
गोरखा, २६ असोजः बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । आइतबार चुमनुब्री गाउँपालिका-६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण मनास्लुको चुमउपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए ।
ती सबै पर्यटक सुरक्षित अवस्थामा रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार मनास्लु क्षेत्रको प्रवेशविन्दुमा अलपत्र परेका ९८ पर्यटक र ७३ जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन् । आयोजनाका अनुसार बाढीले मनास्लु पदमार्गमा भने क्षति पुर्याएको छ ।
एमक्यापले हाल चुमउपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ । चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुमउपत्यकाको पदमार्ग अवरुद्ध बनेको हो । धार्चे गाउँपालिकाको माछाखोलाबाट चुमनुब्रीको जगतसम्मको बाटोका अधिकांश स्थानमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापका सूचना अधिकारी ओझाले बताउनुभयो ।
सामागाउँ जान चाहने पदयात्रीले भने हेलिकप्टरबाट सिधैँ फिलिमसम्म जान सक्ने विकल्प रहेको उहाँले जानकारी दिनुभयो । ओझाका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित अवस्थामा छ । तर, माछाखोलाबाट जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ । आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |