताले ओझेलमा पर्दै मौलिक बाजा

समय परिवर्तनसँगै नागरिकको जीवनशैली र मनोरञ्जन गर्ने तरिकामा पनि परिवर्तन आएको छ । पहिले गाउँघरमा हुने सांस्कृतिक कार्यक्रम, चाडपर्व र जमघटमा मादल मुख्य बाजाका रूपमा प्रयोग हुन्थ्यो । लोकगीत गाउन होस् वा देउसी–भैलो खेल्न, मादलको ताल अनिवार्यजस्तै मानिन्थ्यो । तर, अहिले प्रविधिको विकाससँगै मनोरञ्जनका नयाँ माध्यम भित्रिएपछि मादलको माग घटेको छ ।

मोबाइल फोन, इन्टरनेट, विद्युतीय बाजा र रेकर्ड गरिएका गीतसङ्गीतको प्रयोग बढेपछि मादलको माग घटेको हो । देउसी–भैलो तथा अन्य सांस्कृतिक कार्यक्रममा समेत आधुनिक ध्वनि प्रणाली र विभिन्न विद्युतीय बाजाको प्रयोग हुन थालेको छ । यसले परम्परागत बाजा मादलको प्रयोगलाई क्रमशः सीमित बनाउँदै लगेको छ ।

पहिले घरघरमा मादल बजाउने मानिस भेटिन्थे । बालबालिकादेखि वृद्धवृद्धासम्म मादलको तालमा रमाउने गर्थे । गाउँघरका युवाहरूले मादल बजाउन सिक्ने र लोकगीतसँगै यसको प्रयोग गर्ने चलन थियो । अहिले भने नयाँ पुस्ताको आकर्षण आधुनिक सङ्गीत र प्रविधितर्फ बढ्दै गएपछि मादल बजाउने र यसको निर्माण गर्ने सीप सिक्ने पुस्ता घट्दै जान थालेको छ । सीप हराउने चिन्ता

मादल केवल एउटा बाजा मात्र होइन, यो नेपाली लोकसंस्कृति, परम्परा र मौलिक पहिचानको महत्त्वपूर्ण हिस्सा पनि हो । यसको तालमा नेपाली समाजको जीवनशैली, खुसी, उत्सव र सांस्कृतिक विरासत जोडिएको गीतकार रमेशचन्द्र अधिकारीले बताउनुभयो । गाउँघरका मेलापात, विवाह, व्रतबन्ध, चाडपर्व, जात्रा तथा विभिन्न सांस्कृतिक कार्यक्रममा मादलको आफ्नै स्थान रहँदै आएको उहाँको भनाइ छ ।

मादल बनाउने सीप लामो अभ्यास र अनुभवबाट प्राप्त हुने भएकाले यसको पुस्तान्तरण हुन नसके भविष्यमा दक्ष मादल निर्माता पाउनसमेत कठिन हुने अधिकारीले बताउनुभयो । मादलको माग घट्दै गएकोमा सङ्गीतका पारखी र मादल बनाउने व्यवसायीहरू चिन्तित छन् ।

परम्परागत बाजाको प्रयोगलाई निरन्तरता दिन नसकिए नेपाली मौलिक सङ्गीतको एउटा महत्त्वपूर्ण पहिचान कमजोर बन्ने उनीहरूको चिन्ता छ । आधुनिक प्रविधि र मनोरञ्जनका नयाँ माध्यमलाई अस्वीकार गर्न नसकिए पनि आधुनिकताका नाममा आफ्नै मौलिक कला, संस्कृति र परम्परागत सीपलाई बिर्सनु उचित नहुने उनीहरुको बुझाइ छ ।

  • धनकुटा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • पुर्ख्यौली  सीपबाट आय आर्जन गर्दै

    पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै

  • गण्डीगाड पुल निर्माण अधुरै

    गण्डीगाड पुल निर्माण अधुरै

  • Post Thumbnail

    मादलको माग उच्च

  • Post Thumbnail

    पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग

    सयपत्री फूलखेती गर्ने किसान सम्मानित

    सयपत्री फूलखेती गर्ने किसान सम्मानित

    Post Thumbnail

    घरघरमा दीपावली गरी लक्ष्मीलाई स्वागत

    पुर्ख्यौली  सीपबाट आय आर्जन गर्दै

    पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution