
बागलुङ, १८ कात्तिकः बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उहाँलाई धेरैले सफल कृषकको परिचय दिएका छन् । त्यसमा पनि फूलेखती गर्ने कृषकका रूपमा उहाँले नाम कमाउनुभएको छ । फूलेखतीले उहाँलाई नामसँगै दाम पनि दिएको छ ।
सुरुआती दिनमा उहाँले प्लास्टिक टनेलमा व्यावसायिक तरकारीखेती गर्नुहुन्थ्यो । पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उहाँ फूलखेतीमा लाग्नुभयो । तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उहाँले बताउनुभयो ।
नजिकै रहेको बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि उहाँले तरकारीखेती छाडेर फूलखेती सुरु गर्नुभएको हो । भाडामा लिएको दुई रोपनी जग्गामा तीनवटा प्लास्टिक टनेल निर्माण गरी उहाँले मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आउनुभएको छ ।
“लामो समयदेखि तरकारीखेती गर्दै आएकी थिएँ । तरकारीमा विषादी प्रयोग गर्नुपर्ने भएकाले फूलखेतीमा लागेकी हुँ । तीन वर्ष भयो, फूलखेतीबाट घरखर्च राम्रै चलेको छ,” थापाले भन्नुभयो, “वार्षिक रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ । बजारमा बाहिरबाट फूल नआउँदा राम्रो बिक्री हुन्छ, नत्र कहिलेकाहीँ बोटमै कुहिने अवस्था पनि आउँछ ।”
उहाँका अनुसार बेमौसममा उत्पादित फूल प्रतिकिलो रु ४०० सम्म र मौसमी फूल प्रतिकिलो रु २०० सम्म बिक्री हुने गरेको छ । प्लास्टिक टनेलभित्र खेती गर्दा बेमौसममा पनि फूल उत्पादन गर्न सकिने उहाँको अनुभव छ ।
बागलुङमा व्यावसायिक फूलखेती गर्ने किसानको संख्या कम रहेकाले उत्पादित फूलको बजार खोज्न समस्या नभएको कृषक थापाको भनाइ छ । उहाँले टनेलमा उत्पादन गरेको सयपत्री फूल नजिकै रहेको बागलुङ कालिका मन्दिरमा आउने भक्तजनलाई बिक्री गर्दै आउनुभएको छ ।
हाल उहाँ तिहारलाई लक्षित गरी सयपत्री फूल बिक्री गर्ने तयारीमा हुनुहुन्छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि मन्दिरमा आउने भक्तजनलाई सहज भएको छ । तरकारी खेतीबाट फूलखेतीमा लाग्नुभएकी थापाका लागि फूलखेती अहिले आम्दानीको भरपर्दो माध्यम बनेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |