
काठमाडौँ, ९ कात्तिक : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ ।
विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फ रहेको कार्गो कम्प्लेक्स भवनको ‘ए साइड’ मा जडान गरिएको एक्सरे मेसिनबाट कार्गो सामान स्क्रिनिङ गर्ने क्रममा शङ्कास्पद अवस्थामा उक्त परिमाणको चुरोट फेला परेको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार स्काइकिङ लजिस्टिक प्रालिमार्फत विदेश पठाउन लागिएको एक कार्टुन सामान एक्सरे मेसिनबाट जाँच गर्दा शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई थप परीक्षण गरिएको थियो ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले शङ्कास्पद कार्टुन खोलेर जाँच गर्दा आवश्यक कानुनी कागजपत्र पूरा नगरी विदेश पठाउन लागिएको ‘सूर्य लक्जरी किङ’ लेखिएको चुरोट फेला परेको जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त कार्टुनभित्र १०० बण्डल अर्थात् एक हजार प्याकेट चुरोट फेला परेको हो । “अन्तरराष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्समा एक्सरे मेसिनमार्फत सामान जाँच गर्ने क्रममा एक कार्टुन शङ्कास्पद देखिएको थियो । उक्त कार्टुन खोलेर परीक्षण गर्दा आवश्यक कागजपत्रबिना विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद भएको हो”, प्रवक्ता सिलवालले भन्नुभयो ।
बरामद गरिएको चुरोट आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तथा थप अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौँमा बुझाइएको उहाँले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |