
कपिलवस्तु, १२ मङ्सिरः यौन तथा प्रजनन स्वास्थ्य अधिकारको संरक्षण तथा परिवार योजनाक सेवाको पहुँच विस्तार गर्न तीनै तहका सरकार, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको आयोजनामा आयोजित यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी कार्यक्रममा वक्ताले परिवार योजना सेवाको प्रभावकारिता बढाउन समुदायस्तरमा सचेतना, गुणस्तरीय स्वास्थ्य सेवा र सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनले परिवारयोजना तथा प्रजनन स्वास्थ्यका विषय सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थासँग जोडिएको बताउनुभयो । महिलाले आफ्नो प्रजनन अधिकारबारे खुलेर बोल्न पाउने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै उहाँले समुदायस्तरमा स्वास्थ्य अधिकारबारे जागरण आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले स्वास्थ्य क्षेत्रमा तथ्याङ्क, सेवा उपलब्धता र प्रभावकारी कार्यान्वयनबीच तालमेल आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य सेवा र साधन उपलब्ध गराउने प्रयास भइरहे पनि समुदायमा दिगो सचेतना फैलाउन तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका नेत्रलाल अर्यालले परिवार योजना सेवाले मातृ तथा शिशु स्वास्थ्य सुधार, अनिच्छित गर्भ रोकथाम र जन्मान्तर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जन्मान्तर कम हुँदा बालबालिकामा कुपोषणको जोखिम बढ्न सक्ने उल्लेख गर्दै उहाँले परिवार योजना सेवा जीवन रक्षासँग जोडिएको बताउनुभयो ।
परिवार योजना सेवा लिनु दम्पतीको अधिकार भएको उल्लेख गर्दै उहाँले अपूरो आवश्यकता भएका नागरिकलाई उनीहरूको चाहनाअनुसार सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । सेवा गुणस्तर सुधार, सार्वजनिक–निजी साझेदारी र विभिन्न सङ्घसंस्थाबीच समन्वय गरी सेवाको पहुँच विस्तार गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा शोभाकान्त न्यौपानेले नियमित स्वास्थ्य सेवा केन्द्रमार्फत परिवार योजना सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । किशोर किशोरी मैत्री स्वास्थ्य सेवाको विकास तथा विस्तारमा साझेदार संस्थाको सहयोग र सहकार्य महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सञ्चारमाध्यमले समाचार सम्प्रेषण सँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने बताउनुभयो । समुदायमा संवेदनशील विषयलाई सही सूचना र जिम्मेवार ढङ्गले उठाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।
नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका सभापति मायाकुमारी पोखरेलले आर्थिक अवस्था कमजोर भएका तथा सामाजिक संकोचका कारण प्रजनन स्वास्थ्यबारे खुलेर बोल्न नसक्ने महिला अझै समस्यामा रहेको बताउनुभयो । अनिच्छित गर्भधारण र त्यसले महिलाको स्वास्थ्यमा पार्ने असरबारे समुदायस्तरमा सचेतना आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवार बाटै सोच र व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रस्तुत प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा आधुनिक परिवार नियोजनका साधनका नयाँ प्रयोगकर्ता छ प्रतिशत, प्रसूतिपछिको परिवार नियोजन सेवा प्रयोग ११ प्रतिशत, आधुनिक छोटो अवधिका गर्भनिरोधक साधन प्रयोग ७७ प्रतिशत र लामो अवधिका साधन प्रयोग २३ प्रतिशत रहेको छ । परिवार नियोजनको कुल प्रचलन दर २६ प्रतिशत तथा अपूरो आवश्यकता र अनिच्छित गर्भसम्बन्धी सूचक २३ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा प्रदेशमा २१ हजार ४२७ गर्भपतन भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो । १५ देखि ४९ वर्ष उमेर समूहका विवाहित महिलामध्ये करिब चार जनामा एक जनालाई परिवार नियोजनको अपूरो आवश्यकता रहेको जनाइएको छ ।
नेपाल परिवार नियोजन सङ्घले लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, पाल्पा र नवलपरासी (पश्चिम) जिल्लामा शाखामार्फत यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने अन्य जिल्लामा परियोजनामार्फत सेवा विस्तार गरिरहेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको विषय प्रवेशबाट सुरु भएको कार्यक्रममा प्रदेशसभा सामाजिक विकास समितिका सदस्य, लैङ्गिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, स्वास्थ्यकर्मी, सरकारी निकायका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता थियो । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन सङ्घ दाङका शाखा प्रबन्धक वसन्त खनाल र स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत मञ्जरी श्रेष्ठले गर्नुभएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |