
मुस्ताङ, ४ मङ्सिर: मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन । निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि अलपत्र परेको छ ।
गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत निर्माण भइरहेको उक्त पुल थासाङ गाउँपालिकाका वडा नं २, ३ र ५ जोड्ने गरी निर्माण गर्न लागिएको हो । पुलले बेनी–जोमसोम सडकसँगै कालीगण्डकी नदीपारिका धप्पु, सिर्खुम, सौरु, टिटी, कुञ्जो र ताक्लुङलगायत गाउँलाई ग्रामीण सडक सञ्जालसँग जोड्नेछ ।
पुल निर्माणका लागि विसं २०७६ फागुन २९ गते देव एण्ड सायर कन्स्ट्रक्सनसँग रु पाँच करोड पाँच लाखमा ठेक्का सम्झौता भएको थियो । हालसम्म पाँचपटक म्याद थप गरिए पनि निर्माण सम्पन्न हुनसकेको छैन ।
पूर्वाधार विकास कार्यालयका प्रमुख रविन चोख्यालका अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२० (क) को उपनियम ३ बमोजिम पुल निर्माणको पछिल्लो म्याद चालु आर्थिक वर्षको असार मसान्तसम्म कायम गरिएको छ । पुलको हालसम्म ७७ प्रतिशत भौतिक र ७४ प्रतिशत वित्तीय प्रगति भएको उहाँले जानकारी दिनुभयो ।
कालीगण्डकी नदीमाथि निर्माणाधीन पुलको लम्बाइ ३५ मिटर र फुटपाथसहित चौडाइ आठ दशमलव चार मिटर छ । ठेक्का पाएको निर्माण कम्पनीले सहायक निर्माण कम्पनी (पेटी ठेकेदार) मार्फत काम गराउँदै आएको छ । निर्माण कम्पनीलाई पटकपटक काम अघि बढाउन ताकेता गरिए पनि सहायक ठेकेदारका प्रतिनिधिको बेवास्ता र ढिलासुस्तीका कारण निर्माण रोकिएको प्रमुख चोख्यालले बताउनुभयो ।
उहाँका अनुसार पुल निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवालालाई सहभागी गराएर निर्माण सम्पन्न गर्ने प्रतिबद्धता सुनिश्चित गर्न बैठकको तयारी भइरहेको छ ।
पुलका दुवैतर्फका एबुटमेन्टको क्याप लेभलसम्मको काम सम्पन्न भएको छ । अब स्ल्याब ढलान, एप्रोज सडक, पुलसँग सम्बन्धित अन्य संरचनात्मक काम, फिनिसिङ तथा सहायक काम पूरा गरी पुल सञ्चालनयोग्य बनाएर हस्तान्तरण गर्न बाँकी रहेको कार्यालय प्रमुख चोख्यालले जानकारी दिनुभयो ।
कालीगण्डकी नदीपारिका गाउँलाई जोड्नेगरी सङ्घीय सरकारअन्तर्गत डिभिजन सडक कार्यालय बागलुङमार्फत कालोपत्र सडक निर्माण भने सम्पन्न भइसकेको छ ।
स्थानीय नवीन शेरचनले पुल निर्माणमा भइरहेको ढिलाइ दुर्भाग्यपूर्ण भएको बताउनुभयो । निर्माण कम्पनीले तदारुकता देखाएको भए चार वर्षअघि नै पुल निर्माण सम्पन्न भइसक्ने उहाँको भनाइ छ ।
पुल निर्माण सम्पन्न भएमा थासाङ गाउँपालिकाका तीन वडाका बासिन्दालाई मुख्य राजमार्गसम्म आवतजावत गर्न सहज हुनुका साथै कृषि उपजको बजारीकरण, विकास निर्माण र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |