
गण्डकी, ३० कात्तिक: अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु र पक्षीको अवैध चोरीसिकार हुने गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले बर्सेनि ठूलो सङ्ख्यामा त्यस्ता पासो नियन्त्रणमा लिई हटाउने गरे पनि वन्यजन्तुको चोरीसिकार रोकिएको छैन ।
आयोजना कार्यालयको आँकडा अनुसार गत आव २०८२/८३ मा मात्र संरक्षण क्षेत्रभित्रबाट ३४३ पासो हटाइएको थियो । आव २०८१/८२ मा १७३ र आव २०८०/८१ मा ९८ पासो हटाइएको थियो ।
सबैभन्दा बढी दसैँतिहारका बेला र चैत–वैशाखको याममा पासो थाप्ने प्रवृत्ति बढी देखिने गरेको आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो । “चोरीसिकारका नियन्त्रणका लागि वनगस्ती गर्दा पासो धेरै भेटिने गरेको छ”, उहाँले भन्नुभयो, “कस्तुरीमृग, हिमाली कालो भालु, डाँफे, मुनाल आदि सिकारका लागि पासो थाप्ने गरेको पाइएको छ ।”
कतिपय वन्यजन्तुलाई पासोमा परेर मरेको अवस्थामा उद्धार गर्ने गरिएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । वन्यजन्तुको चोरीसिकार नियन्त्रणका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि र संरक्षण गतिविधि सञ्चालन गर्दै आए पनि चोरीसिकार नियन्त्रणमा चुनौती कायमै रहेको उहाँको भनाइ छ ।
कस्तुरीमृगको वीणा, भालुको पित्त र चितुवाको छालाका लागि सिकार गर्न मानिसहरू लालायित हुने गरेको उहाँको भनाइ छ । वन्यजन्तुको सिकार भएका घटना भेटिने गरे पनि पछिल्लो समय यहाँबाट अन्यत्र वन्यजन्तुको तस्करी भने गरेको नपाइएको उहाँले बताउनुभयो ।
कतिपय ठाउँमा बालीनाली जोगाउन र वन्यजन्तुको मासु उपभोगका लागि पनि सिकार गर्ने चलन रहेको छ । चोरीसिकारले दुर्लभ वन्यजन्तुको अस्तित्वसमेत सङ्कटमा पर्ने जोखिम रहेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । “वन्यजन्तुको चोरीसिकार नियन्त्रणका लागि वनगस्ती बढाउने, सिसी क्यामेरा जडान, ड्रोनबाट निगरानी गर्ने जस्ता क्रियाकलापलाई बढाइएको छ”, उहाँले भन्नुभयो, “स्थानीयवासी र समुदाय स्वयं पनि संरक्षण अभियानमा संवेदनशील र जिम्मेवार भएर लाग्नुपर्छ ।”
उहाँका अनुसार गत वर्ष कस्तुरीमृग, घोरल, निरबिरालोसहित चार वन्यजन्तुको अवैध सिकार गरिएको थियो । त्यस्तै आव २०८१/८२ मा नौ र २०८०/८१ मा १२ वन्यजन्तुको चोरीसिकार गरिएको थियो । चोरीसिकारबाहेक छाडा कुकुरको आक्रामण, सवारीसाधनको ठक्करलगायत कारणले पनि यस क्षेत्रमा वन्यजन्तु मर्ने गरेका छन् । छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ ।
छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको प्रयास भएपनि वन्यजन्तुमाथि छाडा कुकुरको आक्रमण नरोकिएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । उहाँका अनुसार छाडा कुकुरको आक्रमणबाट पछिल्ला तीन आवमा १२ वटा वन्यजन्तु मरेका थिए । छाडा कुकुर नियन्त्रणका लागि आयोजना कार्यालयले बर्सेनि कुकुरको बन्ध्याकरण गर्दै आएको छ ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ । यस क्षेत्र हिउँचितुवा, कस्तुरीमृग, नाउर, हिमाली थारजस्ता जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ । यहाँ विभिन्न प्रकारका स्तनधारी वन्यजन्तु, दुर्लभ पक्षी तथा सरिसृपहरू पाइन्छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |