
काठमाडौँ, ३ मङ्सिरः विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सिबीएस)को परीक्षण गरिने भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा मङ्सिर ४ गते काठमाडौँको बलम्बु क्षेत्रमा उक्त प्रणालीको सीमित प्राविधिक परीक्षण गर्न लागिएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।
परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका परीक्षण उपकरणहरूमा मोबाइल नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ । उक्त सन्देश परीक्षणका लागि तोकिएका मोबाइल उपकरणमा मात्र प्राप्त हुने जनाइएको छ ।
यस परीक्षणको मुख्य उद्देश्य विपद्का समयमा मोबाइल फोनमार्फत पूर्वसूचना सन्देश प्रवाह गर्ने प्रणालीको प्राविधिक कार्यक्षमता तथा सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गर्नु रहेको छ ।
सेल ब्रोडकास्टिङ प्रणाली निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पठाउन सकिने प्रविधि हो । यस प्रणालीमार्फत सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुनसक्छ ।
सामान्य म्यासेजभन्दा फरक यस प्रविधिले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा समेत छोटो समयमा धेरै मोबाइल उपकरणमा सूचना पु¥याउन सक्छ । साथै, विपद्को जोखिम रहेको निश्चित क्षेत्रमा मात्र सन्देश पठाउन सकिने भएकाले आवश्यकताअनुसार लक्षित समुदायलाई सचेत गराउन सकिनेछ ।
प्रारम्भिक परीक्षण सफल भएमा उक्त प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै विपद्को उच्च जोखिम रहेका क्षेत्रहरूमा कार्यान्वयन गर्ने योजना रहेको छ । यस प्रणालीको कार्यान्वयनले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी र सुरक्षात्मक उपाय अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालमा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा दूरसञ्चार प्रविधिको उपयोगमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्ने दिशामा यो परीक्षणलाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |