
सुनसरी, २८ असोजः चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने सर्वसाधारणको चहलपहलले थप रौनकपूर्ण बन्छ ।
खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर र झापालगायतका जिल्लातर्फ जाने आउने यात्रुको आवतजावतले दिनभर व्यस्त रहने भानुचोकमा साँझपख फरक दृश्य देखिन्छ । ठूला सवारीसाधनको चाप घट्दै जाँदा सडकछेउमा ठेलागाडा राखेर मःम, चाउमिन र अण्डारोललगायत खाजा बेच्ने व्यापारीको चहलपहल बढ्छ । खाजा खान आउने र किनमेल गर्ने सर्वसाधारणको भीडले चोकको वातावरण थप रमाइलो बनाउँछ ।
धरान–८ की अनिता राई विगत १० वर्षदेखि साँझपख भानुचोकमा ठेलामा मःम,चाउमिन र अण्डारोल बेच्दै आउनुभएको छ । दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्ने उहाँ साँझ ५ः०० बजे ठेला लिएर भानुचोक पुग्नुहुन्छ र राति ९ः३० बजेसम्म व्यापार गर्नुहुन्छ । उहाँलाई छोरीले व्यापारमा सहयोग गर्दै आउनुभएको छ ।
“दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्छु । साँझ ५ः०० बजे भानुचोक आएर ९ः३० बजेसम्म व्यापार गर्छु । छोरीले पनि सहयोग गर्छिन,” राईले भन्नुभयो ।
विगतका दैनिक प्रतिप्लेट रु ३५–४० देखि मःम,चाउमिन बिक्री गर्न थालेको अहिले रु ७० पुगेको छ । यही व्यवसायबाट छोराछोरीको पढाइ र घरखर्च धान्न सहज भएको उहाँले बताउनुभयो । राई जस्तै धरान–१५ की निरा मगरले पनि विगत नौ वर्षदेखि साँझपख भानुचोकमा मःम, चाउमिन र अण्डारोल बिक्री गर्दै आउनुभएको छ ।
खाजाको व्यापार सुरु गर्नुअघि चार वर्ष मकै पोल्ने र आलु चप बेच्ने काम गरेको उहाँ सुनाउनुहुन्छ । त्यसबाट सोचे जस्तो आम्दानी नभएपछि खाजाको व्यापार सुरु गरेको उहाँले बताउनुभयो । “महिला भएर साँझपख ठेला लिएर सडकमा निस्कँदा सुरुमा डर लाग्थ्यो, अप्ठ्यारो पनि हुन्थ्यो । अहिले बानी परिसक्यो । चाडपर्व सुरु भएकाले व्यापार पनि राम्रो भइरहेको छ,” मगरले भन्नुभयो ।
दिनभर घरमै खाजाका सामग्री तयार पारेर साँझ ६ः०० बजेतिर भानुचोक पुग्ने उहाँ राति १०ः०० बजेसम्म व्यापार गर्नुहुन्छ । चाडपर्वका बेला ग्राहकको चहलपहल बढ्दा व्यापार राम्रो हुने गरेको उहाँको भनाइ छ ।
साँझपख भानुचोकका सडकछेउमा रहेका साना चिया पसल र ठेलामा खाजा खाने, कुर्सीमा बसेर चिया गफ गर्ने तथा किनमेल गर्ने सर्वसाधारणको भीड देखिन्छ । साँझपख ठेला व्यापारी र ग्राहकको चहलपहल बढेसँगै भानुचोकमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिने गरेको छ । चाडपर्व नजिकिएसँगै बिहानैदेखि यात्रुको भीड बढ्ने भएकाले यात्रुको सुरक्षा र सवारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङले लिम्बुले बताउनुभयो ।
“चाडपर्व सुरु भएकाले बिहानैदेखि अत्यधिक भीडभाड हुने भानुचोकलाई विशेष प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन गरिरहेका छौँ,” उहाँले भन्नुभयो । गाउँ फर्किने सर्वसाधारणको सुरक्षाका लागि यात्रुले टिकट पाए नपाएको र सवारीसाधनको व्यवस्थापनको अवस्थाबारे सोधपुछ तथा जाँच गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
साँझपख ठूला सवारीसाधनको चाप कम भए पनि मोटरसाइकल, ट्याम्पो र सफारीको आवतजावत तथा जथाभावी पार्किङका कारण सडक साँघुरिदा समस्या हुने गरेको उहाँको भनाइ छ । ट्राफिक व्यवस्थापन सहज बनाउन वडा कार्यालय तथा नगरपालिकासँग समन्वय गरी व्यावस्थापन गरिँदै आएको उहाँको भनाइ छ ।
दिनभरको गर्मी, धूलो, कोलाहल र हतारबाट थाकेका मानिसका लागि साँझपख भानुचोक भेटघाट र साथीभाइ रमाइलोको गफगाफ गर्ने ठाउँ बन्ने गरेको छ । सडकछेउका चिया पसल र फुटपाथमा राखिएका कुर्सीमा बसेर खाजा खाँदै गफिने सर्वसाधारणको दृश्य साँझपख सामान्य बनेको छ ।
चोकमा साँझपख युवाको जमघट बढ्ने गरेको छ । कोही मोबाइलबाट भिडियो खिचिरहेका हुन्छन्, कोही फोटो खिच्दै रमाइरहेका हुन्छन् भने कोही गीत गाएर मनोरञ्जन गरिरहेका देखिन्छन् । झिलीमिली बत्तीले उज्यालिएको चोक आफैँमा मनमोहक देखिन्छ ।
धरान उपमहानगरपालिका–२ धरानको मुख्य बजार भानुचोक व्यापारिक चहलपहलको केन्द्र मात्र नभई ऐतिहासिक महत्व बोकेको स्थान पनि हो । धरान–२ का स्थानीय बिर्खलाल तामाङ भन्नुहुन्छ, “चोकमा भानुभक्त आचार्यको शालिक राखिएका कारण यस स्थानको नाम भानुचोक रहन गएको हो ।”
चोकमा भानुभक्तको सालिक छ । जनआन्दोलनका बेला नाराबाजी, ¥याली तथा राजनीतिक र साहित्यिक गतिविधिका लागि चोक प्रमुख स्थल जस्तै थियो । “केही दशकअघि सम्म भानुचोकको आसपास क्षेत्रमा टिनले बेरेका साना घर मात्रै थिए । जहाँ चिया पसल थिए । चिया पिउँदै राजनीतिक तथा सामाजिक विषयमा छलफल गर्ने चलन थियो । त्यतिबेला अहिले जस्तो ठेलामा खाजा बेच्ने प्रचलन नै थिएन,” उहाँ सम्झनुहुन्छ ।
भानुचोकको इतिहाससँगै यसको स्वरूप पनि समयक्रममा बदलिँदै गयो । धरानमा लामो समयदेखि पत्रपत्रिका बिक्री गर्दै आउनु भएका ७५ वर्षीय कृष्णभक्त श्रेष्ठ भन्नुहुन्छ, “विगतको तुलनामा अहिले चोक फेरियो ठूला ठूला घर बने मानिस र सवारीसाधनको चाप उल्लेख्य बढ्दै गयो ।”
विसं २०४५ को भूकम्पपछि हङकङ र मकाउमा रहेका नेपालीको पहलमा रु ५६ लाखको लागतमा भानुचोकको छेवैमा घण्टाघर निर्माण सुरु भयो । विसं २०४८ मा निर्माण सम्पन्न भएको घण्टाघरले यस क्षेत्रको पहिचान थप स्थापित गर्न सहयोग पु¥याएको श्रेष्ठले बताउनुभयो । घण्टाघर बनेपछि चोकको रौनक बढ्न थाल्यो । वरपर व्यापारिक गतिविधि बढे र सहरको चहलपहल पनि यही क्षेत्रमा केन्द्रित हुन थाल्यो ।
दैनिक हजारौँ मानिसको आवतजावत हुने भानुचोक धरानका विभिन्न स्थान तथा बाहिरी जिल्लातर्फ जाने सवारीसाधनका लागि प्रमुख केन्द्र हो । “पहिले पत्रिका बेच्न धरानको छाताचोकतिर जानुपथ्र्यो, अहिले बिहानदेखि साझँसम्म भानुचोकमै ग्राहक भेटिन्छन् । पहिलेको तुलनामा अहिले यहाँ मानिसको चाप र चहलपहल निकै बढेको छ” उहाँले भन्नुभयो । साँझपख ठेला तथा साना व्यवसायमा हुने चहलपहलले स्थानीय आर्थिक गतिविधि बढाउन र साना व्यवसायीको जीविकोपार्जनमा सहयोग पु¥याएको सुनसरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष किसन मास्केको भनाइ छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |