
वीरगन्ज (पर्सा), ३ मङ्सिरः उद्योगी, व्यवसायी तथा बैंकिङ क्षेत्रका विज्ञहरूले नेपाल र भारतबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल युवा उद्यमी मञ्च वीरगन्ज च्याप्टरले बिहीबार आयोजना गरेको ‘भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६’ मा सहभागी वक्ताहरूले द्विपक्षीय व्यापारका समस्या आपसी समन्वय र सहकार्यबाट समाधान गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा भारतका लागि वीरगन्जस्थित महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल र भारतबीचको द्विपक्षीय व्यापार निरन्तर बढिरहेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताउनुभयो । आर्थिक सहकार्यलाई प्रभावकारी बनाउन यस्ता संवाद र छलफललाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले सीमावर्ती क्षेत्रको व्यवस्थापन व्यवस्थित बनाई व्यापारिक आवागमन सहज बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले नेपाली निर्यातमा असर पारिरहेका गैरभन्सार अवरोध, सीमापार अवैध आवागमन तथा अनौपचारिक व्यापारिक गतिविधि नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
नेपाल औषधि उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष प्रभात रुङ्गटाले भारतबाट चिनी निर्यातमा लगाइने प्रतिबन्धजस्ता नीतिगत निर्णयले नेपालको औषधि उद्योगमा गम्भीर असर पार्न सक्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले नेपाल–भारत व्यापारिक सम्बन्ध सुदृढ बनाउन सम्पर्क सञ्जाल, उत्पादकत्व र आपसी विश्वास महत्त्वपूर्ण आधार रहेको बताउनुभयो ।
‘द्विपक्षीय सहकार्यलाई तीव्रता दिँदै साझा समृद्धितर्फ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा उद्योग, बैंकिङ, ढुवानी तथा आतिथ्य सत्कार क्षेत्रका प्रतिनिधिले सीमापार व्यापार र व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या, चुनौती तथा सम्भावनाबारे धारणा राखेका थिए ।
सहभागीहरूले व्यापारिक प्रक्रियालाई सहज, पारदर्शी र प्रभावकारी बनाउन डिजिटल प्रणालीको विकास तथा व्यापारिक प्रक्रियाको डिजिटलीकरणमा जोड दिएका थिए ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |