
गण्डकी, १४ मङ्सिरः नीति निर्माण तथा निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम–नेपाल) गण्डकी प्रदेश समितिद्वारा शनिबार र आइतबार पोखरामा आयोजित बाल सहभागितासम्बन्धी गण्डकी प्रदेशस्तरीय छलफल कार्यक्रममा बालबालिकासँग सरोकार राख्ने ऐन, कानुन, योजना तथा कार्यक्रम तर्जुमा गर्दा बालबालिकाका विचार, अनुभव र सुझावलाई समेट्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा सहभागी छात्रा सफलता परियारले बालबालिका भविष्यका कर्णधारमात्र नभएर आजका हिस्सेदार पनि भएको बताउनुभयो । उहाँले बालबालिकासम्बन्धी कानुनमा धेरै विषय समेटिए पनि तिनको कार्यान्वयन महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
परियारले हरेक बालबालिकासँग स्वतन्त्र रूपमा विचार व्यक्त गर्ने अधिकार सुरक्षित रहेको बताउनुभयो । गैरसरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष इन्दिरा पौडेलले बालबालिकाको हकहितको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सामाजिक विकास महाशाखाका प्रमुख दीपेन्द्र परियारले बालबालिकाको अधिकारको रक्षाका लागि बनेका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले बालबालिकाका हितका पक्षमा सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । “घर, समाजदेखि राज्यका निकायसम्म बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सूचना, प्रविधिको विकास सँगै बालबालिकालाई डिजिटल साक्षरताको खाँचो पनि बढेको छ ।”
कन्सोर्टियम–नेपालका अध्यक्ष प्रदीपकुमार लामिछानेले बालसहभागिता वृद्धि गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कन्सोर्टियम–नेपाल गण्डकी प्रदेश संयोजक ममिताकुमारी पुनले बालबालिका आज्ञाकारी पात्रमात्र नभई समाजका महत्त्वपूर्ण हिस्सेदार रहेको बताउनुभयो ।
पछिल्लो समय बालसहभागिका बढाउन नीतिगत र संरचनागत सुधारहरू भएको उहाँको भनाइ छ । “बालबालिकालाई हेर्ने परम्परागत सोच बदल्नुपर्छ, बालबालिकामा निर्णय क्षमता बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायमा स्रोतसाधनको उपलब्धता वृद्धि गर्नु आवश्यक छ ।”
कार्यक्रममा गण्डकी प्रदेशमा बाल सहभागिताको अवस्था, अभ्यास र चुनौतीबारे छलफल गरिएको थियो । कार्यक्रममा बालबालिकाको क्षेत्रवाद काम गर्ने गण्डकी प्रदेशका १३ वटा सदस्य संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
छलफलमा प्रदेशमा बाल सहभागिताको विद्यमान अवस्था, स्थानीय तह तथा प्रदेशस्तरमा भइरहेका असल अभ्यास, बालबालिकालाई नीति निर्माण तथा निर्णय प्रक्रियामा सहभागी गराउँदा देखिएका चुनौती र अवसरबारे अनुभव तथा सिकाइ आदानप्रदान गरिएको थियो ।
बालबालिकालाई उनीहरूसँग सम्बन्धित विषयमा विचार व्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको आवाजलाई नीति, योजना, कार्यक्रम तथा निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा समेट्न आवश्यक संस्थागत प्रयास र सहकार्यका विषयमा समेत छलफल गरिएको संयोजक पुनले बताउनुभयो ।
कार्यक्रमले सदस्य संस्थाहरूबीच आपसी समन्वय, सहकार्य र सिकाइलाई थप सुदृढ गर्दै गण्डकी प्रदेशमा बाल सहभागितालाई अर्थपूर्ण, समावेशी र प्रभावकारी बनाउन साझा समझदारी तथा आगामी कार्यदिशा निर्माणमा सहयोग पुर्याएको उहाँको भनाइ छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |