
काठमाडौँ, १ मङ्सिर ः सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधिसभाअन्तर्गत फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष बियाट्रिस पिरोनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सभामुख अर्यालको सचिवालयका अनुसार सो भेटका क्रममा सभामुख अर्यालले नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्दै फ्रान्ससँगको सम्बन्धलाई नेपालले उच्च महत्व प्रदान गर्ने बताउनुभयो । उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।
सभामुख अर्यालले नेपालको सङ्घीय संसद्मा डिजिटल संसद्को अभ्यास सुरु गरिएको जानकारी गराउँदै सूचना प्रविधि, नवीन विधायिकी अभ्यास र संसदीय अनुभव आदानप्रदानमा फ्रान्ससँग सहकार्य गर्न सकिने बताउनुभयो । साथै, दुई देशबीचको संसदीय सम्बन्ध सुदृढ गर्न आठ सदस्यीय नेपाल–फ्रान्स संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिनुभयो ।
बाढीपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले व्यक्त गर्नुभएको समवेदना, फ्रान्सेली नागरिकको खोजी तथा उद्धारमा उपलब्ध गराइएको कन्सुलर सहयोग र युरोपेली सङ्घमार्फत प्रदान गरिएको पाँच टन मानवीय सहायताप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
अध्यक्ष पिरोनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने, संसदीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका क्षेत्रमा सहयोगका सम्भावना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |