
काठमाडौँ, ९ कात्तिक : चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई आत्मनिर्भर र नाफामूलक संस्था बनाउने योजनासहित पाँचवर्षे रणनीतिक योजना अघि बढाएको बताउनुभएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज नियुक्तिपत्र बुझेपछि मन्तव्य व्यक्त गर्दै उहाँले बोर्डमा प्रशासनिक सुधार, कार्यवातावरण निर्माण र संस्थाको आर्थिक दिगोपनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफूसँग चलचित्र सम्बन्धित क्षेत्रमा १५ वर्षको अनुभव रहेको उल्लेख गर्दै उहाँले बोर्डमा धेरै चुनौती रहेकाले प्रशासनिक क्षेत्रमा व्यापक परिवर्तनको आवश्यक औँल्याउनुभयो ।
“कुनै पनि संस्थाको आत्मनिर्भरता सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यसैले चलचित्र विकास बोर्डलाई कसरी नाफामूलक र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सकिन्छ भन्नेमा मेरो ध्यान केन्द्रित छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष पण्डितले आफूले छनोटका क्रममा मन्त्रालयमा पाँचवर्षे रणनीतिक योजना पेस गरिसकेको जानकारी दिँदै बोर्डको आम्दानी बढाउने र सरकारी लक्ष्य अनुरूप परिणाम दिने गरी विभिन्न रणनीतिमा काम गर्ने बताउनुभयो ।
चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उहाँले आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई समेटेर सरकारसँग समन्वय गरी योजनाअनुसार काम गर्ने विश्वास दिलाउनुभयो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उहाँलाई गत असोज ३० गतेको निर्णयबाट अध्यक्षमा मनोनयन गरेको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |