Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
हेटौँडा

भीमफेदी दुर्घटनाः गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने सबै तयारी पूरा गरिसक्नुभएको थियो । बुधबार साँझ नै कपडा र छठ पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहिबार (२ घण्टा अघि)
भीमफेदी दुर्घटनाः गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

हेटौँडा, २६ कात्तिकः अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने सबै तयारी पूरा गरिसक्नुभएको थियो । बुधबार साँझ नै कपडा र छठ पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए । श्रीमती, छोराछोरी र दुई भाइसँगै गाउँ पुग्ने योजनाअनुसार उहाँ राति करिब १ः०० बजे उठ्नुभयो । श्रीमती पुनमदेवी यादवलाई पनि उठाउनुभयो । त्यसपछि अवधेश छोराछोरीलाई तयार पारेर परिवारका सबै सदस्य ललितपुरको टीकाथली चोक पुग्नुभयो ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका छिमेकी र आफन्त मिलेर विद्युतीय माइक्रोबस रिजर्भ गरेका थिए । सबैको उद्देश्य एउटै थियो, घर पुगेर परिवारसँग छठ मनाउने । अवधेशका परिवारबाट मात्रै आठ जना यात्राका लागि निस्किएका थिए ।

तर गाडीमा चढ्ने बेला अवधेशका लागि ठाउँ पुगेन । बालबालिकासहित यात्रुले गाडी भरिएको थियो । केहीबेरको अन्योलपछि अवधेशले श्रीमती, छोराछोरी र दुई भाइलाई पठाएर आफू पछि जाने निर्णय गर्नुभयो । एक दिन थप फलफूलको व्यापार गरेर घर फर्किने सोचसहित उहाँ कोठामा फर्किनुभयो । बिहान उठ्दा भने अवधेशले परिवार चढेको गाडी दुर्घटनामा परेको खबर पाउनुभयो । छठ मनाउन घर पठाएका अवधेशका श्रीमती, तीन छोरी र दुई भाइको ज्यान गएको थियो ।

बिहीबार साँझ हेटौँडा अस्पताल परिसरमा भेटिनुभएका अवधेशले गाडीमा ठाउँ नपुगेपछि परिवारका सदस्यलाई पठाएर आफू पछि आउने निर्णय गरेको सुनाउनुभयो । छठ मनाउन परिवारसँगै घर जाने योजना बनाएका उहाँका लागि त्यही बिदाइ अन्तिम बन्न पुग्यो ।

अवधेशकी ३५ वर्षीया श्रीमती पुनमदेवी यादव, १० वर्षीया छोरी अनुकुमारी, सात वर्षीया दीक्षा, पाँच वर्षीया दीपिका तथा दुई भाइ २६ वर्षीय विकेश र २४ वर्षीय सुवोध यादवको उक्त दुर्घटनामा मृत्यु भएको हो । विकेश काठमाडौँमा सिभिल इन्जिनियरिङ अध्ययन गर्दै हुनुहुन्थ्यो भने सुवोध फलफूल व्यापारमा संलग्न हुनुहुन्थ्यो । परिवारका १४ महिनाका बालक सुदीप यादव भने दुर्घटनामा घाइते हुनुभएको छ ।

त्यही गाडीमा सवार ३३ वर्षीय मुकेश यादव पनि छठ मनाउन सर्लाही फर्किँदै हुनुहुन्थ्यो । उहाँका अनुसार बुधबार मध्यरातपछि करिब २ बजे टीकाथलीबाट यात्रा सुरु भएको थियो । गाडीमा अधिकांश यात्रु एउटै गाउँका छिमेकी र आफन्त थिए । उहाँले चालकलाई पहिलेदेखि नै चिन्नुहुन्थ्यो र यसअघि पनि सोही गाडीमा यात्रा गरिसक्नुभएको थियो ।

तर बिहीबार बिहान करिब ५ः४५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा उनीहरू चढेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस सडकबाट भिरमा खस्यो ।

दुर्घटना हुँदा मुकेश निदाइरहनुभएको थियो । गाडी कसरी सडकबाट तल खस्यो भन्ने उहाँलाई थाहा भएन । गाडीसँगै भिरमा पुगेपछि मात्रै दुर्घटनाबारे थाहा पाउनुभयो । आफूहरूमध्ये अधिकांश यात्रु निदाइरहेको उहाँले अस्पतालमा उपचारका क्रममा बताउनुभयो ।

दुर्घटनामा मुकेशको ज्यान जोगियो । तर उहाँसँगै घर फर्किँदै गरेका धेरै छिमेकी र आफन्त गन्तव्यमा पुग्न पाएनन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

आज बिहान ५ः५५ बजे दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको थप जनशक्ति परिचालन गरियो । तर दुर्घटनास्थलसम्म पुगेर घाइते र मृतकको उद्धार गर्न सहज थिएन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबहादुर खत्री बिहानदेखि घटनास्थलमा खटिनुभएको थियो । दिनभरको उद्धारपछि फर्किनुभएका उहाँले रासससँगको कुराकानीमा दिनभर भोग्नुपरेका कठिनाइ सुनाउनुभयो ।

“आज दिन बितेको पत्तै भएन आज”, उहाँले भन्नुभयो ।

प्रहरी उपरीक्षक खत्रीका अनुसार दुर्घटनास्थल अत्यन्त ठाडो भिरमा थियो । मानिस सहज रूपमा हिँड्ने बाटो थिएन । घाँसका बुट्यान र रूखका हाँगा समातेर तलमाथि गर्नुपर्ने अवस्था थियो । माथिबाट ढुङ्गा खस्ने जोखिम उत्तिकै थियो । उद्धारका लागि लगिएको डोरीको लम्बाइसमेत अपुग भएपछि काम थप कठिन बनेको थियो ।

“मान्छे हिँड्ने बाटै छैन । घाँसको बुटा र रूखका हाँगा समातेर माथि आउनुपर्ने अवस्था थियो”, प्रहरी उपरीक्षक खत्रीले सुनाउनुभयो । मृतकका शव निकाल्न डोको प्रयोग गर्ने प्रयाससमेत गरिएको थियो । तर ठाडो भिरमा डोको बोकेर पाँच मिटर पनि अघि बढ्न नसकिएको उहाँले बताउनुभयो । बोक्ने व्यक्ति नै लड्ने जोखिम भएपछि उक्त प्रयास छाड्नुपरेको थियो । उद्धारमा खटिएका सुरक्षाकर्मीका लागि आफ्नै ज्यान जोगाएर काम गर्नु चुनौतीपूर्ण बनेको थियो ।

भिरमा एकअर्कालाई देख्न र आवाज सुन्नसमेत कठिन थियो । सञ्चार सम्पर्क सहज नहुँदा टोलीबीच समन्वयमा समस्या परेको प्रहरी उपरीक्षक खत्रीले सुनाउनुभयो । मोबाइल फोन उठाउन पनि हातले बुट्यान समात्न छाड्नुपर्ने र त्यसले चिप्लिने जोखिम बढाउने अवस्था थियो ।

प्रहरी उपरीक्षक खत्री बिहानदेखि उद्धार कार्यमा व्यस्त हुनुहुन्थ्यो । दिउँसो करिब ३ः०० बजेमात्रै चाउचाउ खान पाएको उहाँले सुनाउनुभयो । घटनास्थलमा पानीसमेत सहज रूपमा खान सकिने अवस्था थिएन । दुर्घटनापछि यात्रुको सङ्ख्या एकिन गर्न पनि समय लाग्यो । प्रहरी उपरीक्षक खत्रीका अनुसार गाडीमा चालकसहित २० जना सवार थिए । तीमध्ये छ जना काखमा बोकेर यात्रा गराइएका बालबालिका थिए ।

गाडी भिरमा खस्दा यात्रुहरू फरक–फरक स्थानमा पुगेका थिए । कतिपय गाडी नजिकै भेटिए भने कतिपयलाई निकै टाढासम्म खोज्नुपरेको थियो । सुरुमा फेला परेका यात्रुको सङ्ख्या नमिलेपछि थप सुरक्षाकर्मी परिचालन गरेर खोजतलास गरिएको थियो । त्यही खोजतलासका क्रममा १४ महिनाका सुदीप जीवित भेटिनुभयो । प्रहरी उपरीक्षक खत्रीका अनुसार बालक दुर्घटनास्थलको एक छेउमा फेला परेका थिए । अन्य यात्रु छुटेका छन् कि भनेर खोज्दा बालक जीवित भेटिएको उहाँले बताउनुभयो ।

अवधेशका परिवारका अन्य छ सदस्यको मृत्यु हुँदा सुदीप भने जीवित भेटिनुभएको हो । उहाँलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा घाइते भएका छ जनामध्ये मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् । तीन वर्षीय सुजन यादव र सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण भने खुलिसकेको छैन । प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार गाडी अघिल्लो साँझ सर्लाहीबाट काठमाडौँ आएको र राति पुनः यात्रु लिएर फर्किएको प्रारम्भिक जानकारी छ । चालकले पर्याप्त विश्राम नपाएको हुसक्ने विषयमा समेत अनुसन्धान भइरहेको छ ।

प्रहरी उपरीक्षक खत्रीका अनुसार गाडी चिसापानीगढी नजिकको घुम्तीबाट सडक छाडेर तल खसेको पाइएको छ । दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो एक वर्षमा तीनवटा ठूला दुर्घटना भएको बताउनुभयो । जोखिमपूर्ण घुम्तीमा आवश्यक सुरक्षा संरचना, ट्राफिक सङ्केत र घुम्तीमा राखिने ऐनालगायत सामग्रीको अभाव रहेको उल्लेख गर्दै उहाँले सडक सुधारका लागि बागमती प्रदेश सरकारसँग छलफल गरेको जानकारी दिनुभयो ।

चालकको पर्याप्त विश्राम, सवारीसाधनको निगरानी र सडक सुरक्षामा प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ छ । छठ मनाउन परिवारसँग घर फर्किने तयारीमा रहनुभएका अवधेश गाडीमा ठाउँ नपाउँदा काठमाडौँमै रोकिनुभयो । उहाँले बिदाइ गरेका श्रीमती, तीन छोरी र दुई भाइ भने घर पुग्न पाएनन् । दुर्घटनास्थलमा जीवित भेटिएका १४ महिनाका सुदीपको उपचार भइरहेको छ ।

अर्कातर्फ, दुर्घटनाबाट जोगिनुभएका मुकेशका लागि पनि त्यो यात्रा जीवनभर सम्झनामा रहनेछ । छठ मनाउन सँगै घर फर्किएका छिमेकी र आफन्तमध्ये धेरैको यात्रा भीमफेदीमै टुङ्गियो । दुर्घटनाको वास्तविक कारण अनुसन्धानबाट खुल्नेछ । तर पटक–पटक ठूला दुर्घटना भइरहने सडकमा आवश्यक सुरक्षा संरचना, चालकको विश्राम र सवारी व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने आवश्यकता यस घटनाले फेरि उजागर गरेको छ ।

  • काठमाडौँ
  • नेपाल प्रहरी
  • मकवानपुर
  • ललितपुर
  • सर्लाही
  • हेटौँडा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    साठी हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

  • Post Thumbnail

    संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

  • Post Thumbnail

    दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास

  • Post Thumbnail

    पीडितपरिवारको अभिभावकत्व ग्रहण गर्न सरकारको ध्यानाकर्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

    आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

    Post Thumbnail

    कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

    Post Thumbnail

    विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो दुई लाख

    Post Thumbnail

    साठी हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution