
नारायणगढ (चितवन), ५ मङ्सिरः बदलिँदो सामाजिक, आर्थिक तथा राजनीतिक परिस्थितिअनुसार कम्युनिष्ट आन्दोलनको विचार, कार्यदिशा, सङ्गठन र कार्यशैली रूपान्तरण गर्नुपर्नेमा जोड दिइएको छ ।
माक्र्सवादी ज्ञान केन्द्रले आफ्नो छैटौँ वार्षिक साधारणसभाका अवसरमा आज भरतपुरमा आयोजना गरेको ‘कम्युनिष्ट आन्दोलन रूपान्तरणको मार्गचित्र’ विषयक अन्तरक्रियामा सहभागी वक्ताले आन्दोलनलाई समयअनुकूल बनाउनुपर्ने धारणा राख्नुभएको हो ।
पूर्वमन्त्री एवं नेकपाका सङ्गठन विभाग प्रमुख वर्षमान पुनले विश्व पुँजीवाद, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) ले ल्याएको परिवर्तनलाई आत्मसात् गर्दै कम्युनिष्ट आन्दोलनले नयाँ रणनीति बनाउनुपर्ने बताउनुभयो । उहाँले जनताका दैनिक समस्या सम्बोधन गर्दै उनीहरूसँग जोडिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले माक्र्सवादको मूल मर्म समाज परिवर्तन र रूपान्तरण भएकाले बदलिँदो समाजअनुसार विचार र विश्लेषणलाई विकसित गर्नुपर्ने बताउनुभयो । एआईलगायत नयाँ प्रविधिले समाजलाई थप जटिल बनाउँदै लगेकाले वर्गीय विश्लेषणमा समेत नयाँ दृष्टिकोण आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष मनहरी तिमिल्सिनाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमाथि रमाकान्त सापकोटा, करुणा पराजुली र वसन्त श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । महासचिव दृश्यान्त भट्टराईले साङ्गठनिक तथा कोषाध्यक्ष त्रिविक्रम ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा केन्द्रद्वारा प्रकाशित ‘एआई : वर्तमान र भविष्य’ पुस्तक लोकार्पण गरिएको थियो । विसं २०७७ मा कोरोना महामारीका समयमा स्थापना भएको केन्द्रले विभिन्न समयमा विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ । केन्द्रले भोलि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको उपमहासचिव सागर अधिकारीले जानकारी दिनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |