
कास्की, १ मङ्सिरः गत वर्ष ‘काव्यनगरी’ घोषणा गरिएको पोखरा महानगरपालिका–२५ हेम्जामा दोस्रो संस्करणको ‘हेम्जा साहित्य महोत्सव’ को आयोजना गरिएको छ ।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै हेम्जाको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले हेम्जा साहित्य प्रतिष्ठानको आयोजनामा यही मङ्सिर ५ र ६ गते दुईदिने साहित्य महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा कविता, आख्यान, गैरआख्यान, गजल, मुक्तक, लघुकथा, साहित्यिक विमर्श, काव्यवाचन तथा पुस्तकमाथि परिचर्चा लगायत कार्यक्रम समावेश गरिने प्रतिष्ठानका अध्यक्ष सुनील गायकले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
महोत्सवको पहिलो दिन मङ्सिर ५ गते उद्घाटनपछि ‘कविता : अनुभूति र अभिव्यक्ति’ शीर्षकमा साहित्यिक कार्यक्रम हुनेछ । त्यसैगरी ‘काव्यनगरी हेम्जा ः साहित्यिक पर्यटनको सम्भावना’, ‘सारङ्गीको सुसेली ः लोकसंस्कृतिको धुन’ र ‘भजनमा हेम्जा’ शीर्षकमा विमर्श गरिनेछ ।
दोस्रो दिन ‘मढीमा सिर्जना: काव्यनगरी दर्शन’ कार्यक्रमसँगै साहित्यिक विमर्श, कविता, मुक्तक, लघुकथा र गजल वाचनका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन सत्रमा कवि एवं भाषासेवी मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन ग्रन्थ अर्पण गरिनेछ । हेम्जामा जन्मिएर नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका उपाध्यायको योगदानको सम्मानस्वरूप अभिनन्दन ग्रन्थ अर्पण गर्न लागिएको अध्यक्ष गायकले बताउनुभयो ।
गत वर्ष सम्पन्न पहिलो संस्करणमा ४१ जिल्लाका स्रष्टाको सहभागिता रहेको थियो । यस वर्ष सातै प्रदेशका साहित्यकार तथा सिर्जनाकर्मीको सहभागिता रहने अपेक्षा गरिएको प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्यायले बताउनुभयो ।
महोत्सवमा अनुमानित पाँच हजार दर्शक सहभागी गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साहित्यिक गतिविधिसँगै हेम्जाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र पर्यटनको सम्भावनालाई महोत्सवसँग जोडिनेछ ।
यसअघि पहिलो साहित्य महोत्सवका अवसरमा हेम्जालाई ‘काव्यनगरी’ घोषणा गरिएको थियो । दोस्रो संस्करणले हेम्जाको साहित्यिक गरिमा, प्राकृतिक सौन्दर्य र सिर्जनात्मक सम्भावनालाई राष्ट्रियस्तरमा परिचित गराउन र थप स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
पोखरा–२५ का वडाध्यक्षसमेत रहनुभएका महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले साहित्यले सिञ्चित बनेको पोखरा र हेम्जालाई साहित्य महोत्सवले कला, सङ्गीतको संरक्षणमा सहयोग पुग्ने भएकाले कार्यक्रमलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
“साहित्य महोत्सव कुनै एउटा संस्था वा व्यक्तिको मात्र अभियान नभई हेम्जाको साहित्यिक पहिचान, सामाजिक गौरव र सांस्कृतिक समृद्धिसँग जोडिएको साझा अभियान हो । यहाँको माटोमा सिर्जनाका फूलहरु फूलुन्, साहित्यका स्वरहरु गुञ्जिउन् र काव्यनगरीको पहिचान देश विदेशसम्म फैलियोस् भन्ने सामूहिक सङ्कल्पसहित अगाडि बढ्नु आवश्यक छ”, वडाध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |