
नारायणगढ (चितवन), १४ कात्तिकः नारायणी नदीमा मोटरबोट चढ्ने पर्यटकको आकर्षण घट्दै गएपछि व्यवसायीले सञ्चालनको परम्परागत शैली परिवर्तन गरी नयाँपन दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
नारायणी नदीमा विगतका वर्षमा मोटरबोट चढ्न पर्यटकको भीड लाग्ने गरे पनि पछिल्लो समय आकर्षण घट्दै गएको व्यवसायीको अनुभव छ । मोटरबोट सञ्चालन हुने अन्य पर्यटकीय गन्तव्य विस्तार हुँदै जानु, नारायणी नदीको धार परिवर्तन हुनु र बाढीका कारण नदीको अवस्था फेरिनुले पनि व्यवसाय प्रभावित भएको उनीहरूको तर्क छ ।
नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले पर्यटकको बदलिँदो रुचिअनुसार मोटरबोट सञ्चालनमा नयाँ शैली र विविधता अपनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको परम्परागत शैलीबाट मात्रै पर्यटकलाई लामो समय आकर्षित गर्न नसकिने भएकाले सेवामा नयाँपन दिनुपर्नेमा जोड दिनुभयो ।
“हाल हामीले जुन तरिकाले सुरुदेखि मोटरबोट सञ्चालनमा ल्याएका छौँ, त्यो पुरानो तरिका भयो । अब ‘अपग्रेड’ हुनुपर्दछ,” उहाँले भन्नुभयो, “मानिस विभिन्न ‘भेराइटी’ खोज्न थालेका छन् । एकपटक चढेपछि फेरि चढ्न पनि मन नगर्ने हुन सक्छ ।”
उहाँका अनुसार पहिले नारायणी नदीमा मात्रै मोटरबोट सञ्चालन हुने गरेकामा पछिल्लो समय अन्य तालतलैयामा यस्तो सेवा विस्तार भएको छ । पर्यटकलाई नयाँ अनुभव प्रदान गर्न नसके व्यवसायमा चुनौती थपिन सक्ने उहाँको भनाइ छ । त्यसैले मोटरबोट सञ्चालनलाई व्यवस्थित बनाउँदै फरकफरक सुविधा र अनुभव प्रदान गर्ने विषयमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुनुभन्दा फरकफरक प्रकारका मोटरबोट सञ्चालनमा ल्याई पर्यटकलाई नयाँ अनुभव प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।
नारायणी नदीमा मोटरबोट सञ्चालन गर्ने ११ वटा कम्पनी दर्ता भएकामा हाल नौवटा कम्पनीका बोट सञ्चालनमा रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार हाल तीनवटा ठूला र १५ वटा साना गरी १८ वटा मोटरबोट सञ्चालनमा आउने गरेका छन् । नदीमा एकपटक घुम्न प्रतिव्यक्ति रु २५० शुल्क लाग्ने गरेको छ ।
चाडपर्वको अवसरमा केही व्यवसायीले मोटरबोट सञ्चालन गरे पनि नियमित रूपमा पूर्ण क्षमतामा सञ्चालनमा आइनसकेको उहाँले बताउनुभयो । बाढीको त्रास अझै कायम रहेकाले व्यवसायीले सावधानी अपनाउँदै मोटरबोट सञ्चालन गरिरहेको उहाँको भनाइ छ । मोटरबोटलाई सामान्य रूपमा परीक्षण गरी निश्चित मार्गमा सञ्चालन गर्न थालिए पनि नारायणी पुलमुनिबाट लैजान भने अनुमति नदिइएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच, नारायणी नदीमा मोटरबोट सञ्चालन गर्दै आएका व्यवसायीले पर्यटकको आगमन घट्दा सञ्चालन खर्च जुटाउन कठिन भएको बताएका छन् ।
नारायणी नदीमा आयुस्मा मोटरबोट सञ्चालन गर्दै आउनुभएका विजयचन्द्र अधिकारीले गत वर्षको तुलनामा यस वर्ष व्यापार १० प्रतिशत पनि नरहेको बताउनुभयो । दसैँको समयमा नारायणगढमा पर्यटकको चहलपहल नदेखिएको उहाँको भनाइ छ ।
गत वषको तुलनामा यस वर्ष नदीको अवस्था परिवर्तन र पर्यटकको आगमनमा आएको कमीले व्यवसाय प्रभावित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्षभन्दा नदी धेरै घटेको छ अहिले । अहिले साँघुरो बनाइदिएको छ । अब यो चैत–वैशाखतिर हेर्ने हो भने चलाउनै मिल्दैन ।”
अधिकारीका अनुसार विगतमा नारायणी नदीमा मोटरबोट चढ्न आन्तरिक पर्यटकको भीड लाग्ने गरे पनि अहिले चहलपहल घट्दै गएको छ ।
नारायणी नदीमा आएको बाढीका कारण नदीकिनारका केही भाग कटानमा परेका छन् । बाढीको त्राससमेत पूर्ण रूपमा नहटिसकेकाले तत्काल पर्यटकको आगमन बढ्न कठिन भए पनि नदीकिनारको अवस्था क्रमशः सहज बन्दै गएसँगै मोटरबोट व्यवसायमा चहलपहल बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् । –––स

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |