
ललितपुर, १२ मङ्सिरः ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न लागेको छ ।
उक्त अस्पताल र भारतको मेदान्ता–गुरुग्रामबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको अवसरमा आज यहाँ आयोजित ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबरेसन’ मा उपचारका नविनतम पद्धति र प्रविधिका बारे भएको समीक्षामा सो जानकारी दिइएको हो ।
कार्यक्रममा भारतको मेदान्ता ग्रुप अफ हस्पिटलका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा नरेश त्रेहानले किस्ट अस्पतालमार्फत मुटु र छातीसम्बन्धी शल्य चिकित्साका आधुनिक प्रविधि, उपचार पद्धति र पछिल्ला उपलब्धिबारे ज्ञान, सीप तथा अनुभव आदानप्रदान गरिने जानकारी दिनुभयो ।
स्वास्थ्य सेवामा कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिको प्रयोगले उपचार पद्धतिमा महत्वपूर्ण परिवर्तन ल्याएको जनाउँदै उहाँले एआई चिकित्सकको विकल्प नभई रोग पहिचान, उपचार योजना, शल्यक्रियाको तयारी र उपचार प्रक्रियालाई प्रभावकारी बनाउने महत्वपूर्ण औजार भएको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा अरविन्द कुमारले छाती शल्य चिकित्सासम्बन्धी आधुनिक प्रविधि र उपचार पद्धतिबारे प्रस्तुति दिनुभयो ।
किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले मेदान्तासँगको सहकार्यले नेपालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, आधुनिक र प्रविधिमैत्री बनाउन सहयोग पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले पहिलो बाल कलेजो प्रत्यारोपण गर्न सफल भएको छ । अस्पतालले आगामी दिनमा मेदान्ताको प्राविधिक तथा शैक्षिक सहयोगमा मुटु–फोक्सो प्रत्यारोपणको सेवा विस्तार गर्न लागेको जानकारी दिइयो । दुवै अस्पतालबीच स्वास्थ्य सेवाका क्षेत्रमा हुने सहकार्यले जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ परामर्श लिन भारत जानुपर्ने बाध्यता, समय र खर्च न्यूनीकरणमा सहयोग पुग्ने अस्पतालको भनाइ छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |