
भद्रपुर (झापा), १४ कात्तिकः श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहनुभएकी शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ ।
नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहनुभएकी उहाँले अब एकल महिला भत्ता पाउने हुनुभएको छ । श्रीमान् शंकर ऋषिदेवको मृत्युपछि पार्वतीको जीवन थप कष्टकर बनेको थियो । आर्थिक अवस्था कमजोर हुनुका साथै नागरिकता नहुँदा उहाँ सरकारी सेवा सुविधाको पहुँचबाट बाहिर रहनुभएको थियो । दैनिक जीवनयापनका आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भोग्दै आउनुभएको थियो ।
नागरिकता प्राप्तीपछि खुसी हुँदै पार्वतिले भन्नुभयो, “नागरिकता नहुँदा धेरै समस्या थियो । अहिले नागरिकता बनेको छ, भत्ता पनि पाउने भएँ । मोबाइलसमेत पाएकी छु । अब घर पनि बनाइदिने भन्नुभएको छ, यसले मलाई धेरै खुसी लागेको छ ।”
उहाँको अवस्थाबारे जानकारी पाएपछि शिवसताक्षी नगरपालिका–८का वडाध्यक्ष सन्तकुमार फेउदिनले नागरिकता बनाउन पहल गर्नुभएको थियो । उहाँकै पहलमा पार्वतीले शत्रबार वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गर्नुभएको हो । त्यसपछि वडा कार्यालयले एकल महिला सामाजिक सुरक्षा परिचयपत्र बनाइदिएको छ । अब उहाँले चालु आर्थिक वर्षको कात्तिकदेखि मासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुहुनेछ ।
वडा सचिव पुष्पलाल पाण्डेले सामाजिक सुरक्षा परिचयपत्र उहाँकै घरमा पु¥याइदिनुभएको छ । कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुन सक्ने अवस्थालाई ध्यानमा राखेर घरमै परिचयपत्र पु¥याइएको उहाँले बताउनुभयो ।
नागरिकता र सामाजिक सुरक्षा भत्ताको पहुँच खुले पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन । सुरक्षित आवास नभएकी उहाँका लागि आगामी मङ्सिरदेखि घर निर्माण गरिदिने प्रतिबद्धता वडाध्यक्ष फेउदिनले जनाउनुभएको छ ।
“नागरिकता, सामाजिक सुरक्षा र मोबाइल फोनको व्यवस्था गरेपछि पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन । उहाँलाई सुरक्षित रूपमा बस्न मिल्ने घरको आवश्यकता छ । त्यसैले मङ्सिरदेखि घर निर्माणको काम अघि बढाउने योजना बनाएको छु,” उहाँले भन्नुभयो ।
वडाध्यक्ष फेउदिनले आफ्नो वडाका आर्थिक रूपमा विपन्न, अपाङ्गता भएका तथा उपचार र दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई व्यक्तिगत पहलमा सहयोग गर्दै आउनुभएको बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |