
झापा, २६ कात्तिकः मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४ वटा जङ्गली हात्तीले आश्रय लिएपछि नेपालतर्फको गाउँमा त्रास फैलिएको छ । हात्तीले आश्रय लिएको दशगजा क्षेत्रको पूर्वतर्फको भारतीय भूभागमा सिसौ र टिकको विरुवा हुर्किएको झाडी छ । नेपालतर्फ सतिघट्टा, मेचीबस्ती, गैरीगाउँलगायतको बाक्लो मानव बस्ती छ ।
आज बिहानैदेखि दशगजा नजिकको झाडीमा साना बच्चासहितको हात्तीको बथान देखिएको प्रत्यक्षदर्शी जीआर धितालले बताउनुभयो । उहाँले भन्नुभयो, “ती हात्ती दिनभर त्यहीँ बसेका छन् । यता गाउँ कुनै पनि बेला पस्लान् भन्ने डर भइसक्यो ।”
नेपालतर्फको बस्तीमा हात्ती प्रवेश नगरुन् भनेर सशस्त्र प्रहरी बल २ नं गणअन्तर्गतको विभिन्न बीओपी र डिभिजन वन कार्यालय झापाबाट खटिएका सुरक्षाकर्मीले सीमामा सुरक्षा तैनाथी बढाएको डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख रामभगत यादवले बताउनुभयो ।
भारततिरबाट आएका हात्तीलाई सीमामा रोकिए पनि राति उक्त बथान गाउँ पस्ला भनेर स्थानीयवासीमा त्रास फैलिएको छ । हात्तीले आश्रय लिएको झाडी पूर्वको भारतीय बस्तीमा रहेका १८ परिवारका सदस्यले बिहानैदेखि घर छाडेका छन् । ज्यान जोगाउन घर छाडेका भारतीय बस्तीका बासिन्दामध्ये कोही नेपालतिरका घरमा आश्रय लिएर बसिरहेका छन् भने कोही नेपालको घुमाउरो बाटो भएर भारततिरै गएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले मेचीनगर–४ को प्रसाद गौडाबाट नेपालतर्फ प्रवेश गर्न लागेको हात्तीको बथानलाई रोक्न बुधबारदेखि नै सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको थियो । मेचीनगर–४ को बाहुनडाँगी सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न नपाएको हात्तीको बथान त्यहाँबाट बाटो बदलेर लगभग पाँच किलोमिटर दक्षिण मेची पुलमुनिबाट मेचीनगर–७ मा स्थानान्तरण भएको छ ।
भारतीय भूभागबाट हात्ती नेपाल प्रवेश गरेर स्थानीयवासीको घर भत्काउने र पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन सुरक्षा सतर्कता उच्च पारिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । हात्तीको प्रवेशलाई पूर्णरूपमा रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, ¥यापिड रेस्पोन्स टिमलगायत विभिन्न संघसंस्था र स्थानीय किसानहरू सक्रिय भएका छन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |