
अन्ताल्या (टर्किए), २ मङ्सिरः पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत अन्तरराष्ट्रिय रूपमा हस्तान्तरण हुने कार्बन न्यूनीकरण परिणामको अभिलेख तथा अनुगमन गर्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’को पहिलो संस्करण सार्वजनिक गरिएको छ ।
टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा आज उक्त रजिस्ट्री सार्वजनिक गरिएको हो । आफ्नै रजिस्ट्री नभएका वा त्यसमा पहुँच स्थापित गर्न नसकेका देशलाई लक्षित गरी तयार गरिएको यस प्रणालीले देशहरूबीच हस्तान्तरण हुने हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका परिणाम (आइटिएमओ) को अभिलेख राख्न र अनुगमन गर्न सहयोग गर्नेछ ।
यस प्रणालीमार्फत सहभागी देशले न्यूनीकरणसम्बन्धी गतिविधि अभिलेख गर्ने, न्यूनीकरण परिणाम जारी गर्ने, त्यसलाई सम्बन्धित सरकारी अनुमतिसँग जोड्ने तथा त्यस्ता परिणामको हस्तान्तरण, प्राप्ति, प्रयोग र खारेजीको विवरण राख्न सक्नेछन् ।
देशहरूले न्यूनीकरण परिणामलाई एकाइका रूपमा जारी गरी पहिलो अन्तरराष्ट्रिय हस्तान्तरण नहुँदासम्म सुरक्षित राख्न रजिस्ट्रीको थप सेवा पनि लिन सक्नेछन् । पहिलो पटक अन्तरराष्ट्रिय हस्तान्तरण भएपछि त्यस्ता परिणाम अन्तरराष्ट्रिय रूपमा हस्तान्तरण गरिएका न्यूनीकरण परिणाम (आइटिएमओ) का रूपमा अभिलेख हुनेछन् ।
पेरिस सम्झौताको सर्वोच्च निर्णय गर्ने निकाय (सिएमए) ले व्यवस्था गरेका यी सेवा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सचिवालयले विकास तथा सञ्चालन गरिरहेको छ ।
प्रारम्भिक चरणमा रजिस्ट्रीमा आबद्ध हुन अनुरोध गर्ने देशलाई चरणबद्ध रूपमा पहुँच उपलब्ध गराइनेछ । यसका लागि सन् २०२७ को सुरुआतमा कार्यशाला आयोजना गरी त्यसपछि तालिम र प्रणाली परीक्षण गरिनेछ । त्यसपछि मात्र देशहरूलाई वास्तविक प्रणालीमा पहुँच दिइने अपेक्षा गरिएको छ ।
आगामी संस्करणमा राष्ट्रिय रजिस्ट्री तथा पेरिस सम्झौताको ‘क्रेडिटिङ’ संयन्त्रअन्तर्गतको रजिस्ट्रीसँग तथ्याङ्क आदानप्रदान गर्न मिल्ने सुविधा र प्रतिवेदन प्रणालीसमेत थप गरिने जनाइएको छ ।
रजिस्ट्रीको ‘सफ्टवेयर’ विकास सन् २०२६ जनवरीमा सुरु भएको थियो । यसको प्रारम्भिक सञ्चालनयोग्य संस्करण सन् २०२६ मेमा देशहरूलाई प्रस्तुत गरिएको थियो ।
देशहरूले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी आफ्नो राष्ट्रिय सम्पर्क निकायमार्फत अन्तरराष्ट्रिय रजिस्ट्रीमा आबद्ध हुन र छुट्टै खण्ड खोल्न अनुरोध गर्न सक्नेछन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |