
काठमाडौँ, ३० असोजः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ ।
विभागले बिहीबार एक सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थमात्र बिक्री वितरण गर्न आग्रह गरेको हो ।
विभागले उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थमात्र बिक्री गर्न, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थलाई सुरक्षित तापक्रममा भण्डारण गर्न निर्देशन दिएको छ ।
त्यस्तै, भान्सा, खाना वितरण गर्ने स्थान र परिसर सफा राख्न, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा सफा भाँडाकुँडा र स्वच्छ पानी प्रयोग गर्न पनि सूचित गरेको छ ।
सूचनाअनुसार खाद्य व्यवसायीले गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी खाना राम्ररी पकाएर मात्र उपभोक्तालाई उपलब्ध गराउनुपर्नेछ । बासी, सडेगलेका, झिँगा भन्केका, धुलो तथा फोहर पानी मिसिएका वा अस्वच्छ अवस्थामा तयार गरिएका खाद्य पदार्थ बिक्री गर्न पाइने छैन । साथै, खाद्य पदार्थको बिक्रीस्थलमा आवश्यकताअनुसार चिसो वा तातो तापक्रमको व्यवस्था मिलाउन र उचित मूल्यमा बिक्री गर्न पनि विभागले निर्देशन दिएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमका प्रावधान पालना गर्न सचेत गराउँदै निर्देशन उल्लङ्घन गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ ।
यसैगरी, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि विभागले आग्रह गरेको छ । चाडपर्वका समयमा खाद्य पदार्थको खपत र यात्रुहरूको आवतजावत बढ्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभागले व्यवसायीको ध्यानाकर्षण गराएको हो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |