
कर्णाली, १३ मङ्सिरः दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्रिकेटतर्फ त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगस्थित कालुञ्चोक मैदानमा आज भएको खेलमा आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङको निम्तो दिएको आर्मीले सुदूरलाई ६९ रनमै रोक्न सफल भयो । जवाफी ब्याटिङ थालेको आर्मीले १० ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
सुदूरपश्चिमका लागि ऋतु कनौजियाले १९ र यशु पाण्डेले १२ रन बनाइन् । ओपनर अनु कडायतले सात, अनषिा बोहराले दुई, रविना बोहोराले चार र हिसिला खड्काले तीन रन बनाए । सुदूरपश्चिमका स्नेहा महरा, रविना साउद, ममता चन्द र सविना नेगी शून्यमै आउट भए । सुदूरपश्चिमले ६९ रन बनाउँदा २० रन अतिरिक्त प्राप्त गरेको थियो ।
सुदूरपश्चिमलाई सहजै समेट्ने क्रममा आर्मीकी लक्ष्मी साउदले महत्त्वपूर्ण चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले १७ रन खर्चिइन् । त्यसैगरी, आर्मीकी इश्वरी विष्टले तीन ओभर बलिङ गर्दै १६ रन खर्चिएर दुई विकेट हात पारिन् । मनिषा उपाध्यायले चार ओभर बलिङ गर्ने क्रममा दुई ओभर मेडन राख्दै छ रन खर्चिएर एक विकेट लिइन् । सङ्गीता गुरुङले पनि एक विकेट लिइन् ।
सत्तरी रनको लक्ष्य आर्मीले १० ओभरमा तीन विकेट गुमाएर भेट्टायो । आर्मीका लागि कविता कुँवरले अविजित २० रन र लक्ष्मी साउदले अविजित १८ रन बनाइन् । कविताले २० रन बनाउने क्रममा १७ बलको सामना गर्दै दुई छक्का प्रहार गरेकी थिइन् । लक्ष्मीले ११ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् ।
यस्तै सम्झना खड्काले १६, रुवि पोद्दारले १३ र विन्दु रावलले एक रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी अनु कडायतले एक विकेट लिइन् । सुदूरपश्चिमका महत्त्वपूर्ण चार विकेट र टोलीका लागि १८ रन बनाएकी आर्मीकी लक्ष्मी साउद प्लेयर अफ दी म्याच घोषित भइन् ।
एपिएफ पनि फाइनलमा
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला क्रिकेटतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगस्थित कालुञ्चोक मैदानमा आज भएको खेलमा एपिएफ क्लबले बागमती प्रदेशलाई ४१ रनले हराएको हो । टस जितेर पहिले व्याटिङ रोजेको एपिएफले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३६ रन बनायो । एपिएफका लागि रोमा थापाले अविजित ७१ रनको पारी खेलिन् । ६२ बलको सामना गरेकी उनले १० चौका प्रहार गरिन् । यस्तै, राजमती ऐरीले ४६ रन बनाइन् । ३९ बलको सामना गर्दै उनले छ चौका प्रहार गरिन् । रेवती धामीले १२ रन बनाउँदा कप्तान सीता रानामगरले चार रन बनाइन् ।
बलिङतर्फ बागमतीका लागि अस्मिना कर्माचार्यले दुई तथा पूजा साउद र संस्कृति फुयाँलले एक–एक विकेट लिइन् । एक सय ३७ रनको लक्ष्य पछ्याएको बागमती आठ विकेटको क्षतिमा ९५ रनमा समेटियो । बागमतीका लागि ओपनर हेलिसा गुरुङले लक्ष्मीमाया रुम्बा लामाले १८ रन बनाउँदा एली यादवले १० र सेविका यादवले पाँच रन बनाए ।
बलिङतर्फ एपिएफका सीताकुमारी राना र करुणा भण्डारीले दुई–दुई विकेट तथा राजमती ऐरी र सुमन विष्टले एक–एक विकेट लिए । ७१ रनको अविजित पारी खेलेकी एपिएफकी रोमा थापा प्लेयर अफ दी म्याच घोषित भइन् । विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लबबीच उपाधिका लागि खेल हुने छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |