
ख्वप (भक्तपुर), ९ कात्तिक : हिजोआज भक्तपुरमा फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान सुकाएको ।
दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीमा घर अगाडि, सडक किनार तथा खाली ठाउँमा धान सुकाउने पुरानो चलन यतिखेर देख्न सकिन्छ । आधुनिक घर, बदलिँदो जीवनशैली र प्रविधिको विकाससँगै धेरै कुरा परिवर्तन भए पनि भक्तपुरमा धान सुकाउने यो पुरानो चलनले बटुवाहरुलाई भने समस्या परेको छ ।
धान काटेर भित्र्याएउने समय सुरु भएसँगै भक्तपुरका किसानलाई धान सुकाउने, केलाउने र भण्डारण गर्न यतिखेर भने चटारो छ । विशेषगरी दसैँ तिहारको समयमा भक्तपुरका विभिन्न टोलका सडक तथा खुला ठाउँमा धान सुकाइरहेको देख्न सकिन्छ ।
सडकमा सुकाएको धानले यहाँको कृषि परम्परा, स्थानीय जीवनशैली र संस्कृतिलाई झल्काउँछ । भक्तपुरमा धान सुकाउँदै गर्नुभएकी मनिषा मचामसीका अनुसार दसैँ तिहारको समय बाटोमा धान सुकाउने दृश्य यहाँका लागि नयाँ नभएको बताउनुभयो ।
पहिले भक्तपुरका अधिकांश घरमा झिँगटीको छाना हुने भएकाले घरको कौसीमा धान सुकाउन सम्भव नभएको उहाँले बताउनुभयो । त्यसैले किसानले सडक, घर अगाडिको खुला ठाउँ तथा उपलब्ध खाली स्थानमा धान सुकाउने गरेको उहाँले बताउनुभयो ।
झिँगटीको छाना हुने भएकाले सबैले खुला ठाउँमै धान सुकाउने गर्थे, उहाँले भन्नुभयो, “अहिले ढलान गरेका घर बनेका, कौशी भएका घरमा कतिपयले त्यहीँ धान सुकाउने गरेको उहाँले बताउनुुभयो ।
भक्तपुरको परम्परागत बस्तीमा घरहरू एकअर्कासँग जोडिएका र खुला ठाउँ सीमित रहेकाले सडक नै धान सुकाउने महत्त्वपूर्ण स्थानका रूपमा प्रयोग हुँदै आएको छ ।
घाम लागेका बेला धान फिँजाएर सुकाउने र घाम अस्ताउन थालेपछि उठाएर सुरक्षित राख्ने चलन अझै कायम छ । स्थानीय राजमति कासिछ्वाका अनुसार पहिले सडकमा धान सुकाउनसमेत पालो कुर्नुपर्ने अवस्था थियो । घरमा उत्पादन भएको धान सुकाउनका लागि उपयुक्त खुला ठाउँ पाउनु सजिलो थिएन ।
धान चोरी हुने डरले राति धानको थुप्रो कुरेर बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । राति धान चोरी होला भन्ने डर हुन्थ्यो । त्यसैले राति धानको थुप्रोसँगै सुत्ने गरेका छौँ, उहाँले भन्नुभयो । अहिले भने धान उत्पादन र सुकाउनुपर्ने परिमाण घट्दै गएको छ ।
सडक आसपासमा सिसी क्यामेरा जडान हुन थालेकाले धान कुरेर रात बिताउनुपर्ने अवस्था कम भएको छ । धान सुकाउने तरिका समयसँगै परिवर्तन भएको छ । पहिले सडकमा धान सुकाउनुअघि रातोमाटोले लिप्ने चलन थियो ।
सडकको सतह सफा गरी रातोमाटोले लिपेर त्यसैमाथि धान फिँजाउने गरिन्थ्यो । अहिले भने धान सफा राख्न बोरा, प्लास्टिक वा त्रिपाल ओछ्याएर सुकाउने चलन बढेको छ ।
सडकमा धान सुकाउँदा पैदलयात्रु तथा सवारीसाधनको आवागमनमा भने असहज हुने गरेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |