
ख्वप (भक्तपुर), ३० अजोजः दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा घरमा खसीबोका काट्ने, आफन्तसँग बसेर मीठोमसिनो खाने र रमाइलो गर्ने दृश्य आउँछ । तर भक्तपुरको दसैँको रौनक अलि फरक छ । यहाँ दसैँको भोजमा खसीबोका भन्दा राँगाको मासुको विशेष महत्व छ । विभिन्न गुठी र समूहले सामूहिक रूपमा टोलटोलमा राँगो काट्ने र त्यसको मासु भाग लगाएर घरघरमा भित्र्याउने परम्परा यहाँ छ । यही परम्पराले चितवनका गुणबहादुर बिसुरुवाजस्ता धेरै व्यापारीको जीवन धानिरहेको छ ।
चितवनका गुणबहादुर बिसुरुवा २५ वर्षदेखि भक्तपुरमा दसैँका लागि राँगा बेच्दै आउनुभएको छ । वर्षौंदेखि यही व्यवसायबाट दसैँको आम्दानी जुटाउँदै आउनुभएका उहाँ यस वर्ष पनि ३० वटा राँगा लिएर भक्तपुर आउनुभएको छ । गुणबहादुरका लागि राँगा बेच्नु केवल दसैँको व्यापार मात्र होइन, वर्षौंदेखि जीविकोपार्जनको आधार पनि हो । उहाँजस्तै विभिन्न जिल्लाबाट राँगा लिएर भक्तपुर आउने व्यापारीका लागि दसैँको समय आम्दानी गर्ने महत्वपूर्ण अवसर हो ।
सडकछेउको पालमुनि बास
भक्तपुरको सन्दर्भमा दसैँ होस् या अन्य समय राँंगो बेच्ने ठाउँं हो महेश्वरीस्थान । तर पनि राँगा बेच्न आउने व्यापारीको बसाइँ यहाँं पनि सहज छैन । उनीहरू राँगा राखिएकै ठाउँमा सडकछेउ पाल टाँगेर बस्छन् । अस्थायी चुलो बनाएर खाना पकाउँछन् र राति पनि राँगाकै निगरानी गरेर सुत्छन् । राँगा फुत्केर भाग्न सक्ने भएकाले तिनलाई एक्लै छाड्न मिल्दैन । त्यसैले बिक्री नभएसम्म व्यापारीले पालमुनि नै दिनरात बिताउनुपर्छ ।
परिवारसँग दसैँ मनाउने समय नजिकिँदै गर्दा उनीहरूको दिनचर्या भने राँगाको हेरचाह र ग्राहकको प्रतीक्षामै बितिरहेको हुन्छ । कुनै राँगा बिक्री भयो भने व्यापारीको अनुहारमा खुसी छाउँछ । तर दिनभरि ग्राहक नआउँदा अर्को दिनको आशा बोकेर रात बिताउनुपर्ने बाध्यता छ उनीहरुको । दसैँको रौनक अरूका घरमा भित्रिँदै गर्दा उनीहरूका लागि दसैँ भने व्यापार र जीविकोपार्जनको हिसाबकिताब बनेको छ ।
के होला गुणबहादुरहरुको अबको दसैँ ?
सबैलाई थाहा छ समय सधैँ उस्तै कहाँ रहन्छ र ! कुनै समय दसैँ आउनु महिना दिन अघिदेखि नै राँगा किन्ने र बेच्नेको भीड लाग्ने भक्तपुरको महेश्वरीस्थानमा अहिले भने पहिलेको जस्तो चहलपहल छैन । दसैँका लागि राँगा बेच्न आएका व्यापारी ग्राहकको प्रतीक्षामा छन् । दसैँको परम्परासँगै आफ्नो जीविकोपार्जन जोडिएका उनीहरूका लागि यसपालिको दसैँ अपेक्षाभन्दा खल्लो बनेको छ । तर घटस्थापनाका दिन महेश्वरीस्थान आइपुग्नुभएका रामबहादुर जस्ता धेरैले दसैँ नजिकिँदै गर्दा पनि एउटा राँगासमेत बिक्री गर्न नसकेको बताइरहनुभएको छ ।
पहिला–पहिला राँगा किन्न एक महिना अघिदेखि नै ग्राहक आउँथे । अहिले एक हप्ताअघि मात्रै ल्याउँदा पनि ग्राहक पाउन मुस्किल छ, रामबहादुरले दुःखेसो पोख्नुभयो । तर राँगा किन्ने ग्राहक घट्दै जाँदा आफूहरूको वर्षभरिको आशा र मेहनतमा समेत असर पर्न थालेको उहाँंले दुःख विसाउनुभयो ।
परम्परा बदलिँदा गुणबहादुरहरुको भविष्य अन्धकार
भक्तपुरमा राँगाको व्यापार घट्नुका पछाडि उपभोगको बदलिँदो शैली, वर्षभरि मासु उपलब्ध हुने अवस्था, गुठीको घट्दो सहभागिता र बजार व्यवस्थापनमा देखिएका कठिनाइ प्रमुख कारणका रूपमा व्यापारी तथा स्थानीयले औँल्याएका छन् । पहिले दसैँको मासु वर्षभरिका लागि सुकुटी बनाएर राख्ने चलन थियो । अहिले आवश्यक पर्दा बजारबाट मासु किन्न सकिने भएकाले दसैँका लागि धेरै राँगा किन्ने आवश्यकता घटेको छ । अर्कोतर्फ, परम्परागत रूपमा सामूहिक भोज आयोजना गर्ने गुठीहरूको संख्या वा सक्रियता घट्दा राँगाको माग पनि प्रभावित भएको छ ।
यद्यपि भक्तपुरको राँगाको बजार केवल किनबेचको ठाउँ होइन । यो स्थानीय संस्कृति, सामूहिक भोज र पुस्तौँदेखि चलिआएको परम्परासँग जोडिएको बजार हो । यही बजारमा वर्षौँदेखि व्यापार गर्दै आएका गुणबहादुर बिसुरुवाजस्ता व्यापारीका लागि भने यो जीविकोपार्जनको आधार हो । उहाँको चिन्ता आफ्ना राँगा कहिले बिक्री हुन्छन् भन्नेमा मात्रै सीमित छैन; वर्षौँदेखि यही व्यवसायमा टिकेका व्यापारीको भविष्य पनि यससँग जोडिएको छ ।
दसैँमा अरूका घरमा मासु भित्रिन्छ, भोज पाक्छ र चाडपर्वको खुसी छाउँछ । तर त्यही खुसीका लागि राँगा बेच्न आएका व्यापारी भने सडकछेउको पालमुनि बसेर आफ्नो व्यापार चल्ने आशा गरिरहेका छन् । उनीहरूका लागि दसैँ कमाइको अवसर हो, परिवारको खर्च जुटाउने समय हो र वर्षौँदेखि अपनाउँदै आएको पेसालाई निरन्तरता दिने आधार पनि हो । भक्तपुरको राँगाको बजारमा घट्दो चहलपहलले एउटा प्रश्न उठाएको छ—परम्परा बदलिँदै जाँदा त्यसैमा निर्भर रहेका व्यापारीहरूको जीविका कसरी जोगिएला ?
परम्पराले धानेको व्यापार, घट्दै गएको बजार
भक्तपुरको महेश्वरीस्थानमा दसैँ सुरु हुनुभन्दा करिब एक साता अघिदेखि राँगाको बजार लाग्छ । चितवन, रामेछाप, वीरगञ्ज, सिन्धुपाल्चोक, गौशाला, भारत, कपिलवस्तु र नेपालगञ्जलगायतका ठाउँबाट व्यापारी राँगा लिएर यहाँ आउँछन् । यस वर्ष पनि आठदेखि १० वटा समूहमा व्यापारीहरू राँगा बेच्न आएका छन् ।
भक्तपुरका स्थानीय कृष्णप्रसाद बासीलाई पहिलेको राँगाको बजार अझै सम्झना छ । उहाँका अनुसार कुनै समय दसैँका लागि महेश्वरीस्थानमा तीन हजारभन्दा बढी राँगा बिक्री गर्न ल्याइन्थ्यो । अहिले भने त्यो सङ्ख्या घटेर करिब पाँच सयको हाराहारीमा सीमित भएको छ ।
पहिला एउटा गुठीले कम्तीमा एउटा राँगो काट्ने चलन थियो । कुनै–कुनै गुठीले दुईदेखि तीन वटासम्म काट्थे । अहिले धेरै गुठीले एउटा मात्रै काट्छन्, कतिपयले काट्नै छाडेका छन्, उहाँले भन्नुभयो । पहिले दसैँका लागि एकैपटक धेरै मासु किनेर सुकुटी बनाउने चलन थियो । दसैँमा काटिएको राँगाको मासु विभिन्न परिकार बनाएर खाने र बाँकी मासु सुकाएर राख्ने गरिन्थ्यो तर अहिले बजारमा वर्षभरि नै मासु उपलब्ध हुन थालेपछि दसैँका लागि एकैपटक धेरै मासु किनेर राख्ने चलन घट्दै गएको स्थानीयको भनाइ छ । यही परिवर्तनले राँगाको बजारमा प्रत्यक्ष असर पारेको छ ।
पहिले दसैँमा राँगा बेचेर राम्रो आम्दानी गर्ने व्यापारीहरू अहिले बिक्री नहुने चिन्तामा छन् । रामेछापका व्यापारी राजन तिमल्सिना पनि यस वर्ष २५ वटा राँगा लिएर भक्तपुर आउनुभएको छ । उहाँले ल्याएका राँगाको मूल्य ६० हजारदेखि दुई लाख रुपैयाँसम्म पर्छ । दसैँको समयमा राँगा बेचेर खर्च जुटाउने गरेको छु । तर यसपालि बजारमा खासै चहलपहल छैन, उहाँले भन्नुभयो ।
राँगा किन्ने ग्राहक घट्नुको असर व्यापारीको आम्दानीमा मात्रै सीमित छैन । बिक्रीका लागि ल्याइएका राँगा लामो समयसम्म राख्नुपर्दा तिनको हेरचाह, दाना र पानीको व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्छ । बिक्री हुने आशामा टाढाटाढाबाट राँगा ल्याएका व्यापारीका लागि ग्राहकको प्रतीक्षा आफैँमा खर्चिलो काम बनेको छ ।
राँगाको मासुमा भक्तपुरको दसैँको स्वाद
भक्तपुरको दसैँलाई राँगाको मासुका परिकार बिना पूर्ण मानिँदैन । यहाँका विभिन्न गुठी तथा समुदायमा सामूहिक भोज गर्ने परम्परा छ । भोजमा राँगाको मासुबाट तयार पारिने अनेक परिकारले विशेष स्थान पाउँछन् । स्थानीय संस्कृतिप्रेमीहरूका अनुसार छोयला, दायकला, ख्वायला, सलाख्वा, भुटन र सेकुवाजस्ता परिकार भक्तपुरको परम्परागत भोजका महत्वपूर्ण मासुका परिकार हुन् । पोलेर बनाइने छोयला, झोल भएको दायकला, पकाएर चिसो बनाइने ख्वायला, मासुको झोलबाट बनाइने पिरो सलाख्वा, भुटन र तेलमा तारेर बनाइने सेकुवाजस्ता परिकारले भोजको स्वाद बढाउँछन् ।
यी परिकार केवल खानाका विविधता मात्र होइनन्, भक्तपुरको सांस्कृतिक पहिचानसँग पनि जोडिएका छन् । दसैँमा गुठी तथा समूहले सामूहिक रूपमा राँगो काट्ने र मासु बाँडेर भोज गर्ने परम्पराले समुदायबीचको सम्बन्धलाई पनि निरन्तरता दिँदै आएको छ ।
राँगाको प्रयोग भोजमा मात्र सीमित छैन । विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा समेत यसको महत्व रहेको स्थानीयहरू बताउँछन् । यद्यपि भक्तपुरमा दसैँका अवसरमा सबै प्रकारका पशु काट्ने चलन एउटै छैन । महाअष्टमीका दिन सवारीसाधनको पूजा गर्दा खसी वा बोका बलि दिने परम्परा पनि यहाँ प्रचलित छ ।
महेश्वरीमै किन लाग्छ राँगाको बजार ?
वीरगञ्ज महानगरपालिका क्षेत्रको जितपुरबाट राँगा बेच्न आउनुभएका व्यापारी हली महोमदमियाका अनुसार महेश्वरीस्थानमा राँगा राख्ने परम्परा यहाँ पहिले खुला ठाउँ भएकाले सुरु भएको हो । फराकिलो क्षेत्र र नजिकै खोला भएकाले विभिन्न ठाउँबाट ल्याइएका राँगा यहाँ राख्न सहज थियो । तर अहिले अवस्था फेरिएको छ । वरिपरि बस्ती विस्तार भएको छ ।
खेलमैदान, सडक र अन्य संरचना बनेका छन् । नगरपालिकाले विभिन्न क्षेत्रमा पर्खाल लगाएकाले राँगा राख्न पर्याप्त ठाउँ पाउन कठिन भएको व्यापारीहरूको गुनासो छ । खोलाको किनारमा समेत पर्खाल बनेपछि राँगालाई पानी खुवाउन समस्या हुने गरेको उनीहरू बताउँछन् । पहिला सय–दुई सय राँगा ल्याएर बेच्थ्यौँ । अहिले ३० वटा पनि राख्ने र बाँड्ने ठाउँ पाउन गाह्रो छ, महोमदमियाले भन्नुभयो ।
उहाँका अनुसार पहिले महेश्वरीस्थानमा राँगा राखेबापत शुल्क तिर्नुपर्ने व्यवस्था थिएन । अहिले भने प्रत्येक राँगाको ५० रुपैयाँ तिर्नुपर्छ । शुल्क लिएपछि व्यापारीलाई आवश्यक सुविधा पनि उपलब्ध गराउनुपर्ने उहाँको माग छ । भक्तपुर नगरपालिकाका कर अधिकृत प्रभासकुमार चालिसेका अनुसार महेश्वरीस्थानमा बिक्रीका लागि ल्याइएका प्रत्येक राँगाबापत दैनिक ५० रुपैयाँ शुल्क लिने गरिएको छ । उहाँका अनुसार दुई वर्षअघि राँगा बोकेर ल्याइएको गाडीका आधारमा प्रतिगाडी ५०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अहिले भने प्रतिराँगोका आधारमा शुल्क लिइँदै आएको छ ।
व्यापारीहरू भने शुल्कसँगै राँगा राख्ने पर्याप्त ठाउँ, पानी र अन्य आधारभूत सुविधा पनि उपलब्ध हुनुपर्ने बताउँछन् । परम्परागत बजार सञ्चालन भइरहे पनि त्यस अनुसारको पूर्वाधार र व्यवस्थापन नहुँदा आफूहरूलाई समस्या परेको उनीहरूको गुनासो छ ।
भक्तपुरका स्थानीय दसबहादुर मानन्धरका अनुसार महेश्वरीस्थानमा घटस्थापनादेखि फूलपातीसम्म मुख्य रूपमा राँगाको बजार लाग्छ । फराकिलो ठाउँ र नजिकै खोला भएकाले विगतदेखि नै यहाँ राँगा राख्ने गरिएको उहाँ बताउनुहुन्छ । पहिले भेलुखेलमा पनि राँगा राख्ने चलन भए पनि अहिले ठाउँ अभावका कारण महेश्वरीस्थानमै बजार केन्द्रित भएको उहाँको भनाइ छ । स्थानीय परम्पराअनुसार फूलपातीको अघिल्लो दिनदेखि राँगा काट्ने क्रम सुरु हुन्छ । फूलपातीका दिन घरघरमा राँगाको मासु भित्र्याउने चलन छ । त्यसैले महेश्वरीस्थानको बजार दसैँको तयारीसँग प्रत्यक्ष जोडिएको छ ।
दसैँको भोजमा राँगाको मासुको स्वाद कायम रहोस् वा यसको उपभोगको शैली बदलियोस्, गुणबहादुरजस्ता व्यापारीको जीवन पनि यही परम्परासँग गाँसिएको छ । दसैँको रौनकले उनीहरूको चुलो पनि बल्न सकोस्, उनीहरूले ल्याएका राँगा पनि बिक्री होऊन् र वर्षौँदेखि यही बजारमा टिकेको जीविकोपार्जनको आधार पनि नटुटोस्, भक्तपुरको महेश्वरीस्थानमा ग्राहकको प्रतीक्षामा बसेका व्यापारीहरूको आशा यही हो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |