
बनेपा (काभ्रे), १७ असोज; नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
धुलिखेलमा आज आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहमा उहाँले प्रदेश सरकारको सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखी राजनीतिक तथा वैचारिक रूपमा थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।
“यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । उहाँले बदलिँदो राजनीतिक परिस्थितिअनुसार सङ्गठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सूचना प्रविधिको प्रयोगमार्फत पार्टीको विचार र सङ्गठन विस्तार गर्न सकिने उल्लेख गर्दै उहाँले उपलब्ध जनशक्ति, सङ्गठन र क्षमताको प्रभावकारी उपयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
सो अवसरमा उहाँले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले रोजगारी, मानवीय सोच र सिर्जनशीलतामा पार्नसक्ने प्रभावबारे पनि चर्चा गर्नुभयो । एआईमा अत्यधिक निर्भर हुँदा मानिसको अध्ययन तथा सोच्ने अभ्यास कमजोर हुनसक्ने र प्रविधिका कारण श्रमिक विस्थापित हुने अवस्था आउनसक्ने उहाँले भन्नुभयो ।
विश्वका विभिन्न मुलुकले एआईबाट उत्पन्न हुनसक्ने चुनौती सम्बोधन गर्न नीति तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उहाँले नेपालमा पनि प्रविधिको विकाससँगै त्यसका सामाजिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो । संयोजक दाहालले विद्यमान राजनीतिक परिस्थितिबाट निरास नभई अनुशासित र धैर्यतापूर्वक सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |