
दमौली (तनहुँ), २८ असोजः गत आर्थिक वर्षको स्वीकृत वार्षिक विकास कार्यक्रममा समावेश भएका तनहुँका केही आयोजना विभिन्न प्राविधिक, प्रशासनिक तथा बजेटसम्बन्धी समस्याका कारण कार्यान्वयनमा आउन सकेका छैनन् ।
बजेट रोक्का, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अभाव, सडकको ग्रेड तथा रेखाङ्कन मिलाउनुपर्ने समस्या र आवश्यक संरचनाको स्वरूप परिवर्तन गर्नुपर्ने अवस्थाका कारण पूर्वाधार विकास कार्यालयका केही आयोजना अघि बढाउन कठिन भएको हो ।
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर किरण श्रेष्ठले स्वीकृत वार्षिक विकास कार्यक्रममा परेका केही आयोजना कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । कतिपय आयोजनामा बजेट उपलब्ध हुन नसकेको, कतिपयमा प्राविधिक तयारी पूरा नभएको तथा केही आयोजनामा स्थलमै देखिएका समस्याका कारण काम अघि बढाउन नसकिएको उहाँले बताउनुभयो ।
देवघाट गाउँपालिका–५ स्थित रेडक्रस मार्ग र भानु नगरपालिका–९ तथा १० स्थित चितीखोला–सुकेधारा मोटरबाटो निर्माण तथा स्तरोन्नति आयोजना बजेट रोक्का भएका कारण कार्यान्वयनमा आउन सकेनन् ।
यी आयोजनाका लागि गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट बजेट रोक्का भएपछि कार्यालयले प्रक्रिया अघि बढाउन नसकेको जनाएको छ । स्वीकृत कार्यक्रममा समावेश भए पनि बजेट नै कार्यान्वयन गर्न सक्ने अवस्था नभएपछि आयोजना अघि बढाउन समस्या भएको हो ।
विशेषगरी चितीखोला–सुकेधारा मोटरमार्ग भानु नगरपालिका–९ र १० का बस्ती तथा क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण आयोजना भए पनि बजेट रोक्काका कारण निर्माण तथा स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको कार्यालयले जनाएको छ ।
ऋषिङ गाउँपालिका–८ र ५ जोड्ने सिन्धुस खोला ट्रस ब्रिज पनि कार्यान्वयन हुन नसकेको आयोजनामध्ये एक हो । इन्जिनियर श्रेष्ठका अनुसार आयोजना अघि बढाउने समयमा आवश्यक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार नभएको कारण कार्यान्वयन गर्न कठिन भएको हो । पुल निर्माणका लागि आवश्यक प्राविधिक अध्ययन, डिजाइन तथा लागत अनुमानलगायतका आधारभूत प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्कालै निर्माण कार्य अघि बढाउन नसकिएको उहाँले बताउनुभयो ।
स्थानीय तहका दुई वडालाई जोड्ने उक्त पुल निर्माण हुन सकेमा स्थानीयको आवतजावत सहज हुनाका साथै सडक सञ्जाल विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो ।
भानु नगरपालिका–७ स्थित कार्की गाउँदेखि गौलीगाउँ मोटरबाटो प्राविधिक तथा जग्गासम्बन्धी समस्याका कारण कार्यान्वयनमा आउन सकेन । हाल सञ्चालनमा रहेको बाटोको ग्रेड उच्च रहेको र सडकलाई आवश्यक मापदण्डअनुसार निर्माण गर्न रेखाङ्कन परिवर्तन गर्नुपर्ने अवस्था देखिएको कार्यालयले जनाएको छ ।
सडकको ग्रेड सुधार गर्न रेखाङ्कन परिवर्तन आवश्यक भए पनि त्यसका लागि आवश्यक जग्गा व्यवस्थापन तथा स्थानीयस्तरमा देखिएको समस्या समाधान नभएसम्म निर्माण अघि बढाउन सक्ने अवस्था नरहेको कार्यालयको भनाइ छ ।
भानु नगरपालिका–९ र १० स्थित फ्याउसे–कटुवा चितीखोलामा कल्भर्ट निर्माण गर्ने योजना स्वीकृत कार्यक्रममा रहे पनि कार्यान्वयन हुन सकेन । कार्यालयका अनुसार उक्त स्थानमा निर्माण गर्न प्रस्ताव गरिएको कल्भर्टका लागि आवश्यक स्पान बढी देखिएपछि सामान्य कल्भर्टभन्दा सडक पुल निर्माण गर्नुपर्ने भएको हो ।
त्यसैगरी, भानु नगरपालिका–४ स्थित धनञ्जय मार्ग स्तरोन्नति आयोजना पनि कार्यान्वयन हुन नसकेको आयोजनाको सूचीमा परेको छ ।
पूर्वाधार विकास कार्यालयले वार्षिक कार्यक्रममा आयोजना समावेश गर्नु मात्रै पर्याप्त नभई त्यसको कार्यान्वयनका लागि आवश्यक बजेट, डिपिआर, जग्गा व्यवस्थापन, प्राविधिक अध्ययन तथा स्थलको वास्तविक अवस्था सुनिश्चित हुनुपर्ने जनाएको छ ।
इन्जिनियर श्रेष्ठका अनुसार आयोजना कार्यान्वयनका क्रममा देखिने यस्ता समस्या समयमा नै समाधान हुन नसक्दा बजेट विनियोजन भए पनि निर्माण कार्य सुरु गर्न कठिन हुने गरेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |