Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

आलेखः माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन ।
रासस ३७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १ कात्तिकः दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन ।

विशेषगरी माइती र मावलीबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र नयाँ पुस्तालाई पारिवारिक संस्कारसँग जोड्ने माध्यमका रूपमा दसैँको विशेष महत्व छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा दसैँ विभिन्न समुदायले आ–आफ्नै परम्परा र शैलीमा मनाउँछन् । असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र शक्तिको आराधनासँग जोडिएको यो पर्वले आपसी सद्भाव, सम्मान र सामाजिक एकताको सन्देशसमेत दिन्छ । समय क्रममा सहरीकरण, बसाइँसराइ, वैदेशिक रोजगारी र प्रविधिको विस्तारले दसैँ मनाउने शैलीमा परिवर्तन ल्याए पनि पारिवारिक आत्मीयता र सम्बन्धको महत्व भने उत्तिकै छ ।

धार्मिक मान्यताअनुसार देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणमाथि विजय हासिल गरेको प्रसङ्गसँग दसैँ जोडिएको छ । घटस्थापनाबाट सुरु हुने नवरात्रका धार्मिक अनुष्ठान र विजयादशमीमा टीका तथा जमरा ग्रहण गर्ने परम्पराले यसको धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्छ । घटस्थापनाका दिन जौलगायत अन्नका बीउ छरेर जमरा उमार्ने चलनले कृषि जीवन, प्रकृति र उर्वरतासँगको सम्बन्धलाई पनि अभिव्यक्त गर्छ ।

त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका पूर्वप्रमुख डा सोमप्रसाद खतिवडा दसैँ नेपाली समाजको पहिचानसँग जोडिएको राष्ट्रिय पर्व भएको बताउनुहुन्छ । उहाँका अनुसार चाडपर्वका आफ्नै सांस्कृतिक र वैज्ञानिक पक्ष हुन्छन् । समयसँगै मनोरञ्जनका साधन र मनाउने शैली फेरिए पनि परम्पराले समाजलाई जोड्ने काम गरिरहेको छ ।

“नेपाली भनेर चिन्ने आधारमध्ये चाडबाड पनि हो । दसैँ नेपालीको पहिचानसँग जोडिएको छ । राज्यका तर्फबाट यसपर्वमा ठूलो लगानी हुन्छ । शक्तिपीठमा पूजा तथा बलि दिने र गुठीबाट अनुदान प्रदान गर्ने परम्परा पनि यससँग सम्बन्धित छन्”, उहाँ भन्नुहुन्छ, “नेपाली समाजमा बडा दसैँको विशेष महत्व छ । विगतमा विशेष महत्व थियो । अहिले मनोरञ्जनका माध्यम र साधन थपिए । मनाउने वर्ग छ । नमनाउने वर्गले पनि यो वा त्यो रुपमा मनाएको छ”, डा खतिवडा भन्नुहुन्छ, “चाडपर्व चली आएका हाम्रा परम्परा हुन् । नेपाली भनेर जान्ने नै चाडबाड हो । दसैँ भनेपछि नेपालीको पहिचान भयो । राज्यकोतर्फबाट ठूलो लगानी छ । शक्तिपीठमा बलि दिने चलन नै छ । गुठीले अनुदान दिन्छ । अझ यसपर्वको सांस्कृतिक पक्षमा कृषि जीवनको प्रभाव पनि देखिन्छ ।”

दसैँको अर्को महत्वपूर्ण पक्ष कृषि संस्कृतिसँग यसको सम्बन्ध हो । परम्परागत नेपाली समाजमा खेतीपातीको काम सकेपछि चाडपर्व मनाउने चलन थियो । अन्न उत्पादन, सामूहिक श्रम र प्रकृतिप्रतिको निर्भरताले मानिसको जीवनशैली निर्धारण गर्ने समयमा दसैँले परिवार र समुदायलाई एकैठाउँमा ल्याउँथ्यो । अहिले कृषि जीवनको स्वरूप फेरिए पनि जमरा राख्ने र विजयादशमीमा त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्पराले पुरानो सांस्कृतिक स्मृतिलाई निरन्तरता दिएको छ ।

भाषाविद् तथा साहित्यकार डा बलदेव अधिकारीका अनुसार दसैँले विशेषगरी माइती, मावली र अन्य नातेदारबीचको सम्बन्धलाई जीवन्त राख्ने काम गर्छ । विगतमा रोजगारीका लागि लाहुर गएकाहरू पनि दसैँ मनाउन घर फर्कने गरेको स्मरण गर्दै उहाँले विभिन्न समुदायमा टीका लगाउने चलन र आशीर्वाद दिने परम्परा फरक भए पनि पारिवारिक सम्बन्धको महत्व समान रहेको बताउनुभयो ।

“दसैँ सबै जातिको पर्व हो । यसले माइती र मावलीको सम्बन्धलाई प्रगाढ बनाउँछ । पहिले लामो समय तयारी गरेर सरसामान जुटाई दसैँ मनाइन्थ्यो । आफन्तकहाँ जाने, टीका लगाउने र आशीर्वाद लिने चलनले कुटुम्ब सम्बन्धलाई निरन्तरता दिन्थ्यो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार पहिले बरखी बार्ने परिवारका सदस्यबाहेक अन्य छोराछोरीसमेत मामाघर गएर टीका लगाउने गर्थे । अहिले भने नातागोतामा जुठो वा सुतक परेका विषयलाई लिएर कतिपयले चाडपर्व मनाउनै छाड्ने गरेको तथा आर्थिक क्षमता हुँदाहुँदै पनि आफन्तकहाँ जाने र टीका लगाउने परम्परालाई झन्झट मान्ने प्रवृत्ति देखिएको छ । दक्षिणा र खर्चको प्रतिस्पर्धाले चाडपर्वको आत्मीय पक्ष कमजोर हुनसक्ने उहाँको चिन्ता छ ।

“पहिले दसैँका लागि लामो समयदेखि तयारी गरिन्थ्यो । अहिले पैसा भए रोजै मासु खाने र दक्षिणामा प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेको छ । दसैँको वास्तविक महत्त्व खर्च र प्रदर्शनमा होइन, सम्बन्ध र परम्परामा छ”, उहाँले भन्नुभयो ।

डा अधिकारीका विचारमा सहरीकरण र बसाइँसराइका कारण परिवारका सदस्य विभिन्न स्थानमा छरिनु, कोही विदेशमा रहनु र कोही गाउँमै बस्नुले पारिवारिक भेटघाटको स्वरूप बदलिएको छ । दसैँको ऐतिहासिक तथा सांस्कृतिक महत्व नयाँ पुस्तालाई बुझाउन शिक्षा प्रणालीमा यस विषयलाई समेट्नुपर्ने उहाँको सुझाव छ ।

परम्परागत नेपाली समाजमा दसैँ सामूहिक सहभागिताको पर्व पनि थियो । गाउँघरमा पिङ हाल्ने, छरछिमेकसँग भेटघाट गर्ने, सामूहिक मनोरञ्जन गर्ने र स्थानीय मेलामा सहभागी हुने अभ्यासले सामाजिक सम्बन्धलाई बलियो बनाउँथ्यो । परिवारका ज्येष्ठ सदस्यको सम्मान, बालबालिकाप्रतिको स्नेह र आफन्तबीच सहयोग आदानप्रदान गर्ने परम्पराले समुदायमा अपनत्वको भावना विकास गथ्र्यो । तर अहिले संयुक्त परिवारको स्थानमा एकल परिवारको विस्तार, रोजगारी तथा अध्ययनका लागि विदेश जाने प्रवृत्ति र सीमित बिदाका कारण दसैँ मनाउने समय र तरिका बदलिएको छ । पहिले लामो समय आफन्तसँग बसेर मनाइने पर्व अहिले कतिपय परिवारमा छोटो भेटघाटमा सीमित हुन थालेको छ । यद्यपि, विदेशमा रहेका आफन्तसँग भिडियो कलमार्फत सम्पर्क गर्ने र सामाजिक सञ्जालबाट शुभकामना आदानप्रदान गर्ने चलनले भौगोलिक दूरीका बाबजुद सम्बन्ध कायम राख्न सहयोग पु¥याएको छ ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका महासचिव डा कृष्ण सुवेदी (भारद्वाज मित्र) संस्कृतिका सकारात्मक पक्षलाई संरक्षण गर्दै समय अनुकूल सुधार गर्नु आवश्यक रहेको बताउनुहुन्छ । उहाँका अनुसार चाडपर्वलाई अनावश्यक खर्च, ऋणको बोझ र देखावटी प्रतिस्पर्धाको माध्यम बनाउनुको सट्टा आत्मीयता, सहयोग र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने अवसरका रूपमा विकास गर्नुपर्छ ।

प्रगतिशील लेखक सङ्घका कोषाध्यक्षसमेत रहनुभएका डा सुवेदी सांस्कृतिक विविधतालाई विभाजनको आधार नभई आपसी सम्मान र साझा समृद्धिको स्रोतका रूपमा लिनुपर्ने धारणा राख्नुहुन्छ । संस्कृतिका नाममा हुने विभेद र अमानवीय अभ्यास हटाउँदै समानता, सहअस्तित्व, स्वतन्त्रता र सामाजिक न्यायका मूल्यलाई बलियो बनाउनुपर्ने उहाँको जोड छ ।

दसैँको स्वरूपमा उपभोक्तावादी जीवनशैलीको प्रभाव पनि देखिएको छ । नयाँ लुगा, मीठा परिकार र उपहार आदानप्रदान परम्परागत रूपमा चाडपर्वका हिस्सा भए पनि महँगो किनमेल र अरूको देखासिकीले कतिपय परिवारमा आर्थिक दबाब सिर्जना गरेको छ । चाडपर्वको खुसी खर्चको आकारमा नभई सम्बन्धको न्यानोपन, सहयोग र पारिवारिक सन्तुष्टिमा निर्भर हुन्छ भन्ने चेतना आवश्यक छ ।

त्यस्तै, पशुबलि, जुवातास, मदिराको अत्यधिक प्रयोग र अनावश्यक खर्चजस्ता विषयमा समाजमा विभिन्न बहस हुने गरेका छन् । धार्मिक आस्था र सांस्कृतिक परम्पराको सम्मान गर्दै जिम्मेवार व्यवहार अपनाउनु तथा चाडपर्वलाई सामाजिक हितसँग जोड्नु आवश्यक छ । घरको सरसफाइ, परिकार तयारी र पाहुनाको सत्कारमा महिलामाथि मात्रै बढी जिम्मेवारी पर्ने अवस्थालाई पनि परिवर्तन गर्नुपर्छ । परिवारका सबै सदस्यको सहभागिता र घरायसी कामको न्यायोचित बाँडफाँटले पर्वलाई अझ समावेशी र उल्लासमय बनाउन सक्छ ।

दसैँको सांस्कृतिक महत्व जोगाउन यसको अर्थ र परम्पराबारे नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक छ । टीका र जमराको महत्त्व, देवी आराधनाको परम्परा, मान्यजनको सम्मान र माइती–मावलीसँगको सम्बन्धको मूल्यबारे परिवारमै संवाद गर्न सकिन्छ । स्थानीय कला, लोकगीत, मौलिक परिकार, पिङ र सामुदायिक भेटघाटलाई निरन्तरता दिँदा सांस्कृतिक मौलिकता संरक्षण गर्न सहयोग पुग्छ ।

दसैँले सिकाउने आत्मीयता, पारिवारिक एकता, आपसी सम्मान र सहयोगका मूल्य कुनै एउटा समुदायमा मात्र सीमित छैनन् । आर्थिक रूपमा कमजोर परिवार, ज्येष्ठ नागरिक र एक्लो जीवन बिताइरहेका व्यक्तिलाई सहयोग गर्ने अभ्यासले पर्वको सामाजिक महत्त्वलाई अझ गहिरो बनाउन सक्छ । आफ्ना परम्पराको संरक्षणसँगै अन्य समुदायका चाडपर्व र विश्वासप्रति सम्मान व्यक्त गर्नसके सामाजिक सद्भाव र राष्ट्रिय एकता पनि बलियो बन्न सक्छ ।

यसरी दसैँलाई धार्मिक अनुष्ठान र औपचारिक भेटघाटमा मात्र सीमित नराखी पारिवारिक सम्बन्ध सुदृढ गर्ने, सांस्कृतिक पहिचान जोगाउने र सामाजिक सद्भाव बढाउने अवसरका रूपमा लिन आवश्यक छ । माइती, मावली र आफन्तबीचको आत्मीयता कायम राख्दै परम्पराका सकारात्मक पक्षलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नसके दसैँको मौलिकता र सामाजिक महत्त्व पुस्तौँसम्म जीवन्त रहन सक्छ ।

  • काठमाडौँ
  • त्रिभुवन विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

  • माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

    माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

  • Post Thumbnail

    चितवनका कैदीबन्दीलाई दसैँको उत्साह छैन

  • Post Thumbnail

    बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब रु आठ लाख सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

    Post Thumbnail

    देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

    बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

    बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

    Post Thumbnail

    ‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution