
कञ्चनपुर, ३ मङ्सिरः परम्परागत रुपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् ।
अन्य बालीको तुलनामा दोब्बर आम्दानी हुने भएपछि किसान उखु खेतीमा आकर्षित भएका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का धनसिंह ठगुन्नाले उखु खेतीबाट दोब्बर आम्दानी हुने देखिएको बताउनुभयो ।
“परम्परागत खेतीभन्दा उखु खेतीमा राम्रो प्रतिफल आउने भएपछि तीन जना मिलेर जग्गा भाडामा लिएका छाँै । व्यवसायिक रुपमा अगाडि बढेका छौँ,” उहाँले भन्नुभयो, “उखु खेतीमा कम मेहनत र लगानीमा राम्रो प्रतिफल आउँछ ।”
उहाँले उखु खेतीबाट उत्पादन लिन सके बजारको समस्या नहुने र एकै पटक राम्रो प्रतिफल लिन सकिने भएकाले उखु खेतीमा लागेको बताउनुभयो । दुई बिघा जग्गाबाट खेती सुरु गर्नुभएका उहाँले अहिले १२ बिघा जग्गा भाडामा लिएर उखु खेती गरिरहेको बताउनुभयो । “पहिलो सिजनमा सबै खर्च कटाएर प्रतिबिघा रु एक लाख बराबरको आम्दानी हुन्छ,” ठगुन्नाले भन्नुभयो, “उखुखेती एक पटक रोपाइँ गरेपछि लगातार तीन सिजनसम्म उत्पादन लिन सकिन्छ ।”
उहाँका अनुसार पहिलो वर्ष उखु रोपेपछि त्यसको जराबाट पलाउने मुनाबाट दोस्रो र तेस्रो सिजनमा पनि उत्पादन लिन सकिने भएकाले हरेक वर्ष नयाँ रोपाइँ गर्नुपर्ने झन्झट हुँदैन । त्यसबाट खेतीको लागत घटाउनाका साथै आम्दानी बढाउन सहयोग पुगेको उहाँको भनाइ छ ।
उत्पादन गरेको उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुने गरेको छ । मिलले उखु किसानलाई प्रोत्साहन गर्दै बीउ र कीटनाशक औषधी उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो । “धान गहुँबाट एक बिघामा सबै खर्च कटौती गरेर बढीमा रु ४० हजारसम्म आम्दानी हुन्छ,” ठगुन्नाले भन्नुभयो, “उखु खेतीमा एक विघामा राम्रो उत्पादन भए सबै खर्च कटौती गरेर रु तीन लाखसम्म आम्दानी गर्न सकिन्छ ।” उहाँले प्रति कट्ठा वार्षिक रु दुई हजारका दरले १२ बिघा जग्गा भाडामा लिएर खेती गरिरहेको बताउनुभयो ।
स्थानीय किसान तारा महरा तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा लाग्नुभएको छ । “परम्परागत खाद्यान्नभन्दा उखुखेतीमा दोब्बर फाइदा हुने भएकाले यसमा लागेका हौँ,” उहाँले भन्नुभयो, “दुई बिघा जग्गामा बिक्रीका लागि तयार छ दश बिघा जग्गामा अहिले बीउ रोप्दै छौँ ।”
उहाँले सिजनमा २० देखि २५ जनासम्मले रोजगारी पाउने गरेको बताउनुभयो । कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार जिल्लामा पाँच हजार ६६० हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट वार्षिक तीन लाख ४५ हजार २६० मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । जिल्लामा उखुको उत्पादकत्व प्रतिहेक्टर ६१ मेट्रिक टन बराबर छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |