
सप्तरी, ५ मङ्सिरः राजविराज नगरपालिका–७ स्थित गजेन्द्र चोकको पूर्वपट्टि रहेको यो ठाउँ मजदुर बजारका रूपमा परिचित छ । यहाँ बिहानको उज्यालोसँगै कोही साइकलमा, कोही सिटी सफारीमा त कोही पैदलै खाजाको झोला बोकेर यहाँ आइपुग्छन् । उनीहरूको साझा उद्देश्य हुन्छ– दिनभरको मजदुरी पाउनु ।
बेरोजगारी र जीविकोपार्जनको समस्याले गर्दा विभिन्न उमेर समूहका मजदुर दैनिक यहाँ आएर काम दिने साहु तथा ठेकेदारको प्रतीक्षामा बस्न बाध्य छन् । जिल्लाका विभिन्न पालिकाबाट आएका मजदुर काम पाउने आशमा यहाँ भेला हुन्छन् । तर, दिनभर पर्खंदा पनि काम पाउने टुङ्गो हुँदैन ।
रूपनी गाउँपालिका–कटैयाका रामप्रसाद यादव परिवारको छाक टार्न मजदुरी खोज्दै दैनिक यहाँ आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार काममा लैजाने ठेकेदारले मजदुरको शारीरिक अवस्था र काम गर्ने क्षमताका आधारमा छनोट गर्ने भएकाले फुर्तिला र काम गर्न सक्ने देखिनेले छिटो काम पाउने गरेका छन् ।
“दिनहुँ काम पाइयो भने आठ घण्टा श्रम गरेर रु आठ सयसम्म कमाइ हुन्छ । तर, काम नपाएको दिन परिवारको छाक टार्नै समस्या हुन्छ,” उहाँले भन्नुभयो । काम पाउने आशामा घण्टौँ प्रतीक्षा गर्नुपर्ने र काम नपाए रित्तै घर फर्कनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
विष्णुपुर गाउँपालिका–६ का बद्री सदाका अनुसार घर निर्माणमा काम गर्ने मिस्त्रीले दैनिक रु एक हजार २०० सम्म ज्याला लिने गरे पनि मजदुरले भने कामको प्रकृति र आफ्नो क्षमताअनुसार रु ६०० देखि एक हजारसम्म पाउने गरेका छन् । राम्रो काम गर्दा पनि उचित ज्याला नपाएको अनुभवसमेत रहेको उहाँले बताउनुभयो ।
मजदुर खोज्न गजेन्द्र चोक पुग्ने ठेकेदार परमानन्द साहले यहाँबाट कामदार छनोट गरेर लैजाने गरेको बताउनुभयो । काम राम्रो गर्ने र नियमित आउने मजदुरलाई काम आवश्यक पर्दा फेरि बोलाउने गरिएको उहाँको भनाइ छ ।
“राम्रो काम गर्ने मजदुरलाई काम रहुन्जेल नियमित बोलाउँछौँ । काममा नआउने वा नियमितता कायम नगर्नेलाई भने अर्को पटक बोलाउन कठिन हुन्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार दक्षता र कामको प्रकृतिअनुसार मजदुरले दैनिक रु सात सयदेखि एक हजारसम्म ज्याला पाउने गरेका छन् । जिल्लामा हजारौँ मजदुर रहे पनि तोकिएको ज्यालादर व्यवहारमा कार्यान्वयन हुन नसकेको नेपाल ट्रेड युनियन मधेस प्रदेशका अध्यक्ष केदार देवले बताउनुभयो । मजदुरका लागि व्यवस्थित स्थान नहुँदा कामको खोजीमा उनीहरू दैनिक चोकमा आएर उभिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
“करिब पाँच दशकदेखि यस ठाउँमा मजदुर कामको खोजीमा आउने गरेका छन् । तर, उनीहरूका लागि आवश्यक आधारभूत सुविधा उपलब्ध गराउन सम्बन्धित निकायको ध्यान पुगेको छैन,” उहाँले भन्नुभयो । कामको प्रतीक्षामा बस्ने मजदुरका लागि बस्ने ठाउँलगायत सामान्य सुविधा उपलब्ध गराउन सके पनि ठूलो राहत हुने उहाँले बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |