
काठमाडौँ, १ कात्तिकः तत्कालीन समयमा पूर्वी नेपालका नागरिक आँखामा समस्या देखिए उपचार गर्न काठमाडौँ अथवा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो । उपचारका लागि लाग्ने खर्च, लामो यात्रा र काम छाडेर अस्पताल बस्नुपर्ने कठिनाइले विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारलाई थप पीडा पर्दथ्यो । अर्काेतर्फ समयमै उपचार नपाउँदा सामान्य समस्या पनि जटिल बन्ने र दृष्टि गुमाउनुपर्ने जोखिम पनि त्यत्तिकै रहन्थ्यो ।
यस्तो अवस्थालाई अन्त्य गर्दै पायक पर्ने स्थानमा आँखा उपचार सेवा दिने ध्येयले सिरहाको लहानमा सुरुआत गरिएको आँखा उपचार केन्द्र आँखाका बिरामीका लागि भरोसाको केन्द्र भएको छ । आँखा उपचार सेवा लिन अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गरिदिएको छ भने भारतबाट सेवा लिन आउने बिरामीको चाप दिनप्रतिदिन उच्च हुँदै गएको छ ।
सुरुआती दिनमा केन्द्रले आफ्नो सेवा १२ शय्याबाट थालनी गरेको थियो । स्थानीय समुदायको अपनत्व, अन्तरराष्ट्रिय सहयोग र नेपाल नेत्रज्योति सङ्घको निरन्तर पहलबाट अघि बढेको सगरमाथा चौधरी आँखा अस्पतालको सेवा पछिल्ला समय लहानमा मात्र सीमित रहेको छैन । विराटनगरसम्म विस्तार हुँदै यसले पूर्वी नेपालमा आँखा उपचार सेवाको पहुँच र स्वरूप परिवर्तन गर्न अब्बल साबित भएको छ ।
भौतिक पूर्वाधार, अत्याधुनिक चिकित्सकीय उपकरण, जनशक्तिका दृष्टिकोणले सगरमाथा चौधरी आँखा अस्पताल लहान र विराटनगरका आँखा अस्पतालले उत्कृष्ट बनेका छन् । स्थानीयवासीसँगको सहकार्य, स्वास्थ्य सेवाप्रतिको सामाजिक जिम्मेवारी, दक्ष जनशक्ति विकास र सर्वसाधारणसम्म उपचार पु¥याउन गरिएको लामो प्रयासबाट ती स्वास्थ्य सस्था खडा भएका थिए ।
यसरी थालनी भएको थियो लहानबाट
नेपालमा आँखा उपचार सेवालाई व्यवस्थित र सर्वसुलभ बनाउने उद्देश्यसहित नेपाल नेत्रज्योति सङ्घको स्थापना सन् १९७८ मा भएको थियो । तत्कालीन समयमा देशका विभिन्न क्षेत्रमा आँखासम्बन्धी रोगको पहिचान र उपचारका लागि आवश्यक स्वास्थ्य संस्था तथा विशेषज्ञ जनशक्तिको पर्याप्त उपलब्धता थिएन । सन् १९८२ मा क्रिस्टोफेल ब्लाइन्डेनमिसन (सिबिएम) र नेपाल नेत्रज्योति सङ्घबीच सहकार्यको आधार तयार भयो । सन् १९८३ मा, सिबिएमसँग आबद्ध चिकित्सक ए. हेनिङ्गका पहलमा लहानस्थित तत्कालीन रामकुमार शारदा उमाप्रसाद मुरारका सार्वजनिक जिल्ला अस्पतालमा १२ शय्याको आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको थियो । पूर्वी क्षेत्रमा आँखा उपचार सेवा विस्तार हुनुमा डा हेनिङ्गको योगदान उल्लेखनीय छ । उहाँले लहानमा निरन्तर ३० वर्षसम्म सेवा गर्दै आँखा उपचार सेवाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
सुरुआती दिनमा सीमित स्रोतसाधन र अस्थायी संरचनाबाट सेवा दिनु परे पनि बिरामीको चाप उच्च थियो । यसले क्षेत्रमा आँखा उपचार सेवाको आवश्यकता कति ठूलो थियो भन्ने स्पष्ट पार्दै लग्यो । बिरामीको बढ्दो चाप र विशेषज्ञ सेवाको मागअनुसार व्यवस्थित अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता देखियो । तर त्यसका लागि आवश्यक जग्गा र आर्थिक स्रोत जुटाउनु सहज थिएन ।
यही चरणमा स्थानीय समाजसेवी तथा समुदायका अगुवाहरूको सहयोग महत्त्वपूर्ण बन्यो । अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा छविलाल चौधरी, सरोवरलाल चौधरी र रवीन्द्रलाल चौधरीले निःशुल्क जग्गा उपलब्ध गराउने सहमति दिनुभयो । स्थानीय समुदायको यो योगदानले अस्पतालको संस्थागत विकासका लागि ऐतिहासिक आधार तयार ग¥यो । सिबिएमको आर्थिक एवं प्राविधिक सहयोगमा ५० श्ययाको सगरमाथा चौधरी आँखा अस्पतालको अत्याधुनिक पूर्वाधार तयार भयो ।
सन् १९८६ मा तत्कालीन राजा वीरेन्द्र शाहबाट अस्पताल भवनको शुभारम्भ गरिएको थियो । सानो उपचार केन्द्रबाट सुरु भएको सेवा व्यवस्थित अस्पतालका रूपमा विकास भएपछि लहान र आसपासका क्षेत्रका नागरिकले पायक पर्ने स्थानमै आँखा उपचार पाउने अवसर पाए । तर, बढ्दो बिरामी चापसँगै विशेषज्ञ सेवा र दक्ष जनशक्ति व्यवस्थापनका चुनौती पनि थपिँदै गयो ।
लहानको अनुभव विराटनगरसम्म
सगरमाथा चौधरी आँखा अस्पतालको सेवा विस्तार हुँदै गए पनि विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तिलाई नियुक्त गर्न र लामो समयसम्म सेवामा टिकाइराख्न कठिन भयो । उच्च शिक्षाका अवसर, अन्य स्वास्थ्य सेवा र सहरी सुविधाको सीमित उपलब्धताले जनशक्ति व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको थियो । यसलाई अन्त्य गर्ने क्रममा आँखा उपचार सेवालाई अर्को सहरसम्म विस्तार गर्ने अवधारणा अघि सारियो । अध्ययनपछि विशेषज्ञ जनशक्ति उपलब्ध हुने सम्भावना र सहरी सुविधाको पहुँच तुलनात्मक रूपमा राम्रो रहेको विराटनगरमा आँखा अस्पताल स्थापना गर्ने निर्णय गरियो । यसै क्रममा सन् २००६ सेप्टेम्बर १३ मा सगरमाथा चौधरी आँखा अस्पतालको शाखाका रुपमा विराटनगर आँखा अस्पताल स्थापना भयो । प्रारम्भमा पुरानो विमानस्थल नजिकै भाडाको भवनबाट सेवा सञ्चालन गरिएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालबाट प्राविधिक तथा प्रशासनिक सहयोग उपलब्ध गराइएको थियो । यसले नयाँ अस्पताललाई सेवा सञ्चालनको सुरुआती चरणमा आवश्यक सहयोग प्राप्त गर्न सहज बनायो ।
लहान आँखा तथा कान स्वास्थ्य प्रणालीका प्रमुख प्रशासक सुधीर ठाकुरका अनुसार, ८० श्ययाबाट सुरु भएको विराटनगर आँखा अस्पताल सन् २००९ सम्म आइपुग्दा ३०० शय्याको क्षमतामा विस्तार भएको थियो । बिरामीको बढ्दो चाप र सेवाको आवश्यकताले अस्पतालको विकासलाई तीव्र बनाएको थियो ।
यसै क्रममा नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल, सिबिएम, युरोपेली सङ्घ, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क तथा आन्तरिक स्रोतको सहयोगमा आधुनिक अस्पताल भवन निर्माण गरियो । सन् २०११ नोभेम्बर १५ मा तत्कालीन राष्ट्रपति डा रामवरण यादवबाट नयाँ भवनको शुभारम्भ भयो ।
यसरी लहानमा सुरुआत भएको आँखा उपचार सेवाको अनुभव र संस्थागत सहकार्यले विराटनगरमा थप क्षमतासहितको सेवा विस्तार गर्न सहयोग पु¥यायो । एउटा अस्पतालमा बढेको बिरामी चाप व्यवस्थापन गर्ने प्रयासबाट सुरुआत भएको विस्तारले पूर्वी नेपालका नागरिकका लागि थप उपचार अवसर सिर्जना ग¥यो ।
लहान र विराटनगरमा आँखा अस्पताल स्थापना हुनुको महत्व अस्पतालका भवन वा शय्यामा मात्र सीमित छैन । यसको अर्को महत्त्वपूर्ण पक्ष भनेको अस्पतालसम्म पुग्न कठिन हुने ग्रामीण क्षेत्रका नागरिकलाई समेत उपचारको दायरामा ल्याउने प्रयास हो ।
लहान आँखा तथा कान स्वास्थ्य प्रणालीले अस्पतालमा आउने बिरामीको उपचारसँगै समुदायस्तरमा सेवा विस्तार गर्न भूमिका खेलेको थियो । सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल, आँखा उपचार केन्द्र तथा समुदायमा आधारित गतिविधिमार्फत आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गरियो ।
निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर, विद्यालयमा बालबालिकाको दृष्टि परीक्षण, घरदैलो कार्यक्रम र जनचेतनामूलक गतिविधिले समुदायमा आँखासम्बन्धी समस्या पहिचान गर्न सहयोग पु¥याए । उपचार आवश्यक भएका बिरामीलाई अस्पतालसम्म जोड्ने प्रयास पनि यस्ता कार्यक्रमको महत्वपूर्ण हिस्सा बन्यो ।
विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने, अस्पतालसम्म पुग्न कठिनाइ हुने वा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने नागरिकका लागि समुदायस्तरका कार्यक्रम उपयोगी बने । अस्पतालको क्षमता विस्तारसँगै उपचार सेवाको वास्तविक पहुँच बढाउनु पनि उत्तिकै आवश्यक थियो ।
आँखा उपचार सेवाको प्रभावलाई भवन र शय्याको सङ्ख्याले मात्र मापन गर्न सकिँदैन । बिरामीले सहज रूपमा उपचार पाउनु, आर्थिक अभावका कारण उपचार रोक्न नपर्नु र दुर्गम क्षेत्रका नागरिकसम्म सेवा पुग्नु नै संस्थागत विकासका महत्वपूर्ण सूचक हुन् ।
तथ्याङ्कमा देखिएको सेवाको विस्तार
नेपाल नेत्रज्योति सङ्घको विवरणअनुसार लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गतका संस्थाहरूले अस्पतालमा आधारित उपचार र समुदायस्तरीय कार्यक्रममार्फत आँखा तथा कान स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै आएका छन् ।
सन् २०२५ को तथ्याङ्कअनुसार यस प्रणालीअन्तर्गत १४ लाख ३१ हजार २८८ जना बिरामीलाई आँखा परीक्षण सेवा (ओपिडी) प्रदान गरिएको थियो । सोही वर्ष एक लाख ३२ हजार २१३ वटा शल्यक्रिया गरिएको थियो भने एक लाख ३३ हजार ३१६ जनाले चस्मा प्राप्त गरेका थिए ।
तथ्याङ्कअनुसार स्थापना कालदेखि सन् २०२५ सम्ममा यस प्रणालीअन्तर्गत एक करोड ६६ लाख ३१ हजार ९५० जनालाई आँखा परीक्षण सेवा प्रदान गरिएको र २४ लाख ९९ हजार ८९३ वटा शल्यक्रिया गरिएको छ । यी तथ्याङ्कले उपचार सेवाको विस्तार र बिरामीको ठूलो चापलाई सम्बोधन गर्न अस्पतालहरूले निर्वाह गरेको भूमिकालाई देखाउँछन् । यद्यपि, यस्ता उपलब्धिको वास्तविक महत्व सङ्ख्यामा मात्र होइन, उपचारका कारण मानिसले आफ्नो दृष्टि जोगाउन, दैनिक जीवनमा आत्मनिर्भर रहन र परिवार तथा समाजमा सक्रिय सहभागिता जनाउन पाउने अवसरमा पनि निहित छ ।
दृष्टि जोगाउने अभियानसँगै स्थानीय विकास
आँखाको उपचारले व्यक्तिको दृष्टि जोगाउने मात्र होइन, उसको आत्मनिर्भरता, परिवारको जीवनयापन र सामाजिक सहभागितामा पनि प्रभाव पार्छ । दृष्टिसम्बन्धी समस्याका कारण काम गर्न नसक्ने वा दैनिक गतिविधिमा अरूको सहयोग लिनुपर्ने अवस्थाबाट व्यक्तिलाई बाहिर निकाल्न समयमै उपलब्ध हुने उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगरमा आँखा अस्पतालको विकाससँगै उपचारका लागि भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता हटेको छ । अहिले यी अस्पतालमा नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारत र बङ्गलादेशबाट पनि बिरामी उपचारका लागि आउने गरेका छन् ।
अस्पतालमा बिरामी र उनीहरूका आफन्तको आवागमन बढेसँगै आसपासका क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि पनि विस्तार भएका छन् । होटल, भोजनालय, यातायात सेवा, औषधि पसल र अन्य स्थानीय व्यवसायले यसबाट अवसर पाएका छन् । बिरामी तथा आफन्तको आवागमनसँग जोडिएका आवश्यकताले स्थानीय बजारलाई समेत चलायमान बनाउन सहयोग गरेको छ ।
यस अर्थमा आँखा उपचार सेवाको विस्तार स्वास्थ्य क्षेत्रमा भएको उपलब्धि मात्र होइन, अस्पताल रहेको क्षेत्रको आर्थिक गतिविधि र स्थानीय विकाससँग पनि जोडिएको छ । स्वास्थ्य संस्था विकास हुँदा त्यससँग सम्बन्धित सेवा तथा व्यवसायमा अवसर सिर्जना हुन सक्छ भन्ने उदाहरण लहान र विराटनगरको विकासक्रमले प्रस्तुत गरेको छ ।
स्थानीय पहललाई दिगो बनाउने जिम्मेवारी
लहानमा १२ शय्याको उपचार केन्द्रबाट सुरु भएको यात्रा विराटनगरसम्म विस्तार हुनुमा स्थानीय समुदायको जग्गादान, अन्तरराष्ट्रिय सहयोग, नेपाल नेत्रज्योति सङ्घको संस्थागत पहल र स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको महत्वपूर्ण योगदान जोडिएको छ । यी सबै पक्षको सहकार्यले एउटा स्थानीय प्रयासलाई दीर्घकालीन संस्थागत स्वरूप दिन सम्भव बनायो । तर, विगतका उपलब्धिलाई सम्झनु मात्र पर्याप्त छैन । बढ्दो बिरामी चापअनुसार सेवाको गुणस्तर कायम राख्नु, दक्ष जनशक्ति व्यवस्थापन गर्नु, प्रविधिको विकाससँगै उपचार प्रणालीलाई अद्यावधिक बनाउनु र आर्थिक तथा भौगोलिक कारणले उपचारबाट वञ्चित हुने नागरिकसम्म सेवा पु¥याउनु आजका महत्वपूर्ण आवश्यकता हुन् ।
आँखा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने लक्ष्य तब मात्र सार्थक हुन्छ, जब कुनै पनि नागरिकले आर्थिक अभाव, लामो दूरी वा पर्याप्त जानकारीको कमीका कारण उपचारको अवसर गुमाउनु पर्दैन । लहानदेखि विराटनगरसम्मको यो यात्रा दुई अस्पतालको इतिहास मात्र होइन, यो स्थानीय प्रयासले कसरी संस्थागत रूप लिन सक्छ, सहकार्यले कसरी स्वास्थ्य सेवाको दायरा विस्तार गर्न सक्छ र उपचार सेवाले कसरी समुदायको जीवन तथा स्थानीय विकासमा योगदान पु¥याउन सक्छ भन्ने उदाहरण पनि हो । अब यस यात्राको निरन्तरता सेवाको पहुँच, गुणस्तर र समावेशितालाई अझ सुदृढ बनाउँदै प्रत्येक नागरिकको दृष्टि जोगाउने लक्ष्यतर्फ अघि बढ्नुमा निर्भर हुनेछ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |