
काठमाडौँ, १९ कात्तिकः सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्घाटन गर्नुभयो ।
उहाँले उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने दिशामा केन्द्रको सञ्चालन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।
मन्त्रालयका अनुसार केन्द्रको सञ्चालनबाट अब प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ । यसले उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणसम्बन्धी समय र खर्च घटाउन, गुणस्तर सुधार गर्न तथा विदेशी निकायमाथिको निर्भरता कम गर्न सहयोग पुग्नेछ ।
केन्द्रको स्थापनापछि खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता अभिवृद्धि हुँदा आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
“नेपालको निर्यात व्यापारलाई सहज बनाउन अन्तरराष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ । यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तरराष्ट्रिय विश्वास बढाउन र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउन पनि सहयोग पुग्नेछ,” मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नागरिकले सुरक्षित वस्तु पाउनुपर्छ, उद्योगीले अनावश्यक खर्च र झन्झटबाट मुक्ति पाउनुपर्छ र नेपाली उत्पादनले विश्व बजारमा सम्मानजनक स्थान बनाउनुपर्छ भन्ने विषयलाई आत्मसात् गर्दै केन्द्रको स्थापना गरिएको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |